नेप्से संचालक समितिको लापरवाहीका कारण लगानीकर्ताको सम्पत्ति बन्धकमा
सारांश
- काठमाडौं, ११ साउन ।
- नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिमा भइरहेको लापरवाहीका कारण नियमित काम प्रभावित भएको छ।
- नेप्सेमा भइरहेको लापरवाहीकै कारण लगानीकर्ताको सम्पत्ति समेत बन्धकमा परेको हो।
काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिमा भइरहेको लापरवाहीका कारण नियमित काम प्रभावित भएको छ। नेप्सेमा भइरहेको लापरवाहीकै कारण लगानीकर्ताको सम्पत्ति समेत बन्धकमा परेको हो। चालु आर्थिक वर्ष प्रारम्भ भएदेखि नै नेप्सेमा सूचीकरण लगायतका काम अड्किएका छन्। साउन लागेदेखिनै लागू गर्नुपर्ने विनियमावली लागु नहुँदा नेप्सेको नियमित काम प्रभावित भएको छ।
यसबाट विभिन्न कम्पनीले शेयर दोस्रो बजारमा कारोवारका लागि निवेदन दिएको भएपनि सूचीकृत हुन सकेका छैनन्। मिर्मिरे माइक्रोफाइनान्सले १ लाख ३८ हजार ६०० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गर्न निवेदन दिएको छ। सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५६४ कित्ता शेयर दोस्रो बजारमा सूचीकरणको पर्खाइमा छ। नाडेप लघुवित्तले ४ लाख ८० हजार कित्ता आर्इपिओ सूचिकरणका लागि नेप्सेमा निवेदन दिएको छ। तर, सूचीकृत हुन सकेको छैन।
दोस्रो बजारमा शेयर सूचिकृत नभएकै कारण करोडौं रुपैयाँ बराबरको लगानीकर्ताको सम्पत्ति बन्धकमा परेको हो। सूचीकृत मात्रै नभएर अन्य कामहरु पनि एक सातादेखि नियमित हुन सकिरहेको छैन। काम लिएर जाने कम्पनीका प्रतिनिधिलाई एक सातादेखि नेप्सेले केही दिनमा खबर गर्ने भन्दै फर्काउने गरेको छ। ‘नियम र बाध्यताले बाँधेका’ बाहेक अन्यलाई फर्काउने गरिएको नेप्से स्रोतले जनाएको छ। नाडेप लघुवित्तको आर्इपिओ पनि नेप्सेले सूचीकरण नगरी फर्काउने प्रयास गरेको थियो। तर, आर्इपिओलाई ७ दिनभित्र सूचीकृत गर्नुपर्ने व्यवस्थाका कारण बाध्यतावश कम्पनीको निवेदन दर्ता गरिएको छ। दोस्रो बजारमा सूचीकृत भने गरिएको छैन।
सूचीकरणका लागि आउने अन्य कम्पनीको हकमा नेप्सेले केही दिनदेखि निवेदन लिएको छैन। यस अघि नेप्सेले ुधितोपत्र सूचीकरण विनियमावली, २०५३ु तथा धितोपत्र बजारको सदस्यता तथा कारोवार विनियमावली,२०५५ु अन्तर्गत रहेका नियमित काम गर्दै आएको थियो। गत साउन १ गतेदेखि लागु हुने गरी ती विनियमावलीलाई विस्थापित गर्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ अनुसार नेप्सेको धितोपत्र सूचीकरण विनियमावली, २०७५ तथा ुधितोपत्र कारोवार संचालन विनियमावली, २०७५ लाई स्वीकृत गर्दै उक्त विनियमावली गत साउन १ गतेदेखि लागु गर्ने निर्णय गरेको थियो।
तर, बोर्डबाट स्वीकृत भइआएको उक्त विनियमावलीलाई नेप्सेले अझै लागू गर्न सकेको छैन। स्वीकृत भइआएको विनियमावली नेप्से व्यवस्थापनले संचालक समितिमा अवगत गराउनु पर्ने प्रावधान छ।
संचालक समितिले अवगत भएको जानकारी दिँदै कार्यान्वयनमा लैजान निर्देशन दिनुपर्छ। तर, संचालक समितिको बैठकनै नबसेका कारण उक्त विनियमावली लागु हुन नसकेको स्रोतको दावी छ। विनियमावलीसँगै नेपाल राष्ट्र बैंकले पठाएको मार्जिन ट्रेडिङ सम्बन्धी पत्रसमेत नेप्से व्यवस्थापनले बैठकमा पेस गर्न पाएको छैन। पुरानो विनियमावली विस्थापित भैसकेको र नयाँ विनियमावली लागू नभएको अवस्थाले नियमित काम गर्न नसकिएको नेप्से स्रोत बताएको छ। यतिखेर दोस्रो बजारमा भइरहेको कारोवार समेत अवैधानिक रहेको छ।
सत्ताधारी र विपक्षीको शक्ति प्रदर्शनले नेप्सेको काम प्रभावित भएको छ। उनीहरूकै कारण शेयर बजारको फ्रन्ट लाइन रेगुरलेटरु को रुपमा रहेको नेप्सेको कार्य सम्पादनमै समस्या देखिन थालेको छ। शुभदिनका अनुसार अर्थमन्त्रालयले असार २२ गतेको मन्त्रीस्तारिय निर्णय बमोजिम नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई बर्खास्त गरेको थियो। अर्को व्यवस्था नभएसम्मका लागि अर्थमन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका रुपमा रमेश अर्याललाई पठाएको थियो।
तर, अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न भन्दै अन्तरकालिन आदेश दिएको थियो। अन्तरकालिन आदेश पाएर नियमित काममा फर्केका साउदलाई प्रक्रिया नपुगेको भन्दै केही दिन हाजिर समेत गर्न दिइएको थिएन। सरकारले नियुक्त गरेको मान्छेले सरकारलाई जानकारी दिएर मात्रै हाजिर हुनुपर्ने तर्क अर्थ मन्त्रालयको थियो।पछि साउदले औपचारिक रुपमा सरकारलाई जानकारी गराए पछि उनी नियमित काममा फर्किएका थिए। नियमित काममा फर्किए पनि उनलाई सत्ता पक्षले पछिल्लो समय असहयोग गर्दै आएको छ, जसका कारण नियमित काम समेत प्रभावित हुन थालेको छ।
प्रतिक्रिया