पप्पु भर्सेज सरकार: हुलाकी राजमार्गको काम ठप्प

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पप्पु भर्सेज सरकार: हुलाकी राजमार्गको काम ठप्प

सारांश

  • नेपालगञ्ज,  ११मंसिर।
  •   हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ ।
  • सरकार र पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको ‘सम्बन्ध’ बिग्रिदा बहुप्रतिक्षित हुलाकी राजमार्गको काम ठप्प भएको हो ।

नेपालगञ्ज,  ११मंसिर।  हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ । सरकार र पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको ‘सम्बन्ध’ बिग्रिदा बहुप्रतिक्षित हुलाकी राजमार्गको काम ठप्प भएको हो ।नेपालगञ्जदेखि कटकुइयासम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माणको ठेक्का पप्पुले पाएको थियो । ६० करोडको यो ठेक्का पप्पुले गणपति कन्ट्रक्सनलाई दिएको छ । गणपतिले यहाँ काम गरेपनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ ।

पप्पुले देशका अन्यत्र काम गर्दा गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ । सरकारले पैसा रोकेकाले पप्पुले गणपतिलाई दिन सकेको छैन । गणपतिले पनि पैसा नपाएको भन्दै काम रोकेको छ । सरकार र पप्पुको लडाईले गर्दा सदरमुकामसँग सडक सञ्जालमा जोडिने राप्तीपारीका बासिन्दाको सपना पर धकेलिदै गएको छ । हुलाकी सडकको २०७४ माघमा ठेक्का लागेको थियो । ठेक्का सम्झौता अनुसार, २०७६ साउनमा काम सक्नु पर्छ । गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले राज्यका कारण हुलाकी सडकको काम रोकिएको बताए । ‘जेठदेखि भुक्तानी पाएको छैन । कतै कतै अहिले पनि मुअब्जाको विवाद कायमै छ, ठेकेदार भण्डारीले भने, सरकारले अहिले पनि भुक्तानी दिने हो भने हामीले साउनसम्ममा काम सम्पन्न गर्छौ ।’

हुलाकी सडक कार्यालयका इन्जिनियर सुरेश चौधरीले पप्पुले विराटनगरमा बदमासी गरेकाले त्यो रकम यताबाट असुल्न पैसा रोकिएको बताए । पप्पुले विराटनगरको एक ठेक्कामा राख्नु पर्नेजति सेक्युरिटी रकम डिपोजिट नगरेकाले यहाँबाट असुल्ने गरी पत्र आएको छ । इन्जिनियर चौधरीका अनुसार, यो खण्डमा कल्भर्टको ७५ प्रतिशत काम सकिएको छ । ५९ वटा कल्भर्ट बनाउनु पर्नेमा ४४ वटा बनिसकेको छ । पप्पुले अहिलेसम्म ३० प्रतिशत रकम लगिसकेको छ । सरकार र पप्पुको लडाईले गर्दा जनता मारमा परेका छन् । मात्रै ४४ किलोमिटर टाढा रहेका नरैनापुरका बासिन्दालाई सडक राम्रो नहुँदा सदरमुकाम आउन दिनभरी लाग्छ ।

सरकार र पप्पुको विवादमा हुलाकी सडकलाई नपार्न जिल्लाका सांसदहरु लागि परेका छन् । सांसद महेश्वर गहतराजले सरकार र पप्पुको विवादले जनता पिल्सिन नहुने बताए । ‘धान खाने मुसा, चोट पाउने भ्यागुता हुनुहुँदैन, सांसद गहतराजले भने, सरकारले जति भन्दा छिटो गाँठो फुकाएर कामलाई अगाडि बढाउनु पर्छ ।’ नरैनापुर गाउँपालिकाका प्रमुख मो. इस्तियाक अहमद साहले हुलाकीको काम छिटो सुचारु गर्न माग गरे । ‘माथिको के विवाद हामीलाई मतलव छैन, हाम्रो यहाँ काम रोकिनु भएन, गाउँपालिका प्रमुख साहले सांसद, हुलाकी कार्यालय र ठेकेदारलाई अगाडि राखेर भने, छिटो काम थाल्नुस् ।’ प्रमुख जिल्ला अधिकारीको संयोजनमा सांसद, कार्यालय प्रमुखदेखि हुलाकीका ठेकेदारसम्म नरैनापुर पुगेका थिए । त्यहाँका जनताले सबैसँग हुलाकीको काम रोकिएको आक्रोश पोखे । स्थानीय मुस्ताक अहमदले प्रश्न गरे, बल्ल बल्ल अगाडि बढेको हुलाकीको काम पनि रोकियो ?
भारत सरकारले निर्माण गरिदिने भन्दै वर्षौसम्म हुलाकीको काम अगाडि बढ्न दिएन ।

सन् २००७ मा भारतले हुलाकी बनाउने सम्झौता गर्‍यो । सन् २०१० मा आएर काम शुरु गर्‍यो । ५ वर्षमा ५ प्रतिशत पनि काम नगरेर भारतीय ठेकेदार फरार भए । त्यसपछि बल्ल सरकारले हुलाकीको काम अगाडि बढाएको थियो । यी सबै घटनाक्रम हेरिरहेका राप्तीपारीका स्थानीयले शुरु भएको काम रोकिदा फेरि काम अलपत्र पर्ने हो कि भन्ने चिन्ता गरेका छन् । हुलाकी सडक नबन्दा अहिलेसम्म राप्तीपारीको जनता सदरमुकामसँग जोडिन सकेका छैनन् । सडक नहुँदा बघौडा क्षेत्र जिल्लाको कर्णाली भनेर चिनिन्छ । भारतसँग सीमा जोडिएका नरैनापुरवासी धेरै कारोबार भारततिर नै हुने गरेको छ ।

(stocktargetadvisor.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?