नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !

सारांश

  • नवलपरासी, ३ भदौ ।
  • पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ ।
  • भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गरे।

नवलपरासी, ३ भदौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गरे। सङ्घीय संरचना अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सुनवल देशकै पहिलो बालमैत्री नगर ( स्थानीय तह ) बन्न सफल भएको हो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेश भन्दा ५ नं प्रदेश समृद्धि र विकासका क्षेत्रमा बलियो प्रदेश बन्ने बताए । यस प्रदेशको चौतर्फी विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै उनले भौतिक पूर्वाधार, पर्यटन, आर्थिकलगायत सबै क्षेत्रका विकासका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ भने । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशलाई समृद्धि र विकास तर्फ उन्मुख बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।

बालमैत्री स्थानीय शासनको अवधारणा अन्तर्गत बालबालिका क्षेत्रका विविध काम गरी देशमै पहिलो बालमैत्री नगर बन्न सफल भएको सो नगरपालिकाका प्रमुख भीमबहादुर थापा(भरत)ले जानकारी दिए। बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका ४२ विविध सूचककोमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार सफलता हासिल गरेको छ । साविक सुनवल नगरपालिका यसअघि नै ०७२ जेष्ठ ३२ गते देशको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको थियो । सङ्घीय संरचनाअनुसार थप तीन वडाले आवश्यक सबै सूचक र लक्ष्य पूरा गरिसकेको छ । सेवा प्रवाह सम्बन्धी २७ र संस्थागत तर्फ १२ र अन्य तीन गरी कूल ४२ सूचकमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार उपलब्धि हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

पछिल्लो पटक बालमैत्रीको क्षेत्रमा नेपालमा प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै गएको बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले जानकारी दिए। नगरपालिकामा कूल ६८ हजार ८२ जनसङ्ख्यामध्ये २८ हजार २६० बालबालिका छन् । नगरपालिकामा १६० बाल क्लब छन् । त्यस्तै १३ वडास्तरीय बाल क्लब र एक नगरस्तरीय बाल क्लब सञ्जाल छन् । पश्चिम नवलपरासी जिल्लामा सात स्थानीय तह छन् । अब नगरलाई महिला र वातावरण मैत्री बनाउने लक्ष्य लिइएको नगरपालिकाको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?