देवघाटलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सकिने : प्रचण्ड
सारांश
- चितवन, २३ माघ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताएका छन् ।
- चितवनको ग्लेश्वर आश्रमद्वारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देवघाटको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
चितवन, २३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाटलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताएका छन् ।
चितवनको ग्लेश्वर आश्रमद्वारा आयोजित विराट धनधान्याञ्चल ज्ञान महायज्ञ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देवघाटको ऐतिहासिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् । “देवघाटको सम्बन्ध इतिहास, पौराणिककाल र परम्परासगँ छ”, अध्यक्ष प्रचण्डले भने, “देशको आर्थिक मेरुदण्ड भनेको पर्यटन भएकोले देवघाटलाई अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र बनाउन बामपन्थी सरकारले आवश्यक काम गर्नेछ ।”
नेपाल, भारतलगायतका दक्षिण एशियाका देशहरुबाट यस क्षेत्रमा ठूलो संख्यामा तीर्थालुहरु आइरहेको सन्दर्भ जोड्दै अध्यक्ष प्रचण्डले नयाँ सरकारले देवघाट क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रका रुपमा निर्माण गर्ने बताए । अध्यक्ष प्रचण्डले देवघाटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटक भित्राउनुपर्ने र देवघाटसगँ जोडिएका चितवन र नवलपुरलाई समेत यसले आर्थिक टेवा पुग्ने विचार व्यक्त गरे ।
चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष प्रचण्डले आफूले देवघाट क्षेत्रको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । “म चितवनको जनप्रनिधि भएकाले देवघाट क्षेत्रको विकास र समृद्धिको निम्ति भूमिका निर्वाह गर्नेछु । यहाँको समस्या समधान गर्न सरकारसगँ समेत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
उक्त अवसरमा अध्यक्ष प्रचण्डले समाजमा नैतिक मूल्यको स्थापनामा जोड दिनुपर्ने समेत बताएका थिए । “चिन्तन र विमर्शले समाजमा एउटा नैतिक मूल्य स्थापित गर्न सक्छ”, अध्यक्ष प्रचण्डले भने, “समाजमा देखिने र विकास हुने कतिपय विकृति र विमर्शलाई चिन्तन र विमर्शबाट अन्त्य गर्न सकिन्छ ।”
जनताको धार्मिक आस्थालाई सम्मान गर्ने
अध्यक्ष प्रचण्डले जनताको धार्मिक आस्था र स्वतन्त्रतालाई सम्मान गरेको बताउँदै धर्मविरोधी भनेर निरपेक्षरुपमा भ्रमपूर्ण प्रचार गरिएकोमा दुःख व्यक्त गरे । “हामीले सबैखाले धार्मिक आस्थाको सम्मान गर्छौं”, प्रचण्डले भने, “राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्न हुँदैन भन्नेमात्र हो । नेपालमा धार्मिक, साँस्कृतिक, जातीय र परम्परागत विविधता छ । विविधतामा एकता नै नेपालको पहिचान हो ।”
भूमिगतकालमा देवघाट आएको चर्चा
उक्त अवसरमा अध्यक्ष प्रचण्डले देवघाटधाममा आफ्नी फुपु र सासु बस्दै आएको बताउँदै विगतमा भूमिगत रहँदा श्रीमतीसहित थुप्रैपटक देवघाट आएको खुलासा गरे । “म धेरैपटक देवघाट आएको छु”, प्रचण्डले थपे, “त्यसैले मलाई यहाँ बस्नुुहुने वृद्धवृद्धाको दुःख र समस्या थाहा छ । त्यसलाई निराकरण गर्न मेरो साथ र सहयोग रहनेछ ।”
वेद बेदान्त विद्यालयको शिल्यानास
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाटमा निर्माण हुन लागिरहेको वेद वेदाङ्ग विद्यालयको शिल्यानास गरेका छन् । ग्लेश्वर आश्रमले १० कठ्ठा क्षेत्रफलमा विद्यालय निर्माण गर्न लागेको छ ।
शहिद परिवारसगँ अन्तरक्रिया
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देवघाट गाउँपलिकामा रहेका शहिद परिवारसगँ अन्तरक्रिया समेत गर्नुभएको छ । सो कार्यक्रममा जनयुद्धका समयमा परिवारका सदस्य गुमाउन पुगेका आफन्तहरुको गुनासो राखेका थिए । अध्यक्ष प्रचण्डले शहिद परिवारलाई राज्यले उचित क्षतीपुर्ती र व्यवस्थापन गर्ने बताउनुभयो ।
प्रतिक्रिया