छोरीका प्रेमीको हत्या गर्ने बाबुआमा पक्राउ
सारांश
- वीरगन्ज : छोरीका प्रेमीको हत्या गरी डेढ वर्षदेखि फरार रहेका बाबुआमा र हजुरबुबासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
- बाराको साविकको गाविस भोडाहा ४ की प्रियंका साहलाई भेट्न उनका प्रेमी रौतहटको साविकको गाविस सन्तपुर दोस्तीया ७ का २५ वर्षीय पुण्यदेव यादव प्रियंकाको घरमा आएका बेला २०७२ साल फागुन ४ गते प्रियंकाका अभिभावकले पुण्य देवको हत्या गरेका थिए।
- हत्या लगत्तै घर छाडेर फरार भएका प्रियंकाका बुबा ४६ वर्षीय कृष्णप्रसाद साह, आमा ४५ वर्षीया रामपतिया देवी, दाजुहरु २१ वर्षीय राजेशप्रसाद साह र १९ वर्षीय प्रमोद साह तेली तथा हजुरबुबा ६४ वर्षीय मिश्रीलाल साह तेलीलाई पर्सा प्रहरीले वीरगन्जको सीमावर्ती भारतीय गाउँमा लुकीछिपी बसेको अवस्थामा एकैस्थानबाट बुधबार राति पक्राउ गरेको हो।
वीरगन्ज : छोरीका प्रेमीको हत्या गरी डेढ वर्षदेखि फरार रहेका बाबुआमा र हजुरबुबासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। बाराको साविकको गाविस भोडाहा ४ की प्रियंका साहलाई भेट्न उनका प्रेमी रौतहटको साविकको गाविस सन्तपुर दोस्तीया ७ का २५ वर्षीय पुण्यदेव यादव प्रियंकाको घरमा आएका बेला २०७२ साल फागुन ४ गते प्रियंकाका अभिभावकले पुण्य देवको हत्या गरेका थिए।
हत्या लगत्तै घर छाडेर फरार भएका प्रियंकाका बुबा ४६ वर्षीय कृष्णप्रसाद साह, आमा ४५ वर्षीया रामपतिया देवी, दाजुहरु २१ वर्षीय राजेशप्रसाद साह र १९ वर्षीय प्रमोद साह तेली तथा हजुरबुबा ६४ वर्षीय मिश्रीलाल साह तेलीलाई पर्सा प्रहरीले वीरगन्जको सीमावर्ती भारतीय गाउँमा लुकीछिपी बसेको अवस्थामा एकैस्थानबाट बुधबार राति पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनालाई सार्वजनिक गरे लगत्तै आवश्यक कार्वाहीका लागि बिहीबार नै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
रौतहटको साविकको गाविस सन्तपुर दोस्तीया गाविस ७ का २५ वर्षीय पुण्यदेव बाराको भोडहामा रहेकी आफ्नी प्रेमिका प्रियंकालाई भेट्न २०७२ साल फागुन ४ गते नै घरबाट हिँडेका थिए।
घरबाट हिँडेकै दिनदेखि घरपरिवार र आफन्तको सम्पर्कबाट बाहिर रहेका पुण्यदेवको शव बाराको मनहर्वा मझौलियामा अवस्थित टेङग्रहर खोलाको पश्चिम तर्फको बाँसघारीमा गाडिएको अवस्थामा फागुन १२ गते भेटिएको थियो। बाँसघारीमा टाउको तथा दाहिने हात नभएको अवस्थामा पुण्यदेवको शव बरामद भएको थियो।
प्रहरीका अनुसार रौतहटका पुण्यदेव र बारा भोडहाकी प्रियंकाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। २०७२ सालकै दशैं ताका घर छाडेर भागेका दुवै जनालाई अभिभावकको उजुरीका आधारमा काठमाडौंको कमलपोखरी स्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयले पक्राउ गरेको थियो ।
त्यस बेला प्रहरीले युवतीलाई बुवा र युवकलाई दाजुको जिम्मा लगाएर घर पठाएको थियो।
प्रतिक्रिया