प्रधानमन्त्रीलाई डा. संग्रौलाले दिए यस्तो सुझाव : ‘हाम्रा परिवार एनजिओले भत्काइसके, एकनाथजस्ता असफल पार्न उद्दत छन्’
सारांश
- सम्मानीय प्रधानमन्त्री ज्यू, दश दिनदेखि गाउँतिर विद्यार्थीसँग अध्ययन अध्यापनका क्रममा बस्दा जनता निराश हुन थालेको पाएँ ।
- सोझा जनताले तल लेखेका कुराहरु प्रधानमन्त्रीलाई तपाईंले भनिदिनुहोस भनेका हुँदा, सामजिक सन्जालमा सूत्रबद्ध गरेको हुँ ।
- सञ्चार क्षेत्रलाई पनि अनुरोध गर्द्छु ।
सम्मानीय प्रधानमन्त्री ज्यू,
दश दिनदेखि गाउँतिर विद्यार्थीसँग अध्ययन अध्यापनका क्रममा बस्दा जनता निराश हुन थालेको पाएँ । सोझा जनताले तल लेखेका कुराहरु प्रधानमन्त्रीलाई तपाईंले भनिदिनुहोस भनेका हुँदा, सामजिक सन्जालमा सूत्रबद्ध गरेको हुँ । सञ्चार क्षेत्रलाई पनि अनुरोध गर्द्छु ।
१. जनताको चाहाना विकास हो । जनता उत्पादनको सीप, असल बीउ, सिचाइको सुविधा र मलको एथोचित ब्यवस्था चाहन्छन । उनीहरुको आफना स्थानीय जनप्रतिनिधि माथि भरोसा भएको पाएँ । तर, स्थानीय तहमा क्रियाशील सरकारलाई केन्द्रका कर्मचारीले कज्जाएको मात्रै होइन उल्लु बनाएको पाएँ । स्थानीय तहलाई काम गर्नसक्ने अवस्थाको सिर्जना गरिदिनुहोस् ।
२. कृषि हाम्रो राष्ट्रिय अर्थतन्त्रको आधार हो । सन् १९९४ सम्म हामी अन्न बेच्ने देशमा थियौं । तर, २००२ मा हामीले ८ अर्बको खाद्यान्न आयात गर्यौं । सन् २०१७ सम्ममा हामीले १ खर्ब ८ अर्बको खाद्यान्न आयात गरेछौं । गाउँघरका जमिन बाँझा छन् । राम्रा उत्पादनशील जमिनजति सबै माफियाले प्लटिङ्ग गरिसकेछन् । बस्तीलाई व्यवस्थित गरी पहाडहरु खाली गरी बाख्रा भेंडा र अन्य मासुयोग्य पशुपालनको विकास गर्न सके अरबौंको आयात प्रतिस्थापन गर्न सकिन्छ भन्छन् ग्रामीण जनता । पहिला कृषिमा जनताको उत्पादकत्व विकास गरौं । बैकबाट ऋण लैजाउ भनेर देश विकास हुँदैन । सरकारले पहिला बजार विकास गर्नुपर्छ । उत्पादनलाई बजार पुर्याउन सजिलो र भरोसायुक्त सडक सन्जाल निर्माण गर्नुपर्छ । पहाडमा डोजरले खोतलेर सक्नलागे । यो पैसा ठुल्ठुला सडक निर्माणमा लगाऊँ । एकपटक निर्माणको महौल तयार भएपछि नाजायज बिरोध गर्नेहरु दुलामा पस्नेछन् ।
३. समाजवादी व्यवस्थाले नवउदारवाद बोक्न सक्तैन । जनताको विकासमा चीनले सबैभन्दा पहिला विवाह कानुनको सुधार गर्यो । पतिपत्नी दुवैलाई समान ब्यक्ति बनायो लोग्ने मानिस र स्वास्नी मानिस होइन । मजबुत परिवार मात्र समाजको भरपर्दो इकाइ हो । परिवार दह्रो भएन भने समाज रोगी हुन्छ । अहिलेको नेपाली समाज रोगी छ । कुरौटे र निरासावादी छ । त्यसमा पनि पश्चिमी हावा भरेर हाम्रा परिवारहरु एनजिओले भत्काइसके ।
चीनले गरेको दोस्रो सुधार थियो जमिनको व्यवस्थापन । जमिनलाई उत्पादनशील नबनाइ राष्ट्रको स्वास्थ राम्रो हुँदैन । हामीले त मानिसलाई कुर्कुरे, बियर र रक्सी बेच्ने बनायौं । खेती होइन सडकमा कोक, पेप्सी, रक्सी, बियर, कुर्कुरे बेच्ने जनताबाट कसरी राष्ट्रलाई उत्पादनमुखी बनाउन सकिन्छ?
