नवलपरासीमा बालविवाहका कारण विद्यालय छाड्नेको सङ्ख्या बढ्दो
सारांश
- नवलपरासीको पहाडी क्षेत्रमा अझै बालविवाह रोकिएको छैन ।
- जनजातिहरुको बाहुल्य रहेको क्षेत्र र गरिब, विपन्न तथा पिछडिएका क्षेत्रमा अझै बालविवाह नरोकिएको हो ।
- बालविवाहकै कारण विद्यालय छाड्नेहरुको संख्या समेत बढीरहेको छ ।
नवलपरासीको पहाडी क्षेत्रमा अझै बालविवाह रोकिएको छैन । जनजातिहरुको बाहुल्य रहेको क्षेत्र र गरिब, विपन्न तथा पिछडिएका क्षेत्रमा अझै बालविवाह नरोकिएको हो । बालविवाहकै कारण विद्यालय छाड्नेहरुको संख्या समेत बढीरहेको छ ।
बालविवाहकै कारण नवलपरासीको मध्यविन्दु नगरपालिका १० द्वारदामा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा वर्सेनि विद्यालय छाड्ने बालबालिकाहरु बढिरहेका छन् ।
विद्यालयका प्रधानाध्यापक हेमराज ढुंगानाका अनुसार यस बर्षमात्रै ४ जनाले बालविवाह गरेकै कारण विद्यालय छाडेका छन् । उनले वर्सेनि ७/८ जना बालबालिकाले आफ्नो विद्यालयबाट मात्रै बालविवाह गरेका कारण विद्यालय छाडेन गरेको बताए ।
८ देखि १० कक्षासम्मका विद्यार्थीहरु बालविवाह गर्ने बढी भएपनि केही बर्ष अगाडि कक्षा ४ कक्षामा अध्ययनरत विद्यार्थीले समेत विवाह गरेर विद्यालय छाडेको ढुंगानाले बताए ।
यस बर्ष कक्षा ८ मा ६८ जना विद्यार्थी भर्ना भएकोमा ६१ जनाले मात्र परीक्षाका लागि फारम भरेका छन् । फारम भरेकामध्ये पनि २ जना छात्राले बालविवाह गरेकै कारण विद्यालय आउन छाडेको प्रधानाध्यापक ढुंगानाले जानकारी दिए ।
बालविवाह गर्ने, घरका कोही न कोही वैदेशिक रोजगारीका लागि गएका कारण घर हेर्नुपर्ने भन्दै विद्यालय छाड्ने, परिवार पाल्नकै लागि सानै उमेरमा कामको खोजीमा भारत पस्ने र साथीहरुको लहैलहैमा लागेर विद्यालय छाड्ने गरी वर्षमा भर्ना भएकामध्ये ४० देखि ५० जनाले विद्यालय छाड्ने गरेको उनले बताए ।
त्यस्तै लक्ष्मी निम्न माध्यमिक विद्यालय बुङ्गदीकाली गाउँपालिका ६, नरम ल्हापेका प्रधानाध्यापक सुरज गुरुङले पहाडी क्षेत्रमा अभिभावकले बालबालिकाको भविश्यप्रति खासै चासो नदिने गरेका कारण बालविवाह अझै नरोकिएको बताए ।
नवलपरासीको बुंदीकाली गाउँपालिका ६ नगरडांडाको नगरडांडा माविका प्रधानाध्यापक ओमबहादुर सारुले मोबाइल, फेसबुक, आर्थिक अभाव र अशिक्षाकै कारण बालविवाह अझ रोकिन नसकेको बताए ।
उनले कुनै बर्ष आफ्नो विद्यालयमा एउटै कक्षामा बालविवाह गरेकै कारण ८/९ जनाले विद्यालय आउन छाडेको बताए । पहाडी क्षेत्रमा १७, १८ बर्षमा विवाह गर्नु सामान्य जस्तै हुने भएकोले पहाडी क्षेत्रमा सामान्य रुपमा हेरिने गरिन्छ ।
नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका हो भने साविक प्रगतिनगर गाविस नेपालकै पहिलो बालमैत्री गाविस घोषणा भएको हो । यी दुवै क्षेत्र सहरी क्षेत्र र बजार केन्दि्रत क्षेत्र हो ।
नवलपरासीको मगर, कुमाल लगायतका जनजातिको बढी बाहुल्यता रहेको साविक राँकाचुली गाविसको बतासा, चनौटे, साविक मैनाघाट गाविसको दमार, गरगरे, भालुटांडे, साविक नयांबेलहानी गाविसको खयरसाल लगायतका गाउंमा अझै बालविवाह कायम रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
गाविसमा बालविवाह दर्ता गर्न नमानेपनि बालविवाह गर्ने क्रम भने नरोकिएको सम्बन्धित गाविसका सचिवहरुले बताएका छन् ।
यहाँको सहरबजार क्षेत्रमा पनि बालविवाह हुने गरेको छ । कानुनले बालविवाहलाई सामाजिक अपराध मानेको छ ।
प्रतिक्रिया