नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३, २०७३
|
|
२५९ पटक हेरिएको
Shares
नेपाली महिला क्रिकेट टोलीको लक्ष्य श्रीलंका र बंगलादेश

सारांश

  • आईसीसी महिला विश्वकप छनोट शृंखलाको एसिया क्षेत्रमा नेपालले निकै ठूलो चुनौतीको सामना गर्नुपर्‍यो ।
  • नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक राजु बस्न्यातलाई विश्वास गर्ने हो भने अब नेपालको चुनौती थाइल्यान्ड, हङकङ र चीनसँग होइन ।
  • यद्यपि छनोट शृंखलाको एसिया क्षेत्रमा नेपाल दोस्रो भयो ।

आईसीसी महिला विश्वकप छनोट शृंखलाको एसिया क्षेत्रमा नेपालले निकै ठूलो चुनौतीको सामना गर्नुपर्‍यो । नेपाली महिला क्रिकेट टोलीका प्रशिक्षक राजु बस्न्यातलाई विश्वास गर्ने हो भने अब नेपालको चुनौती थाइल्यान्ड, हङकङ र चीनसँग होइन ।

यद्यपि छनोट शृंखलाको एसिया क्षेत्रमा नेपाल दोस्रो भयो । पहिलो दुई खेल हारेको नेपालले त्यसपछि ४ मध्येको तीन खेल जितेर उपाधि दौडमा पुगेको थियो । निर्णायक मानिएको जस्तो खेलमा विजयको नजिक पुगेर पनि थाइल्यान्डसँग १ विकेटको पराजय भोग्नु नेपालको उपाधिहीन यात्राको कारण बन्यो । राउन्ड रोबिनको पहिलो चरणको खेलमा पनि थाइल्यान्डसँग विजयको नजिक पुगेर नेपाल चुकेको थियो ।

नेपाली महिला टोलीले सन् २००७ मा मलेसियामा भएको एसीसी वुमन्स प्रतियोगिताबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेको थियो । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै फाइनल पुगेको नेपाल त्यसयता पहिलोपटक उपविजेता भएको हो । हङकङको सफलताले नेपाललाई अर्को महिना थाइल्यान्डमा हुने एसिया कपसम्म जोडेको छ । नेपालले चार वर्षपछि एसिया कपमा खेल्ने अवसर पाएको हो ।

‘सुरुमा खेलाडीहरूको अलिकति सकारात्मक सोच राखेर खेलेको भए हामीले प्रतियोगिता जित्थ्यौं । मैले बाराम्बार भन्ने गरेको थिएँ हाम्रो टिम प्राविधिक र शारीरिक रूपमा राम्रो छ । मानसिक हिसाबमा चाहिं हामी अलिकति चुक्यौं । सुरुमा खेलाडीहरूमा हामी कमजोर छौं भन्ने मानसिकता भएको मैले पाएँ । एउटा म्याच जितेपछि हामीले लय समात्न लाग्यौं र विपक्षीहरूलाई दबाब दिन लाग्यौं,’ प्रशिक्षक बस्न्यातले भने ।

पहिलो दुई खेलमा आयोजक हङकङ र थाइल्यान्डसँग पराजित भएको नेपालले त्यसपछि चीन र हङकङलाई पराजित गरेको थियो । थाइल्यान्डसँग दोस्रोपटक भिड्दा नेपालले १ सय ८ रनको राम्रो स्कोर बनाए पनि त्यसलाई रक्षा गर्न सकेन । अन्तत नेपालसँगको विजयपछि थाइल्यान्ड विजेता बनेर विश्वकप छनोटमा स्थान बनाउन सफल भयो ।

‘हामी एसिया कपमा खेल्दै छौं, त्यो पनि मलाई त्यस्तो ठूलो नै चुनौती हो जस्तो लाग्दैन । नेपालको प्रतिस्पर्धा चीन, थाइल्यान्ड, हङकङसँग होइन,’ बस्न्यातले भने, ‘नेपालको प्रतिस्पर्धा अब एसिया कपमा बंगलादेश र श्रीलंकालाई पराजित गर्न तयारी गर्नु हो । राम्रोसँग तयारी गर्ने हो भने अब हामी त्यो पनि सक्छौं । महिला क्रिकेटमा बंगलादेश र श्रीलंकाको क्रिकेट स्तर त्यति माथि छैन, जुन स्तर भारत र पाकिस्तानको छ । त्यही भएर हामी श्रीलंका र बंगलादेशलाई पराजित गर्न पनि सक्छौं, तयारी त्यहीअनुरूप हुने हो भने ।’

उनले त्यसका लागि नेपालले समयमै तयारी सुरु गर्नुपर्ने र विदेशमा खेलाडीहरूलाई प्रशिक्षण गराउनु आवश्यक भएको आंैल्याए । प्रतियोगितामा नेपालले खेलेका टिमहरूबारेमा उनले भने, ‘अरू तीन टिममा थाइल्यान्डले निरन्तर खेलिरहेको छ, योभन्दा अगाडि पनि विश्वकप छनोट खेलेको टिम हो । चीनले दिनका दिन राम्रो गर्दै गइरहेको छ । हङकङको टिम पनि राम्रो छ । प्रतियोगिताभरिको प्रदर्शन हेर्दा मेरो विश्लेषण चार टिममा नेपाल नै सबैभन्दा राम्रो टिम थियो ।’

