डेरी खुलेपछि दलित समुदायले दूध बेच्न पाए
सारांश
- काठमाडौं, २२ माघ -डडेल्धुरामा डेरी सञ्चालनमा आएपछि दलित समुदायको गाईभैंसीको दूध बिक्री हुन थालेको छ ।
- डडेल्धुराकोे भित्री मधेश क्षेत्रमा पछिल्लो समय व्यावसायिक रूपमा दुग्ध संकलन केन्द्र डेरी सञ्चालनमा आएपछि दलित समुदायकाले पनि सजिलै दूध बिक्री गर्न पाएका छन् ।
- अहिले त्यस क्षेत्रका दलित समुदायहरूले उन्नत जातका गाईभैंसी पालन गरी दूध बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् ।
काठमाडौं, २२ माघ -डडेल्धुरामा डेरी सञ्चालनमा आएपछि दलित समुदायको गाईभैंसीको दूध बिक्री हुन थालेको छ । डडेल्धुराकोे भित्री मधेश क्षेत्रमा पछिल्लो समय व्यावसायिक रूपमा दुग्ध संकलन केन्द्र डेरी सञ्चालनमा आएपछि दलित समुदायकाले पनि सजिलै दूध बिक्री गर्न पाएका छन् । अहिले त्यस क्षेत्रका दलित समुदायहरूले उन्नत जातका गाईभैंसी पालन गरी दूध बिक्रीबाट जीविकोपार्जन गर्दै आएका छन् ।
“गाउँ नजिकैको घरेलु बजारमा डेरी सञ्चालनमा आएपछि हामीले दूध बेच्न पाएका छौं, नत्र भने हाम्रो दूध कसले किन्थ्यो र ?” आलिताल गाउँपालिका–६ का ६५ वर्षीय वृद्ध लक्ष्मण कोलीले भने, “पहिले घरपरिवारकै लागि उपभोग गर्नका लागिमात्र गाईभैंसी पाल्ने गर्थ्येउ , अहिले घरेलु बजारमा डेरी सञ्चालनमा आएपछि यहाँका प्रत्येक परिवारले दुईभन्दा बढी नै उन्नत जातका जर्सी गाई पालन गरी व्यवसायिक रूपमा दूध बिक्रीबाट दैनिक पाँचदेखि पन्ध्र सय रुपैयाँ आम्दानी गरिरहेका छन् ।” दूध बिक्री हुन थालेपछि २०-२२ परिवार दलित बस्ती रहेको आलिताल–६ मा अहिले ६० भन्दाबढी उन्नत जातका दूधालु जर्सी गाई छन् । डडेल्धुरामा दलित अझै पनि दलितको दूध गैरदलितले नकिन्ने भएका कारण उनीहरूको दूध बिक्री हुन सकेको थिएन । आजको कारोबार दैनिकमा खबर छ ।
आलिताल गाउँपालिका–४ स्थित घरेलु बजारमा स्थानीय कमलसिंह ऐडीले डेरी सञ्चालनमा ल्याएपछि त्यस क्षेत्रका दलित समुदाय तथा अन्य समुदायका स्थानीयहरू व्यावसायिक रूपमै उन्नत जातका गाईपालनतर्फ आकर्षित भएका छन् । ऐडीले दूध चिस्यान गर्न चिलिमभ्याटसहितको मष्टो दूध संकलन केन्द्र नामक दूध डेरी सञ्चालन गरेपछि घरेलु आसपासवासी स्थानीयहरूले दूध बिक्रीमार्फत राम्रो आम्दानी गर्न सफल भएका छन् भने ऐडीले घरेलुको दूध कैलालीसम्म निर्यात गर्ने गरेका छन् । ऐडीले अहिले दैनिक रूपमा करिब एक हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई निर्यात गर्ने गरेका छन् ।
एकिकृत विकास समाजद्वारा सञ्चालित आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना एमरेड दोस्रो चरणको आर्थिक सहयोगमा दूध डेरी सञ्चालनमा ल्याएको सञ्चालनक ऐडीले बताए । डेरी सञ्चालनका लागि आफ्नो लगानी ठूलो नै भए पनि सुरुवातमा पशु सेवा कार्यालय, एमरेड परियोजनाको आर्थिक तथा व्यवस्थापन सहयोगले डेरीप्रती आकर्षित गराएको उनको भनाइ छ ।
एमरेड परियोजनाले बाढी, भू–क्षयीकरण भएको स्थानमा डाले घाँसका बोटबिरुवा वृक्षारोपणसँगै तारजाली पर्खालसमेत निर्माण गरेको स्थानीयको भनाइ छ । परियोजनाले आवश्यक तालिम, घाँसका बोटबिरुवा उपलब्ध गराइ पशु सेवा कार्यालयसँग समन्वय गर्दै उन्नत गाईपालनका लागि केही रकम उपलब्ध गरेपछि अहिले दूध बिक्रीबाट आम्दानी गर्न सकिरहेको आलिताल–३ का कृषक तारादेवी मडैले बताइन् ।
प्रतिक्रिया