पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
सारांश
- काठमाडौं ।
- युरोपियन उपाधि जित्न नसकेपछि फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले क्लब छाड्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ ।
- फ्रेन्च मिडियाले यो सिजनको अन्त्यसँगै नेइमार क्लब छाड्ने मुडमा पुगेका छन् ।
काठमाडौं । युरोपियन उपाधि जित्न नसकेपछि फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमारले क्लब छाड्ने तयारी गरेको रिपोर्ट बाहिरिएको छ । फ्रेन्च मिडियाले यो सिजनको अन्त्यसँगै नेइमार क्लब छाड्ने मुडमा पुगेका छन् ।
पिएसजीले नेइमारलाई २ वर्षअघि स्पेनिस बार्सिलोनाबाट विश्वकीर्तिमानी २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो । क्लबलाई युरोपियन उपाधि जिताउन पिएसजीले दुनियाँलाई चकित पार्दै मोटो रकम खर्चेर नेइमारलाई भित्र्याएको थियो ।
तर, नेइमारको आगमनपछि पनि पिएसजीले लगातार दुई सिजन च्याम्पियन्स लिग उपाधि जित्न सकेन । नेइमार गएपछि पहिलो सिजन उसलाई अन्तिम १६ मा स्पेनिस रियल मड्रिडले निराश बनायो भने यो सिजन अन्तिम १६ मै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले हरायो ।
हाल पिएसजीमा दोस्रो सिजन बिताउँदै गरेका नेइमार दुई वर्ष लगातार ठूला उपाधिविहीन भएपछि पिएसजीमा आफू असफल भएको ठानेका छन् । जुन उद्देश्यसाथ उनी बार्सिलोना छाडेर पिएसजी पुगेका थिए, ती कुरा उनले पाउन सकेनन् ।
बरु, दुई वर्षको बीच नेइमार अक्सर अलोचित र विवादित बने । उनी लामो समय चोटबाट गुज्रिँदा उनको करिअरमा घाटा पुग्यो । दुई वर्षको अवधिमा आलोचना, विवाद, चोट र प्रतिबन्धले गाँजिएका ब्राजिलियन स्टारले यो सिजनपछि पेरिस छाड्ने तयारी गरेको बताइन्छ ।
नेइमारलाई स्पेनिस रियल मड्रिडले गत सिजनबाटै भित्र्याउन चाहेको छ । अझै पनि रियल नेइमार भित्र्याउने दौडमै छ । तर, नेइमारले रियल रोज्छन् वा अन्य क्लब, त्यो उनकै हातको कुरा हो ।
कतिपयले नेइमारले बार्सिलोना छाड्नुको औचित्य पूरा गर्न ठूला उपाधि जित्नुपर्ने र त्यसका लागि रियल नै सबैभन्दा सही क्लब भएको बताउँदै आएका छन् । तर, विगतमा ४ वर्ष बार्सिलोनामा कहलिएर बसेका नेइमारलाई बार्सिलोनाको कट्टर प्रतिस्पर्धी क्लबमा अनुबन्ध हुन नैतिक रूपमा केही असहज हुनसक्छ ।
केही समयअघि उनले ‘हरेक उत्कृष्ट खेलाडीले जीवनमा एकपटक प्रिमियर लिगबाट फुटबल खेल्नुपर्ने’ बताएर भविष्यमा आफू पनि इंग्ल्यान्ड जान सक्ने संकेत दिएका थिए । केही समयअघि मात्रै इंग्लिस टिम म्यानचेस्टर सिटीले नेइमार भित्र्याउन चाहेको रिपोर्ट बाहिरिएको थियो ।
अल्लिो दिन मात्रै लिग वानमा तीन खेलको प्रतिबन्धमा परेका नेइमारका लागि जारी सिजन औपचारिक रूपमै सकिएको छ । उनले अब यो सिजन पिएसजीका लागि खेल्न बाँकी खेल छैन । उनीमाथि अर्को सिजन युरोपियन च्याम्पियन्स लिगमा पनि तीन खेलमा प्रतिबन्ध लागेको छ ।
नेइमारले पिएसजीका लागि हालसम्म ५७ खेलबाट कूल ५० गोल गरेका छन् । त्यस दौरान उनले दुवै वर्ष लिग वानको उपाधि जितेका छन् ।
प्रतिक्रिया