चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित

सारांश

  • काठमाडौं।
  • तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै छन्।
  • चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ।

काठमाडौं।तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै छन्। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ।

सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौंमा रहनेछन्।

राजनीतिक संक्रमणकाल टुङ्ग्याएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो।

सीको नेपाल भ्रमण उपर्युक्त समयमा हुने चीनले जवाफ पठाए पनि त्यसको औपचारिक मिति भने अझै तय नभएको तर वाङको अहिलेको भ्रमणले यसबारेमा वातावरण बनाउन सक्ने ज्ञवालीको भनाइ छ।

चिनियाँ राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

वाङ भ्रमण वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने पहिलो उच्चस्तरीय औपचारिक भ्रमण हो। पाकिस्तानको इस्लामावादमा आयोजना हुने चीन, पाकिस्तान, अफगानिस्तान आबद्ध त्रिपक्षीय बैठकमा सहभागी भएपश्चात् वाङ काठमाडौं आउने बताइएको छ।

चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहनुभएका वाङ यसअघि सन् २०१४मा नेपाल भ्रमणमा आउनुभएको थियो। यसपटकको उहाँको भ्रमणका क्रममा दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने औपचारिक वार्ता भोलि सोमबार हुनेछ।

हिमालय सिमापार रेल सेवा, चीनको विकाससँग नेपाललाई जोड्न सकिने विकल्प र त्यसबाट नेपालले बढीभन्दा बढी लाभ लिन सक्ने सम्भावनासहित द्विपक्षीय हित र अन्तर्राष्ट्रिय चासोका बारेमा छलफल हुनेछ।
चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई)मा पारवहन सम्झौता, चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन विभिन्न परियोजनाबारेमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गर्नुभएको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भइसकेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई) सम्मेलनमा सहभागी हुन भण्डारी चीन पुगेका बेला चिनियाँ समकक्षी सीको उपस्थितिमा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो।

सो सम्झौताअनुसार नेपालले चीन हुँदै समुद्री मार्गसम्मको पहुँच र सो मुलुकका समुद्री र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने छ। पारवहनका लागि चीनसँग जोडिएका केरुङ, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग गर्न सक्ने सहमति भए पनि उत्तरी नाका जोड्ने सडक सञ्जाल व्यवस्थित भइसकेको छैन।

भूकम्पपश्चात् लामो समय अवरुद्ध रहेको तातोपानी–कोदारीमार्ग चिनियाँ सहयोगमा सुचारु भए पनि अझै पूर्णरूपमा सञ्चालनमा आउनसकेको छैन। बीआरआईमा नेपालले दुई वर्षअघि हस्ताक्षर गरिसकेको छ। रेल, सडक उर्जा, कनेक्टीभिटीजस्ता विभिन्न नौ परियोजनामा चिनियाँ सहयोग रहने भनिए पनि हस्ताक्षर भइसकेको दुई वर्षको अवधिमा नेपालका तर्फबाट स्पष्ट अवधारणा दिन नसकेको भनेर कूटनीतिक वृत्तमा आलोचना हुँदै आएको छ।

उत्तरी नाका जोड्ने सडक सञ्जाल व्यवस्थित गर्न नेपालले चिनियाँ सहयोग अपेक्षा गरिरहेको अवस्थामा वाङको यो भ्रमणमा यसबारेमा पनि छलफल हुने परराष्ट्रका अधिकारी बताउँछन्।

भ्रमणका क्रममा वाङले मन्त्री ज्ञवालीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?