तिहारका लागि मिठाइ किन्दा खानलायक छ/छैन हेरेर किन्नुहोस्
सारांश
- काठमाडौं ।
- तिहारका लागि मिठाइ किन्दा जथाभावी होइन खानलायक छ छैन हेरेर मात्र किन्नुहोस् ।
- तिहारमा खानका लागि तयार गरिएका मिठाइमा ढुसी लागेको भेटिएको छ ।
काठमाडौं । तिहारका लागि मिठाइ किन्दा जथाभावी होइन खानलायक छ छैन हेरेर मात्र किन्नुहोस् । तिहारमा खानका लागि तयार गरिएका मिठाइमा ढुसी लागेको भेटिएको छ ।
भक्तपुरको सूर्यविनायकमा नगरपालिकाले गरेको अनुगमनमा मिठाइ खानलायक नभएको भेटिएको हो ।
नगर क्षेत्रमा रहेका मीठाइ पसलमा गरिएको अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाई बेचिरहेको भेटिएको हो । अनुगमनका क्रममा टोलीले मिठाइमा ढुसी आएको, बिग्रिएको, पुरानो मिठाई राखिएको भेटिएको हो ।
मिठाई पकाउने तेल जाँच गर्दा रानसिड (एसिड) बढी भई गुणस्तरहीन भएको, तेलमा अखाद्य वस्तुको मिसावट भएको, म्याद नाघेको रंग प्रयोग गरेको, आवश्यकताभन्दा अत्यधिक बढी अखाद्य रंग प्रयोग गरिएको, बासी मिठाई र म्याद नाघेको सामानहरु ठूलो मात्रामा जफत गरी नष्ट गरेको अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले बताइन् ।
सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा खान नहसने वस्तु मिसाएर मिठाई बनाएको अनुगमनका क्रममा फेला पारिएको थियो ।
व्यापारीले पाँच किलो मिठाईमा १५ ग्रामसम्म रंग प्रयोग गरेको पाइएको छ । मानवीय जीवनमाथि खेलबाड गरी अखाद्य वस्तु मिसाउनेलाई पाँच हजार जरिवाना र ६ महीना कैद सजायको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया