नेपाली सेनाले सञ्चालन गरेका विकास आयोजनाहरुको समीक्षा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नेपाली सेनाले सञ्चालन गरेका विकास आयोजनाहरुको समीक्षा

सारांश

  • काठमाडौं, ३० साउन ।
  • रक्षा मन्त्रालय तथा नेपाली सेना र सो अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक बसेको छ ।
  • उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा रक्षा मन्त्रालयका नीति¸ योजना¸ अनुसन्धान तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सहसचिव बाबुराम गौतमले विशेष प्रस्तुति राखेका थिए ।

काठमाडौं, ३० साउन । रक्षा मन्त्रालय तथा नेपाली सेना र सो अन्तर्गतका निकायहरूबाट आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित विकास कार्यक्रम तथा आयोजनाहरूको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक बसेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेललको अध्यक्षतामा बसेको बैठकको प्रारम्भमा रक्षा मन्त्रालयका नीति¸ योजना¸ अनुसन्धान तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख सहसचिव बाबुराम गौतमले विशेष प्रस्तुति राखेका थिए ।

सहसचिव गौतमले मन्त्रालय र अन्तर्गतका निकायहरूबाट गत आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालित विभिन्न कार्यक्रमहरूको समग्र भौतिक तथा वित्तीय प्रगतिका साथै आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरूबारे विस्तृतरुपमा प्रकाश पारेका थिए । उनले राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औँ बैठकबाट रक्षा मन्त्रालयले पहलकदमी लिनुपर्ने भनी निर्णय भएको विषय विकास निर्माण कार्यका लागि आवश्यक पर्ने विस्फोटक, कच्चापदार्थको आयातलाई सहज बनाई नेपाली सेनाबाट आवश्यक परिमाणमा विस्फोटक पदार्थ तयार गर्न लगाई विकास निर्माण कार्यमा यसको अभाव हुन नदिने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । समीक्षा बैठकमा नेपाली सेनाबाट निर्माण भइरहेको काठमाडौ–तराई–मधेश द्रूतमार्ग सम्बन्धमा हालसम्म भएको प्रगति लगायत नेपाली सेनाबाट निर्माण भइरहेका विभिन्न भौतिक पूर्वाधारहरू तथा सडक करिडोरको प्रगति समीक्षाका साथै कार्यक्रम कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीहरूबारे छलफल गरिएको थियो ।

रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले मन्त्रालय र अन्तर्गतका निकायबाट गत आर्थिक वर्षमा सञ्चालित आयोजनाको समग्र भौतिक र वित्तीय प्रगति सन्तोषजनक रहेको बताएका थिए । उनले यस आर्थिक वर्षमा अझ बढी प्रगति हासिल हुनेगरी कार्य गर्न सम्बन्धित विभागीय प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

कार्यक्रममा नेपाली सेनाका कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राज्यले दिएको जिम्मेवारी कुशलतासाथ निर्वाह गर्न सदैव प्रतिबद्ध रहेको बताएका थिए । उनले सम्बन्धित सबै मन्त्रालय र निकायको समन्वय र सहयोगमा गत आर्थिक वर्षमा नेपाली सेना र अन्तर्गतका निकायहरूले लक्ष्यअनुरूप प्रगति हासिल गर्न सकेको व्यहोरा प्रस्तुत गरेका थिए । तराई क्षेत्रमा नेपाली सेनाका विभिन्न ब्यारेकबाट उपलब्ध गराउँदै आएको सर्पदंश उपचार सेवाको अत्यधिक माग रहेको बताउँदै यो सेवालाई तराईका थप स्थानमा विस्तार गर्दै जान सरकारबाट थप बजेट व्यवस्था हुन आवश्यक रहेको औंल्याए ।

समीक्षा बैठकको अन्त्यमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माणका कार्यक्रमहरू सञ्चालन गर्दा अन्तर मन्त्रालय र अन्तर निकायबीचको समन्वयले ठूलो भूमिका खेल्ने हुँदा आगामी दिनमा सम्बन्धित निकायहरूबीच समन्वयलाई थप सुदृढ तुल्याउँदै निर्धारित लागत र समयसीमामा कार्यक्रम सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिन सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिए । नेपाली सेनालाई समयानुकूल दक्ष¸ व्यावसायिक बनाउँदै सरकारले दिएको जिम्मेवारी कुशलतासाथ निर्वाह गर्नसक्ने तुल्याउन बजेट लगायतका साधनस्रोत तथा उपकरणहरू आवश्यक मात्रामा उपलब्ध गराउन मन्त्रालयको तर्फबाट आवश्यक सहयोग हुने बताए । काठमाण्डौं–तराई–मधेश द्रुतमार्ग लगायतका राष्ट्रिय गौरवका आयोजनालाई निर्धारित समयमै सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन नेपाली सेना लगायत सम्बन्धित सबै निकायले आआफ्नो क्षेत्रबाट आवश्यक सहयोग र योगदान गर्नुपर्ने आवश्यकता औंल्याए ।

समीक्षा बैठकमा राष्ट्रिय योजना आयोगको सचिवालय¸ अर्थ मन्त्रालय¸ वन तथा वातावरण मन्त्रालय¸ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत नेपाली सेनाका विभिन्न निर्देशनालयका प्रमुखहरूले आफ्ना भनाइ राखेका थिए । बैठकमा नेपाली सेनाका विभिन्न विभाग तथा निर्देशनालयका प्रमुखहरु¸ अर्थ मन्त्रालय¸ राष्ट्रिय योजना आयोगको सचिवालय¸ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायतका विभिन्न सरकारी निकायका वरिष्ठ प्रतिनिधिहरूका साथै मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?