जंगली हात्तीको उपद्रोले गाउँले पीडित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
जंगली हात्तीको उपद्रोले गाउँले पीडित

सारांश

  • श्रावण १३, २०७४- जंगली हात्तीको उपद्रोले उपमहानगर ६ पानबारीवासी त्रसित बनेका छन्।
  • चारकोसे जंगलसँगै जोडिएको पानबारी क्षेत्र सुनसरीकै हात्तीबाट अति प्रभावित क्षेत्र हो।
  • रातको समयमा घर भत्काउनुका साथै अन्नबाली खान थालेपछि सर्वसाधारण आतंकित बनेका हुन्।

श्रावण १३, २०७४- जंगली हात्तीको उपद्रोले उपमहानगर ६ पानबारीवासी त्रसित बनेका छन्। चारकोसे जंगलसँगै जोडिएको पानबारी क्षेत्र सुनसरीकै हात्तीबाट अति प्रभावित क्षेत्र हो। रातको समयमा घर भत्काउनुका साथै अन्नबाली खान थालेपछि सर्वसाधारण आतंकित बनेका हुन्।

चारकोसे जंगलबाट आएका हात्तीको हुलले चार दिनयता तीनवटा घर भत्काइदिएको र अन्नपात छरपस्ट पारिदिएको छ। आधा दर्जनभन्दा बढी हात्तीले मानवीय क्षति नपुर्‍याए पनि खेतबारीमा भर्खर लगाएको बाली नाश गरिदिएको पीडितले बताए।
पानबारी घोपाली टोलका अमृत विकको पक्की घर बिहीबार बिहान मात्र भत्काइदिएको छ। ‘बिहान ३ बजेतिर नजिकैको जंगलबाट आएको हात्तीको हुलले मेरो पक्की घर भत्कायो,’ विकले भने, ‘त्यतिबेला हामी सुतिरहेका थियौं। हात्तीले घर भत्काएपछि सबै ज्यान बचाउन भागाभाग गर्‍यौं।’ साउदीबाट छोराले पठाएको रकमले एकतले पक्की घर बनाएको वर्ष दिन नबित्दै हात्तीले भत्काउँदा अब कसरी बनाउने भन्ने चिन्ताले सताएको उनले बताए।
विकका छिमेकी धु्रव कटवालको घर पनि भत्काइदिनुका साथै अन्नपात छरपस्ट पारिदिएको छ। तीन दिनअघि भत्काएको घर पुन: मर्मत गर्दै गरेको अवस्थामा शुक्रबार राति पुन: आएर भत्काएपछि कटवाल परिवार बिचल्लीमा परेको छ। ‘तीन दिनअघि मात्र हात्तीले भत्काएको घर मर्मतसम्भार गर्दै थिएँ,’ उनले भने, ‘त्यसमाथि झन् भत्काएपछि बिजोगै भयो।’ त्यसैगरी दुई दिनअघि मात्रै चारपाटे आहाले सुकुम्बासी बस्तीमा एक पक्की घर भत्काएको स्थानीय कृष्ण लिम्बूले बताए। स्थानीय विनोद विकका अनुसार रातको समयमा हात्ती आएर दु:ख दिने भएकाले रातभर होहल्ला गर्दै पुल्ठो र धुनी बालेर जाग्राम बस्ने गरेका छन्। उनले भने, ‘पानबारीवासी राति निदाउन सक्दैनन्। हात्तीले खेतमा लगाएको मकै, उखु, केरालगायत नष्ट गरिदिएको छ।’
हात्ती आतंक बढेपछि स्थानीय र प्रहरी टोलीले संयुक्त रूपमा रात्रि गस्ती सुरु गरेका छन्। तर प्रहरीले सुरक्षाका लागि जनशक्ति अभाव भएको जनाएको छ। हात्ती भगाउन अहिलेसम्म कुनै नयाँ उपाय निकालिएको छैन।
पानबारीमा दुई दशकयता मात्रै जंगली हात्तीको आक्रमणबाट १२ जनाले ज्यान गुमाइसकेको वडा सदस्य हरि राईले बताए। उनका अनुसार नेपालको पूर्वी क्षेत्र झापाको बाहुनडाँगीबाट भारतीय हात्ती चारकोसे झाडी हुँदै पानबारीसम्म आएर उपद्रो मच्चाउने गर्छ।
राईले भने, ‘हिउँदको बेलाभन्दा बर्खामा भारतबाट आहारा खोज्दै आउने हात्तीको हूलले प्रत्येक वर्ष दु:ख दिने गरेको छ।’ यसैबीच जंगली हात्ती पीडितहरूले जनधनको सुरक्षा गरिदिन सरकारसँग माग गरेका छन्।इकान्तिपुर बाट साभार ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?