भक्तपुर, १५ मंसिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यसपटकको निर्वाचनमा उम्मेदवारी नदिएपछि चर्चामा पुगेको भक्तपुर क्षेत्र नं १ मा नेमकिपाको किल्ला भत्काउने कसरतमा गठबन्धन लागेको छ ।
बलियो आधार किल्लाका रुपमा रहेको नेमकिपालाई आगामी २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा परास्त गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन ठूलै कसरतमा जुटेको छ । २०४८ सालदेखिको संसदीय एवं संविधानसभा निर्वाचनमा भारी मतान्तरका साथ नेमकिपाले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा यसपटकको निर्वाचनमा भने दुवै गठबन्धनले नेमकिपालाई परास्त गर्ने उद्घोष गरेका छन् ।
यस क्षेत्रमा नेमकिपा एक्लैले उम्मेदवारी दिएको छ भने लोकतान्त्रिक गठबन्धनमा काँग्रेसले राप्रपा (प्रजातान्त्रिक) सँग र वाम गठबन्धनमा माओवादी केन्द्रले एमालेको साथ लिएर प्रतिस्पर्धामा उत्रिएको छ । क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिनुभएको नेपाली काँग्रेसका बाबुराजा जोशीले नेमकिपाले २०३८ सालदेखि एकछत्र राज गरेर बनाएको किल्ला यसपल्टको निर्वाचनमा भत्किने दाबी गर्नुभयो ।
जोशीले भन्नुभयो– “नेमकिपाले भक्तपुर नगरपालिका भन्दा बाहिर आफ्नो क्षेत्र देख्दै देखेन, पर्यटकसँग उठाएको करोडाँै रकमले नगरभित्रको पर्यटकीय क्षेत्रमा मात्रै विकास गरेको छ, क्षेत्र नं १ को अरु क्षेत्रमा केही नगरेकाले त्यहाँका जनताको भोट यसपल्ट काँग्रेसलाई आउँछ, यसपल्ट काँग्रेसले बिजुक्छेजीको किल्ला ढाल्छ ।”
क्षेत्र नं १ अन्तर्गत पर्ने ताथली, सुडाल, वागेश्वरी, नगरकोट, छालिङ, चाँगु, दुवाकोट, झौखेलसँगै भक्तपुर नगरपालिकाभित्रका पनि धेरै ठाउँलाई नेमकिपाले फर्केर पनि नहेरेको उहाँको आरोप छ । उहाँले नगरकोटदेखि चाँगुनारायणसम्मलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने र राष्ट्रिय बजेट ल्याएर यस क्षेत्रको विकासमा लाग्ने अठोटका साथ आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका माओवादी केन्द्रका मिलन सुवालको पनि उस्तै आरोप छ । सुवालले भन्नुभयो– “यस क्षेत्रमा वर्षौंदेखि नेमकिपाले आफ्नो वर्चस्व कायम गर्दै आएको छ, तथापि जनताको भावनाअनुसार काम गर्न नसकेकाले नेमकिपालाई २१ गतेको निर्वाचनमा जनताले मतबाटै परास्त गरेर वाम गठबन्धनलाई विजयी गराउने छन् ।”
उहाँले वाम गठबन्धनले संयुक्त प्रतिबद्धतापत्र जारी गर्दै व्यवस्थित सडक, गाउँगाउँमा यातायातको पहुँच, व्यवस्थित शहर निर्माण, समृद्ध भक्तपुरको निर्माण, निःशुल्क शिक्षा, स्वास्थ्य, युवा रोजगारी, गाउँगाउँमा उद्योग, पर्यटनको विकास, खानेपानी, ढल, प्रत्येक नगरमा सुविधा सम्पन्न अस्पताल स्थापनाको एजेण्डा लिएर आएको बताउँदै जनताको चाहना पूरा गर्न वाम गठबन्धनले विजयी हासिल गर्ने दाबी गर्नुभयो ।
तर नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो पार्टीसँग कसैले प्रतिस्पर्धा गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले आफूले उम्मेदवारी दिनु र पार्टीले अरुलाई उम्मेदवारी बनाउनुमा कुनै फरक नपर्ने बताउँदै नेमकिपाको मत नघट्ने बताउनुभयो ।
नेमकिपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुभएका प्रेम सुवालले नेमकिपाको कोहीसँग प्रतिस्पर्धा नभएको जिकिर गर्दै नेमकिपालाई कसैले परास्त गर्न नसक्ने दाबी गर्नुभयो । लोकतान्त्रिक र वाम गठबन्धन सत्ताका लागि मात्र राजनीति गर्ने भनेर जनताले चिनिसकेका छन्, उहाँले भन्नुभयो –‘जनताको पक्षमा उभिने दल नेमकिपालाई जनताले मत दिएर विजय गराउँछ ।’
देशमा प्रजातन्त्र आएदेखि काँग्रेस, एमाले र माओवादीले आलोपालो सरकार चलाए पनि भक्तपुरको विकास गर्न नसकेको बताउँदै सुवालले भन्नुभयो–“नेमकिपाले भक्तपुरमा गरेको विकासजस्तै अरु दलले पनि विकास गरेको भए देश धेरै समृद्धि भइसक्थ्यो, नेमकिपाले सांसद कोषबाट ल्याएको बजेट गाउँगाउँको विकासमा लगाएको छ ।”
गरिब, किसान जनता र देशको पक्षमा आवाज उठाउने दल भएकाले जनताले यसपटक पनि नेमकिपालाई भारी मतको अन्तरले विजयी गराउने उहाँको भनाई छ ।
स्थानीय निर्वाचनको मतलाई विश्लेषण गर्दा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पनि भक्तपुरमा वाम गठबन्धन, नेपाल मजदुर किसान पार्टी र लोकतान्त्रिक गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । भक्तपुरमा दुईवटा प्रतिनिधिसभा क्षेत्र र चारवटा प्रदेशसभा क्षेत्र छन् । स्थानीय निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ मा ६६ हजार ८१० मत खसेको थियो ।
त्यसमध्ये क्षेत्र नम्बर १ मा मजदुर किसान पार्टीले ३० हजार १७२, लोकतान्त्रिक गठबन्धनले १९ हजार ५३६ र वाम गठबन्धनले १६ हजार ५६९ मत पाएका थिए । भक्तपुर र चाँगुनारायण नगरपालिका १ नम्बर क्षेत्रमा पर्छ भने मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका २ नम्बर क्षेत्रमा पर्छन् ।
Santosh Dahal
Kasto news ho ……byaktapur 1 ma bam gathabandan le ne ma ki pa sanga dhobi harne dar le umedbari nai diyan bhanna kina laja ko….aakhir fact yahi ho……2 no ma daman natha lai jitau hai ….gunda lai jitar kam xaina
Mohan Kayasta
So bad .