धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
धनकुटामा दुबै गठबन्धनबीच तिव्र प्रतिस्पर्धा

सारांश

  • धनकुटा, कात्तिक ३० – प्रतिनिधिसभा र प्रदेससभा चुनावमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच धनकुटामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।
  • एक लाख पाँच हजार एक सय ८८ मतदाता रहेको धनकुटामा वाम गठबन्धनमा दुईवटा र  लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल भएका छन् ।
  • एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभाको लागि वाम गठबन्धनबाट नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ ।

धनकुटा, कात्तिक ३० – प्रतिनिधिसभा र प्रदेससभा चुनावमा वामपन्थी र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच धनकुटामा तिव्र प्रतिस्पर्धा देखिएको छ । एक लाख पाँच हजार एक सय ८८ मतदाता रहेको धनकुटामा वाम गठबन्धनमा दुईवटा र  लोकतान्त्रिक गठबन्धनमा तीनवटा दल सामेल भएका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधिसभाको लागि वाम गठबन्धनबाट नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राई र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुवै जना उम्मेदवार साविक मुगा गाविस हाल पाख्रीबास नगरपालिकाका निवासी हुन् । पूर्व प्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा पन्चायतकालमा प्रधानमन्त्री भएका बेला बहुदलीय व्यवस्थाको लागि २०३५÷३६ सालमा जेलनेल भोगेका राई वाम गठबन्धनका उम्मेदवार हुन् । मुगामा थापा परिवारसँग पौठेजोरी खेल्दै हुर्केका राई उनै थापाका छोरा सुनिलबहादुरसंग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

२०७० सालको संविधानसभा चुनावमा धनकुटाको क्षेत्र नं. २ मा यी दुवै उम्मेदवारले प्रतिस्पर्धा गरेका थियो । त्यसबेला थापाले राईलाई ४५६ मत अन्तरले पराजित गरेर बुबा सूर्यबहादुर थापाको विरासत थामेका थिए । २०७४ सालको स्थानीय तहको चुनावमा धनकुटाको सातवटै तहमा जितेको एमालेका उम्मेदवार राई, माओवादी केन्द्रको सहयोगमा वर्चश्व जोगाउने अभियानमा रहेका छन् ।

त्यस्तै बुबा थापाले जित्दै आएको जिल्लामा कांग्रेस र संघीय समाजवादी फोरमको सहयोगमा पुर्खौली विरासत जोगाउने चुनौती राप्रपा प्रजातान्त्रिकका उम्मेदवार एवं बाहलवाला उद्योग मन्त्री थापासँग रहेको छ । उनीहरुबीच  दोस्रो पटक हुन लागेको भिडन्त निकै रोचक रहेको छ भने कस्ले जित्छ भनेर आम मतदातामा चासोको विषयमा बनेको छ ।

स्थानीय तहको चुनाव २०७४ मा ७ वटा स्थानीय तहको प्रमुखका उम्मेदवारको पाएको मतको आधारमा वाम गठबन्धनसँग ३९ हजार ९८६ मत रहेको छ ।  लोकतान्त्रिक गठबन्धनसँग २२ हजार ८२ मत रहेको छ । यो मतको आधारमा वाम गठबन्धन १७ हजार ९०४ मतले अगाडि रहेको छ । यो मत वाम गठबन्धनलाई जित्नको लागि पर्याप्त भए पनि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वामपन्थीकै मत चोरेर जित्ने दाउमा देखिएका छन् ।

प्रदेशमा पनि गठबन्धनकै प्रतिस्पर्धा

प्रदेशसभामा धनकुटाको दुबै निर्वाचन क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच प्रतिष्पर्धा रहेको छ । प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट वाम गठबन्धनबाट एमालेका निरन राई र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठबीच चुनावी टक्राव रहेको छ । संविधानसभाको चुनाव २०७० सालमा समानुपातिक सांसद बनेका श्रेष्ठ ०४८ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित भएका थिए । एमाले उम्मेदवार राई पहिलो पटक उम्मेदवार बनेका हुन् । स्थानीय तह चुनावमा वाम गठबन्धनमा यो क्षेत्रमा २० हजार ९ सय ६० मत पाएको छ । लोकतान्त्रिक गठबन्धनसँग १२ हजार ६ सय २४ मत रहेको छ ।

त्यस्तै (ख) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट पूर्व जिविस सदस्य ईन्द्रमणी पराजुली उम्मेदवार छन् । लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा रहेका छन् । थापा २०४८ र २०५६ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार भएका थिए भने पराजुली पहिलो पटक उम्मेदवार बनेका हुन् । स्थानीय तह चुनावमा वाम गठबन्धनले १९ हजार ३६ मत पाएको थिए । लोकतान्त्रिक गठबन्धनले ९ हजार ४५८ मत पाएको थियो । समग्रमा यो क्षेत्रमा वाम गठबन्धन ९ हजार ५७८ मतले अगाडि  रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?