पाण्डेको खुलासा: सर्वसम्मतको प्रस्ताव आएपछि आफ्नो नेतृत्वको प्यानल घोषणा रोकियो
सारांश
- काठमाडौं, पुस २० ।
- नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को निर्वाचन नजिकिदैँ गर्दा सर्वसम्मत नेतृत्वका लागि अन्तिम प्रयास भइरहेको छ ।
- यसैबीच, अध्यक्षका आकांक्षी सिएन पाण्डेले आफ्नो नाममा सर्वसम्मत हुन लागेको र कथमकदाचित सर्वसम्मत हुन नसके निर्वाचनमा दुई तिहाई मतका साथ जित्ने दाबी गरे ।
काठमाडौं, पुस २० । नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को निर्वाचन नजिकिदैँ गर्दा सर्वसम्मत नेतृत्वका लागि अन्तिम प्रयास भइरहेको छ । यसैबीच, अध्यक्षका आकांक्षी सिएन पाण्डेले आफ्नो नाममा सर्वसम्मत हुन लागेको र कथमकदाचित सर्वसम्मत हुन नसके निर्वाचनमा दुई तिहाई मतका साथ जित्ने दाबी गरे ।
विहिबार बिहान पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर पाण्डले ‘आफ्नो नेतृत्वको प्यानल घोषणा गर्ने कार्यक्रमको तयारी गर्दैगर्दा सर्वसम्मति गरौं’ भन्ने प्रस्ताव आएपछि त्यो कार्यक्रम रोकेको खुलासा गर्दै अहिले आफू त्यसको नतिजाको पर्खाइमा रहेको बताए ।
राजनीति भन्दामाथि उठेर नाट्टामा आफूले व्यवसायिक नेतृत्व गर्न चाहेको बताउँदै सोही अनुरुप विविध विचार आस्थासम्बद्ध सबै पक्षले आफूलाई साथ दिने ठोकुवासमेत उनले गरे । आफू सर्वसम्मत नेतृत्वको पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘जित्नकै लागि हो भने त चुनावमा जाँदा पनि म हण्डे«ड पर्सेन्ट जित्छु । यसमा कुनै दुविधा छैन तर, हार्ने र जित्ने भन्दा पनि मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास र व्यवसायिक एकताको सवाल छ । त्यसैले सर्वसम्मत नेतृत्वका लागि म दृढ छु ।’
आफू मुल नेतृत्वमा नभएपनि नाट्टामार्फत व्यवसायीहरुको हकहित तथा पर्यटन प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । यो निर्वाचन आफ्नो लागि अन्तिम भएको पनि सोही कार्यक्रममार्फत पाण्डेले उद्घोष गरे ।
राजनीतिक आस्था सबैको आ–आफ्नै भएपनि आफू व्यवसायी भएको भन्दै उनले आफूले सबै व्यवसायीसँग सहकार्य गर्दै व्यवसायीक टिमलाई समेटेर नाट्टाको नेतृत्व लिने बताए । मुलुकको पर्यटन प्रवद्र्धन, आम व्यवसायीहरुको समस्या समाधान गर्दै ५० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप काम गर्ने पनि पाण्डेले बताए ।
नाट्टाको ५१औं वार्षिक साधारण सभासँगै हुने निर्वाचन मिति आँउदो पुस २८ गतेका लागि घोषणा गरिएको छ । ३ वटा क्षेत्रीय संघ तथा एक वटा शाखा रहेको नाट्टाको निर्वाचनका लागि अहिले ४६७ सदस्य मतदाता रहेका छन् ।
प्रतिक्रिया