निसान हत्या प्रकरण: यसकारण गृहमन्त्री बसे माैन
सारांश
- काठमाडाै, २४ साउन ।
- गृहमन्त्री रामबहादुर थापालाई महानगरीय अपराध महाशाखाले निसान खड्का अपहरण, हत्या र विवादास्पद ‘इन्काउन्टर’बारे ब्रिफिङ गरेको छ।
- मन्त्रालयमा समय नमिलेपछि महाशाखाको टोली गृहमन्त्रीलाई ब्रिफिङ गर्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेको थियो।
काठमाडाै, २४ साउन । गृहमन्त्री रामबहादुर थापालाई महानगरीय अपराध महाशाखाले निसान खड्का अपहरण, हत्या र विवादास्पद ‘इन्काउन्टर’बारे ब्रिफिङ गरेको छ। मन्त्रालयमा समय नमिलेपछि महाशाखाको टोली गृहमन्त्रीलाई ब्रिफिङ गर्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेको थियो। महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहको टोलीले आईतबार रातीदेखि सोमबार अपरान्हसम्मको विवरण गृहमन्त्रीलार्इ सुनाएको छ। महाशाखाको ब्रिफिङ सुनेका गृहमन्त्री थापाले कुनै प्रतिक्रिया भने जनाएनन्।
महाशाखाले अपहरणमा संलग्नहरुसँग मुठभेड भएको विवरण मन्त्री थापालाई बताएका थिए। ‘महाशाखाका अधिकारीबाट जानकारी लिने काम भयो,’ ब्रिफिङमासँगै रहेको मन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले भने, ‘सुन्ने काममात्र भएको हो। थप केही भएको छैन।’
महाशाखाले गृहमन्त्रीलार्इ निसान र उनको परिवारसँग परिचित रहेका गोपाल तामाङ र अजय तामाङले अपहरण गरेको सुनाएको छ। टोलीले दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ तथा कुटपिट गरेको प्रत्यक्षदर्शीले सार्वजनिक गरेपछि प्रहरीको कृतिम मुठभेड सार्वजनिक भएको थियाे।
घटनाकाे निष्पक्ष छानवीन एवं दाेषीउपर कारवाही माग गर्दै बुधबार मारिएका युवकका परिवारले राष्ट्रिय मानव अधिकार अायाेगमा उजुरी दर्ता गराएका छन्। बुधबारकाे संसद बैठकमा समेत याे विषयमा छलफल भएकाे थियाे। सांसदहरूले प्रहरीलार्इ नागरिककाे हत्या गर्ने अधिकार नभएकाे भन्दै घटनाबारे गृहमन्त्रीले जानकारी दिनुपर्ने माग गरेका थिए।
प्रतिक्रिया