प्रधानमन्त्री देउवाले किन ७ नम्बर प्रदेशमा मात्र शक्ति खर्चिए ?
सारांश
- काठमाडौं, असार १३ – दोस्रो चरणको स्थानीय चुनावमा दलका शीर्ष र प्रभावशाली नेतालाई धेरै जिल्लाबाट पार्टीका तल्ला निकायबाट चुनावी सभामा सम्बोधन गरिदिन धेरै निम्तो आयो ।
- सबै जसो दलका नेताहरुले बोलाएको ठाउँमा सकेसम्म गएर आफ्ना पार्टीका उम्मेदवारको पक्षमा भोट मागे ।
- भर्खरै प्रधानमन्त्री हुनु भएका र नेपाली कांग्रेसका सभापति समेत रहनुभएका शेरबहादुर देउवालाई पनि दोस्रो चरणमा चुनाव हुने ३५ वटै जिल्लाबाट आइदिन धेरै आग्रह पार्टीका तल्लो निकायबाट आए ।
काठमाडौं, असार १३ – दोस्रो चरणको स्थानीय चुनावमा दलका शीर्ष र प्रभावशाली नेतालाई धेरै जिल्लाबाट पार्टीका तल्ला निकायबाट चुनावी सभामा सम्बोधन गरिदिन धेरै निम्तो आयो । सबै जसो दलका नेताहरुले बोलाएको ठाउँमा सकेसम्म गएर आफ्ना पार्टीका उम्मेदवारको पक्षमा भोट मागे ।
भर्खरै प्रधानमन्त्री हुनु भएका र नेपाली कांग्रेसका सभापति समेत रहनुभएका शेरबहादुर देउवालाई पनि दोस्रो चरणमा चुनाव हुने ३५ वटै जिल्लाबाट आइदिन धेरै आग्रह पार्टीका तल्लो निकायबाट आए । तर प्रधानमन्त्री देउवाले आफ्ना पार्टीका उम्मेदवारको पक्षमा भोट माग्न अरु दलका शीर्ष नेताको जति दौडधुप गर्नुभएन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पुग्नुभयो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त एकै दिन फरक फरक जिल्लामा ६ वटासम्म ठूला सभालाई सम्बोधन गर्नुभयो । अरु दलका शीर्ष नेताको ध्यान देशैभर भइरहँदा प्रधानमन्त्री समेत रहनुभका देउवाको दौडधुप भने आफ्नो गृहजिल्ला रहेको सात नम्बर प्रदेशमा मात्र सीमित रह्यो । असार ९ गते कैलाली पुग्नुभएका देउवा भोट खसालेर एक्कैपटक असार १५ गते काठमाडौं फर्किदै हुनुहुन्छ । उहाँले बुधबार डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोला असिग्राम मतदान केन्द्रमा भोट खसाल्नु हुनेछ । ९ गते कैलालीको धनगढीमा सम्बोधन गरेर सात नम्बर प्रदेशमा चुनावी अभियान थाल्नुभएका देउवाले कञ्चनपुरको महेन्द्रनगर, डडेलधुराको अमरगढी, जोगबुढा, डोटीको धनगढी, गुडरलगातका ठाउँमा भएका ठूला चुनावी सभालाई सम्बोधन गर्नुभयो । औपचारिकसँगै देउवाले स्थानीय चुनावी परिणामा पार्टीको पक्षमा पार्न धेरै अनौपचारिक भेटघाट र छलफलमा समय खर्च गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोमबारदेखि मौन अवधि सुरु भएपछि अहिले देउवा डडेलधुराको सदमुकाम अमरगढीको एक होटलमा बसिरहनुभएको छ । त्यहाँ पनि देउवाले अनऔपचारिक रुपमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरिरहनुभएको छ ।
प्रतिक्रिया