धादिङको कान्छो उम्मेदवार बराकोटी जमरकट्टेलसँग भिड्दै
सारांश
- धादिङ ।
- धादिङ प्रतिनिधि सभा क्षेत्र नं.
- १ को प्रदेश सभा २ बाट सन्तोष बराकोटीले उम्मेद्वारी दिएका छन् ।
धादिङ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा २ बाट सन्तोष बराकोटीले उम्मेद्वारी दिएका छन् । आसन्न निर्वाचनमा उनले वामगठबन्धनका उम्मेद्वार शालिकराम जमरकट्टेल र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार प्रभात किरण सुवेदीसँग प्रतिष्पर्धा गर्दैछन् ।
धादिङ प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा २ मा जमरकट्टेल र बराकोटी चुनावी मैदानमा उत्रिएपछि कडा प्रतिस्पर्धाका साथै त्यहाँको चुनाव रोचक हुने देखिएको छ ।
विगतमा धादिङमा एमाले र माओवादी केन्द्रबीच झगडा हुनाले बराकोटीलाई चुनाव जित्न सहज हुने धादिङका मतदाताहरुले शिखरन्यूजलाई जानकारी दिए ।
बराकोटी शैक्षिक र बौद्विक नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । बराकोटी धादिङको कान्छो युवा उम्मेद्वार पनि हुन् । उनी २८ वर्ष मात्र भएका छन् ।
को हुन सन्तोष बराकोटी ?
०६२/६३ को आन्दोलनसँगै विद्यार्थी राजनीतिमा लागेका बराकोटी सुरुमा एमालेको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् । बराकोटी हाल नयाँ शक्ति निकट विद्यार्थी युनियनको केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।
‘निरन्तरता हैन, नयाँ खोजौं, प्रदेश सभामा नयाँ शक्ति रोजौं’ भन्ने नारासहित चुनावी मैदानमा होमिएका बराकोटीले एमबिएस अध्ययनपश्चात समाजशास्त्रमा स्नातकोत्तरको अध्ययनलाई निरन्तरता दिइरहेका छन् ।
बराकोटी विगत करिब १२ वर्षदेखि सक्रिय राजनीतिको दौडधुपमा छन् । २०६३ सालमा श्री बागेश्वरी उच्च माध्यमिक विद्यालय, रिचोकटार मलेखुबाट एसएलसी पास गरे पश्चात काठमाडौं प्रवेश गरेका बराकोटी सरस्वती बहुमखी क्याम्पसमा अध्ययन गर्दैगर्दा राजनीतिमा लागेका हुन् ।
अहिले नेपाली राजनीतिमा आएको विकृति, विसंगति र अपारदर्शितालाई अन्त्य गर्नुपर्नेमा जोड दिने बराकोटी अहिले राजनीति तस्कर, पैसावाल र गुण्डागर्दीमा संलग्नहरु हावी भएकोमा चिन्तित छन् ।
‘मैले अहिलेसम्म व्यवस्था परिवर्तन गर्ने आन्दोलनमा सकेको योगदान गरेँ,’ उनी भन्छन्, ‘अहिले म अवस्था परिवर्तन गर्ने नयाँ आन्दोलनमा सक्रिय छु ।’
इमान्दार राजनीतिज्ञको युग फर्काउन पनि युवा पुस्ता नेतृत्वमा आउनुपर्ने उनको तर्क छ । उनको विचारमा अबको नेपालको अवस्था परिवर्तन अथवा समृद्ध नेपाल बनाउने अभियानको नेतृत्व युवा नेतृत्वले मात्र गर्न सक्छन् ।
‘निर्वाचन प्रणालीका कारण राजनीति दुस्चक्रमा फसेको छ,’ उनी भन्छन्, ‘आस्था र निष्ठामा प्रतिबद्ध र योग्य राजनीतिक नेता कार्यकर्ता भन्दा पैसावाल र तस्करहरुको हातमा राजनीति पुगेको छ ।’
व्यवस्था फेर्ने राजनीतिले मर्यादाक्रमको अनावश्यक पर्खाल बनाएको र त्यसका कारण युवाहरु नेतृत्वमा पुग्न नसकेको उनको तर्क छ । ‘नयाँ अवस्थामा नयाँ राजनीतिक संस्कार आवश्यक छ,’ उनी भन्छन्, ‘त्यसको लागि म धन र डनको दादागिरीका विरुद्ध पवित्र मन लिएर चुनावी मैदानमा उत्रिएको छु, समृद्धि चाहनेहरुको सपना बोकेर विकल्पको रुपमा मैदानमा उभिएको छु ।’ नागरिकले ढिलो चाँडो विकल्प खोज्नेमा बराकोटी विश्वस्त छन् ।
प्रतिक्रिया