पत्रकार महासंघ अबदेखि प्रत्यक्ष निर्वाचनमा
सारांश
- काठमाडौं ।
- पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको पोखरामा भएको केन्द्रीय साधारणसभा, विधान अधिवेशनमा नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था सुनिश्चित भएको छ ।
- साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने गरी सर्वसम्मत विधान संशोधन गरेको हो ।
काठमाडौं । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको पोखरामा भएको केन्द्रीय साधारणसभा, विधान अधिवेशनमा नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था सुनिश्चित भएको छ । साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने गरी सर्वसम्मत विधान संशोधन गरेको हो ।
पोखरा सभागृहमा भएको बन्दसत्रले गरेको प्रस्तावमा सबै पत्रकारले सहमति जनाएपछि सर्वसम्मतले पास गरेको छ । महासंघ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै आगामी दिनमा केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन अब एकैदिन हुनेभएको छ । महासंघमा एक महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने निर्णय पनि गरिएको छ । एक महिला उपाध्यक्ष र एक महिला सदस्य थपिएसँगै पत्रकार महासङ्घ ४७ सदस्यीयबाट ४९ सदस्यीय हुने भएको छ भने महिला उपाध्यक्ष थपिएसँगै १२ सदस्यीय पदाधिकारी रहने छन् ।
पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्नेसहितको १७ बुँदे पोखरा घोषणापत्रमा नेपालको संविधानमा उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति र नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार कानून निर्माण गर्न तीनै तहका सरकारसँग माग गर्दै प्रेस स्वतन्त्रता सङ्कुचित पार्ने कुनै पनि किसिमका नीति, ऐन, कानून, नियमावली र निर्देशिका जारी नगर्न माग गरिएको छ ।
गत भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मलुकी देवानी तथा फौजदारी संहिता कार्यान्वयनको सम्बन्धमा गठित कार्यदलको सुझावअनुसार पूर्ण प्रेस स्वतन्त्रतासहित छुट्टै कानून यथाशीघ्र निर्माण गर्न माग गरिएको छ । लामो समयदेखि लोक कल्याणकारी विज्ञापन वृद्धि नभएकाले यसलाई दोब्बर बनाउन आग्रह गरिएको छ । त्यस्तै प्रेस पासको वितरण जिल्ला स्तरबाटै गर्न, सञ्चारमाध्यमको वर्गीकरण प्रदेशस्तरबाट गर्न र सामुदायिक तथा निजी क्षेत्रबाट सञ्चालित स्थानीय साना लगानीसँगै स्वरोजगारमूलक मिडिया प्रवद्र्धन गर्न स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली लागू गर्न माग गरिएको छ ।
प्रतिक्रिया