पार्टीलाई पानीजस्तो गरी बहुमत वर्षेको होइन : प्रम ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताएका छन् ।
- प्रधानमन्त्री ओलीले नेकपाको प्रदेश ३ कमिटीका पदाधिकारीको सपथ ग्रहण तथा प्रथम बैठकमा बोल्दै नेतृत्वले कसैलाई काखा र पाखा नगर्ने स्पष्ट पारे ।
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको प्रदेश ३ कमिटीका पदाधिकारीको सपथ ग्रहण तथा प्रथम बैठकमा बोल्दै नेतृत्वले कसैलाई काखा र पाखा नगर्ने स्पष्ट पारे ।
“दुई पार्टीको एकताको अर्थ यो हो कि हामीमा गुट उपगुट छैनन् हामी वैचारिक रुपमा स्पष्ट र सांगठनिक रुपमा बलियो पार्टी हौं । त्यसैले यहाँ अन्तकुन्तरबाट गुट सञ्चालन गरेर पार्टीलाई कमजोर र कार्यकर्तालाई अन्यौल पार्ने काम कसैले पनि गर्नु हुँदैन,” प्रधानमन्त्री ओलीको भनाई छ, “पार्टी कमजोर हुँदा नेताहरु कोही जेलमा थियौं, कोही भूमिगत अवस्थामा थियौं । तर सवल हुँदा हामी सरकारमा छौं । त्यसकारण पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्दछ ।”
प्रधानमन्त्री ओलीले नेकपाको एकता भवितव्य नभएको बताए । लामो बहस, छलफल र देशप्रतिको जिम्मेवारीका कारण पार्टी एकता सम्भव भएको स्पष्ट पारे । “नेकपा भवितव्य भएर ठूलो पार्टी भएको होइन, पानी वर्षे जसरी बहुमत वर्षेको होइन” प्रधानमन्त्री ओलीले भने, “यसमा जनताको विश्वास, पार्टीको दृष्टिकोण र देश बनाउने प्रतिवद्धतालाई जनताले अनुमोदन गरेका हुन् ।”
वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको मात्र नभइ सरकार भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “विगतमा हामीले कम्युनिष्ट नेतृत्वको सरकार मात्र बनाउन सक्यौं तर अहिले नेतत्व मात्र होइन सरकार नै कम्युनिष्ट पार्टीको छ । त्यस कारण हामीले चुनावमा गरेको प्रतिवद्धता अनुसार जनताको पक्षमा काम गर्छौं ।”
प्रधानमन्त्री ओलीले पार्टी एकताको काममा केही ढिलाइ भए पनि अब प्रतिक्षाको घडी सकिएको बताउनुभएको छ । “पार्टी एकताका लागि केही बिलम्ब भएकै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब प्रतिक्षाको घडी सकिएको छ । चाँडै तल्ला तहका कमिटीको एकताले पनि पूर्णता पाउनेछ ।”
प्रतिक्रिया