नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
नेकपा–उपसभामुखलाई राजीनामा गराउने तयारी

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आहृवान गरेकी छन्।
  • आगामी पुस ४ गतेका लागि उनले संसद् बैठक आहृवान गरेकी हुन्।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आहृवान गरेकी छन्। आगामी पुस ४ गतेका लागि उनले संसद् बैठक आहृवान गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी पुस ४ गते दिउँसो ४ बजे बस्नेगरी संसद् बैठक आहृवान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले मंगलबार जानकारी दिएका छन्।

प्रतिनिधिसभा बैठकको पहिलो काम सभामुख निर्वाचन हुनेछ । उपससभामुख शिवमाया तुम्बाहाङ्फे पदमा वहालै रहेको अवस्थामा नेकपाले सभामुख पदमा दाबी गर्न पाउने छैन । संसदमा प्रष्ट बहुमत रहेको नेकपा अर्को दललाई सभामुख पद दिन मन्जुर हुने छैन । स्रोतका अनुसार उपससभामुख तुम्बाहाङ्फेलाई अधिवेशन सुरु हुनु अगावै पदबाट राजीनामा गराउनेछ ।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेलमा छन् । सभामुख नभएका कारण विधेयक प्रमाणीकरण हुन पाएका छैनन् । विधेयक प्रमाणीकरणको कामबाहेक अन्य काम भने उपसभामुख तुम्बाहाङ्फेले गर्दै आएकी छिन् ।

राजीनामा नगरे अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङ्फेले गर्नेछिन् । संसद् सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन बाटो खुल्ने छ । प्रतिनिधिसभाको पहिलो बैठकले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन सक्ने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

‘संसद्को पहिलो बैठकमा राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची हुन्छ,’ उनले भने, ‘पहिलो बैठकमै सभामुख चयनको प्रक्रिया तय गरिने सम्भावना पनि छ ।’

स्रोतका अनुसार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संसद् अधिवेशन सुरु हुनुभन्दा अघि नै उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराउनेछ ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलबाट हुन नहुने व्यवस्थाका कारण नेकपाले सभामुख पद लिएर उपसभामुख अर्को दललाई दिने योजनाअनुसार अधिवेशन अघि नै तुम्बाहाङ्फेको राजीनामा गराउने तयारी गरेको हो ।

उपसभामुख तुमबाहाङ्फेले पदबाट राजीनामा दिए संसद्का ज्येष्ठ सदस्यले बैठकको अध्यक्ष गर्नेछन् । ‘नेकपाले सभामुख पद गुमाउने चाहेको छैन । उपसभामुखले राजीनामा दिएपछि ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरेर सभामुख चयनको प्रक्रिया अघि बढ्छ,’ एक नेताले भने ।

उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुख बनाउने पक्का भए राजीनामा दिन तयार रहेको प्रतिक्रिया दिएकी छिन् । मंगलबार आफ्नै कार्यकक्षमा केही पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुख पदमा आफ्नो दाबेदारी रहेको प्रष्ट पार्दै राजीनामा ठूलो विषय नरहेको प्रतिक्रिया दिइन् ।

‘सभामुख पदमा मेरो दाबी कायमै छ । त्यसअघि सल्लाहमा राजीनामा दिन पनि सकिन्छ,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘अन्यथा कार्य व्यवस्था परामर्श समितिको सल्लाहमा म नै बैठकको अध्यक्षता गर्छु ।’ पुस ४ गतेको पहिलो बैठक सकेर राजीनामा दिन सकिने विकल्प पनि रहेको उनको भनाइ छ । तुम्बाहाङ्फेले तत्कालीन सभामुख महराले गरेको गल्तीको परिणाम आफूले पद गुमाएर व्यहोर्न बाध्य नहुने जिकिर गर्दै आएकी छन् ।

त्यसो त, तुम्बाहाङ्फे सत्तारूढ दलबाटै उम्मेदवार बनेर उपसभामुख निर्वाचित भएकी हुन् । उनले तत्कालीन नेकपाबाट उपसभामुख पदमा उम्मेदवारी दिएकी थिइन् । महराले तत्कालीन माओवादी केन्द्रबाट सभामुखमा उम्मेदवारी दिएका थिए । दुवै दल मिलेर अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भइसकेको छ । नेकपाले तुम्बाहाङ्फे उपसभामुखमा कायम रहेको अवस्थामा सभामुखमा दाबी गर्न सक्दैन । तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन नेकपाभित्रको पूर्व–एमाले पंक्ति सकारात्मक रहे पनि पूर्व–माओवादी पंक्तिले आफ्नो समूहबाटै सभामुख हुनुपर्ने दाबी गर्दै आएको छ ।

त्यति वेलाको भागबण्डामा तत्कालीन माओवादी केन्द्रलाई सभामुख र तत्कालीन नेकपा एमालेलाई उपसभामुख पद परेको थियो । पूर्वमाओवादी पक्षले सोहीअनुसार सभामुख पदमा जिकिर गरेको छ । यसैअनुसार भए तुम्बाहाङ्फे सभामुख हुने छैनन् र उपसभामुख पनि रहने छैनन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशन गत असोज २ गते सकिएको थियो ।

विधेयक अधिवेशनका रूपमासमेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?