ट्रम्पले दिए यी देशलाई कडा चेतावनी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा ‘गैरजिम्मेवार ढङ्गले’ कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन् ।
  • ट्वीट गर्दै उनले त्यस्तो हमलाबाट हजारौँ मानिस मारिन सक्ने बताएका छन् ।
  • सिरियाली सरकारी फौजले इड्लिबमा ठूलो हमलाको तयारी गरिरहेका विवरणमाझ ट्रम्पको चेतावनी आएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा ‘गैरजिम्मेवार ढङ्गले’ कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन् ।ट्वीट गर्दै उनले त्यस्तो हमलाबाट हजारौँ मानिस मारिन सक्ने बताएका छन् ।सिरियाली सरकारी फौजले इड्लिबमा ठूलो हमलाको तयारी गरिरहेका विवरणमाझ ट्रम्पको चेतावनी आएको हो ।

इड्लिब सिरियाली विद्रोहीहरूको पकड रहेको अन्तिम महत्त्वपूर्ण क्षेत्र हो ।संयुक्त राष्ट्रसंघले पनि सिरियाली फौजले गर्ने भनिएको हमलाले हजारौँ नागरिकलाई भयावह परिणाम निम्त्याउन सक्ने जनाएको छ । यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली सरकार र उसका साझेदारहरूले रासायनिक हमला गरे वाशिङटनले त्यसको जवाफ दिने चेतावनी दिएको थियो।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले ट्वीट गरेकी छन्, ‘सबैको नजर असाद, रुस र इरानले इड्लिबमा के गर्छन् भन्ने कुरामा छ ।’ अधिकतर सिरियामा विद्रोहीहरू परास्त भइसकेको पृष्ठभूमिमा उत्तरी प्रान्तमा गरिने आक्रमण सिरियाली गृहयुद्ध अन्तर्गत अन्तिम महत्त्वपूर्ण लडाइँ हुनेछ ।राष्ट्रपति बशर अल असदले त्यहाँ चरणबद्ध आक्रमण गराउने तयारी गरिरहेको स्रोतहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अल-नुस्रा र अल-कायदाका करिब १० हजार जिहादीहरू इड्लिबमा छन् । रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले मानिसहरूलाई सुरक्षा कवच बनाएको भन्दै इड्लिबबाट ‘आतङ्कवादीहरू’ सफाया गर्नुपर्ने बताएका छन् ।

सिरियामा सात वर्षभन्दा बढी समयदेखिको लडाइँका कारण चार लाखभन्दा बढी मानिसहरू मारिएको अथवा हराइरहेको र आधाभन्दा बढी जनसङ्ख्या विस्थापित भएको बताइन्छ  ।

(बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?