‘नेपालको केही एजेन्डा छैन’: नरेन्द्र मोदी
सारांश
- काठमाडौं, २९ वैशाख ।
- नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
- मोदीलाई भेट्न कांग्रेस पदाधिकारी सहितका नेताहरू शनिवार मध्याह्न हायात होटल पुगेका थिए ।
काठमाडौं, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
मोदीलाई भेट्न कांग्रेस पदाधिकारी सहितका नेताहरू शनिवार मध्याह्न हायात होटल पुगेका थिए । भेटमा मोदीले नेपालको विकास र समृद्धिका भारतको सधैँ सहयोग रहने बताएका थिए ।
‘नेपालको प्रगतिभन्दा केही एजेन्डा छैन, चुनाव गरेर संविधान कार्यान्वयन गर्नुभएकोमा बधाइ छ,’ मोदीको भनाइ उद्धृत गर्दै कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले भने ।
मोदीले चुनाव सम्पन्न गराएकोमा देउवालाई बधाई दिएका थिए । ‘दुई देशको बीचको सम्बन्ध राम्रो हुँदै जाओस् र पार्टी टु पार्टी सम्बन्ध पनि मजबुत होस् भन्ने मोदीको चाहाना थियो,’ पूर्वपरराष्ट्र मन्त्री समेत रहेका महतले भने ।
मोदीलाई भेट्न सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का लगायतका नेताहरू उनी बसेकै होटलमा पुगेका थिए ।
उनीहरूबीच झण्डै आधाघण्टा छलफल भएको थियो ।
प्रतिक्रिया