चिनियाँ पर्यटकलाई चेतावनी
सारांश
- काठमाडाै, १० असार ।
- प्रधानमन्त्री केपी शर्माओलीको राजकीय भ्रमणअवधिमा नेपाल र चीनबीच सन् २०२० को नेपाल भ्रमण वर्षमा पर्यटकीय सहयोग गर्नेबारे संयुक्त वक्तव्य जारी भैरहेका बेला चीनकै छोङछिङ नगरपालिकाले नेपाल जाने अाफ्ना नागरिकका लागि ‘ट्राभल एड्भाइजरी नाेटिस’ जारी गरेको छ।
- अघिल्लो वर्ष ठूलो जनधनको क्षति हुने गरी गएको भीषण बाढी पहिराे स्मरण गर्दै उसले अग्रिम रूपमा आफ्ना नागरिकलाई सचेत गराएको हो।
काठमाडाै, १० असार । प्रधानमन्त्री केपी शर्माओलीको राजकीय भ्रमणअवधिमा नेपाल र चीनबीच सन् २०२० को नेपाल भ्रमण वर्षमा पर्यटकीय सहयोग गर्नेबारे संयुक्त वक्तव्य जारी भैरहेका बेला चीनकै छोङछिङ नगरपालिकाले नेपाल जाने अाफ्ना नागरिकका लागि ‘ट्राभल एड्भाइजरी नाेटिस’ जारी गरेको छ।
अघिल्लो वर्ष ठूलो जनधनको क्षति हुने गरी गएको भीषण बाढी पहिराे स्मरण गर्दै उसले अग्रिम रूपमा आफ्ना नागरिकलाई सचेत गराएको हो। नेपालको जल तथा मौसम विज्ञान विभागले विगतमा दिने गरेको तथ्यांकअनुसार अगष्टदेखि नेपालमा मनसुन सुरू भएर सेप्टेम्बरको अन्त्यसम्म चल्ने गर्दछ।
नेपालमा वर्षा ऋतु चढ्दै जाँदा पर्यटकीय संरचना कमजोर हुने तथा सुरक्षाको भरपर्दो प्रणाली नहुने भएकाले व्यक्तिगत रूपमै अवधानी अपनाउनुपर्ने आशय चेतावनीमा देखिन्छ। ‘वर्षायाममा नेपालका पूर्वाधार संरचनामा ध्यान दिन र व्यक्तिगत सुरक्षा तथा आफ्नो मालसामानको सुरक्षामा लापर्वाही नगर्नू’, सूचनामा भनिएकाे छ।
छोङछिङ नगरपालिका, सार्वजनिक सुरक्षा ब्यूरो, आगमन तथा बहिर्गमन प्रशासनले छोङछिङका नागरिक तथा नेपालस्थित चिनियाँ संस्थाहरूलाई पूर्व चेतावनी जारी गरेको हो। सावधानी अपनाउन गरिएको सूचना अनुसार वर्षा ऋतुमा नेपाल भ्रमण गर्दा सुरक्षा सतर्कता बढाउन, भरपर्दो रोकथामका उपाय अबलम्वन गर्न, स्थानीय मौसमस्थितिमा ध्यान पुर्याउन, यातायात सुरक्षामा केन्द्रित हुन, गहिरा क्षेत्रतर्फ नजान र आफूखुशी नदीहरूमा पौडिन नजान सुझाव दिइएको छ।
साथै कायाकिङ, र्याफ्टिङ जस्ता पर्यटकीय कार्यक्रममा भाग लिँदा होश पुर्याउन, कुनै समस्या आइपरेको खण्डमा नेपालको सुरक्षा निकाय वा नेपालस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्न सुझाइएको छ।
गत वर्षको अगष्टमा पर्यटकीय क्षेत्र चितवन लगायतका स्थानमा एक सयभन्दा बढी चिनियाँ पर्यटक बाढी र डुबानको चपेटामा परेका थिए। पटक पटकको वर्षाका कारण पर्यटकीय क्षेत्रमा पनि गम्भीर भौगोलिक विपत्ति निम्तिनुका साथै केही हताहती पनि हुन पुगेको थियो। यसै अवस्थालाई ध्यानमा राखी छोङछिङ नगरपालिकाले नेपालका विभिन्न स्थानमा भीषण वर्षाको संभावना हुने यस अवधिमा बाढी, पहिरो र यातायात पनि अवरूद्ध भएर भौगोलिक विपत्ति पर्नसक्ने भएकाले व्यक्तिगत तथा संरचनागत सुरक्षा चुनौतीप्रति अधिक सतर्क रहन निर्देशिका जारी गरेको हो।
चीनको दक्षिणपश्चिममा पर्ने छोङछिङ नगरपालिका तीव्र गतिले पर्यटकीय संस्कृति विकसित हुँदै गएको नगरपालिका हो। केन्द्र शासित चीनका चार नगरपालिका बेइजिङ, शाङहाई, थ्यानचिन र छोङछिङ हुन्। छोङछिङमा तीन करोड भन्दा बढी नागरिक बस्दछन्। चाँडै नै छोङछिङ काठमाडौं सिधा हवाइ उडानको तयारी पनि भइरहेको छ।
प्रतिक्रिया