ओपनिङ ब्याटिङको असफलताले पनि टिमको सम्पूर्ण प्रदर्शनमा असर परेको उनी स्विकार्छन् । ‘ओपनिङ ब्याटिङमा हामीलाई निकै समस्या भयो । जुनै पनि खेलमा हामी त्यसबाट पीडित हुनुपर्‍यो, नियमित ओपनरहरूले राम्रो खेल्न सकेनन्,’ यसमा पनि बस्न्यातले समस्या एउटै देखे, ‘ब्याटिङ लाइन अपभन्दा यसमा पनि मानसिक पक्ष नै आउँछ । २ म्याचमा हाम्रा ४(४ खेलाडी रनआउट भएका छन् । मानसिक रूपमा बलियो नभएर त्यो स्थिति आएको हो । त्यसरी रनआउट नभएको भए हामीले ती खेलमा अझ राम्रो स्कोर बनाउन सक्थ्यौं ।’

प्रशिक्षक बस्न्यातले एसिया कपका लागि टिममा केही परिवर्तन अवश्य हुने जनाए । उनले भने, ‘अझ पनि केही राम्रा खेलाडी नेपालमा बाँकी छन् ।’

‘आफ्नो स्तर थाहा पायौं’
केही खेलाडीले व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे । हङकङकी मारिको हिलसँगै नेरी थापाले प्रतियोगितामा सर्वाधिक १ सय ११ रन बनाइन् । पहिलोपटक राष्ट्रिय टोलीमा समेटिएको निर्मला शाहीले ९३ रन बनाइन् र नेपालको ब्याटिङमा आशा देखाइन् । उनले अलराउन्ड प्रदर्शन गर्ने क्रममा ८ विकेट लिइन् ।

अर्को प्रभावशाली प्रदर्शन गर्नेमा अफब्रेक बलर करुणा भण्डारी थिइन् । उनले नेपालबाट सर्वाधिक ९ विकेट लिइन् । हङकङविरुद्धको खेलमा उनी प्लेयर अफ द म्याचमा चुनिएकी थिइन् । त्यसपछिको खेलमा थाइल्यान्डविरुद्ध ४ विकेट लिने क्रममा उनले एकै ओभरमा ३ विकेट लिएकी थिइन् ।

‘सबै हेर्दा प्रतियोगिता राम्रो भयो । म आफ्नो प्रदर्शनमा सन्तुष्ट छु । अहिले हामी सबै खेलाडीको आत्मविश्वास बढेको छ । हाम्रो स्तर कहाँ छ भनेर सबैले बुझिसके । अब नेपालको महिला क्रिकेट राम्रो हुन्छ भन्ने आशा गरेका छौं,’ करुणाले भनिन्, ‘सुरुको दुई म्याचमा हामी मानसिक रूपमा पराजित जस्तै थियौं । हामीले खुलेर खेल्न सकेनौं । दोस्रो खेल पनि जितिसकेको जस्तै भएको थियो । हाम्रो हातमा आएको खेल हार्‍यौं । हाम्रो ब्याटिङ अलिकति चलिरहेको थिएन, बिस्तारै बिस्तारै जित्नैपर्ने दबाब आइसकेको थियो । यो जितेन भने केही हुँदैन जस्तो हिसाबमा सन्देशहरू आएका थिए ।’

महिला क्रिकेटमा करुणाका नाममा ह्याट्रिक विकेट छ । उनी थाइल्यान्डसँगको खेलमा फेरि नजिक पुगेकी थिइन् । ‘एक ओभरमा ३ विकेट लिँदा म निकै उत्साहित थिएँ । मैले त्यो तीन विकेट आफ्नो पहिलो ओभरमै लिएको थिएँ । अर्को ओभरमा पनि विकेट लिएको भए जितिन्थ्यो जस्तो लागेको थियो,’ उनले भनिन्, ‘स्पिनरहरूलाई सुरुमै गराउँदा अन्तिम नहुँदा हारेका हौं कि जस्तो पनि लाग्छ, दुई जितिसकेको खेल । हाम्रो शक्ति भनेकै बलिङ थियो, बलिङ सबै हेर्दा राम्रो भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको  अाराेप
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको अाराेप
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री दाहाल
साना कम्युनिष्ट पार्टीहरु यसो गर्दैछन्
साना कम्युनिष्ट पार्टीहरु यसो गर्दैछन्
पौष २७ गतेका पत्रपत्रिहरुमा छापिएका मुख्य कार्टुनहरु
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
बलात्कारपछि बाख्राकाे गयाे ज्यान !
रामेछापमा २० प्रतिशत मत खस्यो
रामेछापमा २० प्रतिशत मत खस्यो
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
प्रधानमन्त्री ओलीद्वारा महिला दिवसको शुभकामना
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली
मन्त्रीमण्डल पुर्नगठनमा यसकारण अलमल गर्दै प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?