चौथो सुधार थियो स्वास्थको । सरकारले खेल्कुदद्वारा नागरिकलाई स्वस्थ बनायो ।
पाचौं सुधार थियो शिक्षाको । शिक्षा राज्यले आफ्नो जिम्मामा लियो । हाम्रोमा त स्कुल देखि नै विदेश जान प्रेरित गर्छौं । शिक्षा व्यापार बनेको छ । २०२८ साल देखि नै हाम्रो शिक्षा विदेशीको नियन्त्रणमा गयो । त्यसपछि हाम्रो शिक्षाको नीति सधैं विदेशीले बनाउँदै आएका छन् । २०१७ मा ४५ हजार विद्यार्थी विदेश गएर उनीहरुले पचास अरबको हाराहारीमा नेपालको धन विदेश लगे । विदेशीलाइ नेपालमा ल्याएर शिक्षाको प्रदर्शनी गर्ने र त्यहीबाट नेपाली विद्यार्थी विदेश पठाउने व्यापारीको संख्या सानो छैन । यी सुधार नगरी देश अगाडि बढ्दैन ।
४. १० बर्षमा सरकारले ५४ अरबका गाडी किनेछ । गरिबको शिक्षा स्वास्थ र उत्पादकत्व विकास नगरी देश विकास हुँदैन ।
५. प्रधानमन्त्री ज्यू, नेपालका नवउदारवादी अर्थशाश्त्रीयका हिसाबीय जादुले देशलाई ठग्नुसम्म ठ्ग्यो । धनीको पैसा कागजमा गरिबलाई बाँडेर नेपालमा गरिबी घटेर १८ प्रतिशतमा झर्यो भन्ने कुरा उल्लु कुरा मात्र हो । नेपालमा ८० प्रतिशत मानिस गरिब छन् । त्यसैले निजीकरणको दुहाइले नेपाली जनताको उत्पादकत्व बढ्दैन । सुँगुरको पाठो दिएर गरिब धनी हुँदैन । गरिबलाई उत्पादनमा लगाउनुपर्छ । उसलाई उत्पादनको सीप दिनु पर्छ । उत्पादन गर्ने साधन दिनुपर्छ । बजारको निर्माण गर्नुपर्छ र यातायातको सन्जाल निर्माण गर्नुपर्छ ।
५. धन र आम्दानीमा भेदभाव ठूलो छ नेपालमा । माथिका धनी १० प्रतिशतले करिब ५५ प्रतिशत आम्दानी एकलौटी खान्छन् ।
प्रधानमन्त्रीज्यु, गरिब बाँच्न कर तिर्छ । दुई रोपनीमा दुई मुरी कोदो फलाएर दुइ महिना खोले खान्छ र बनी गरेर मालपोत तिर्छ । उसले तिरेको करबाट कर्मचारी र नेता गाडी चढ्छ्न । चढुन तर गरिबको उत्पादकता त निर्माण गर्नुपर्यो नि । तलका गरिबको खर्च गर्ने क्षमता बर्षमा १८ हजार मात्र छ । कसरी बाँच्छ होला एउटा गरिब मासिक १ हजार ५ सयमा ?
६. हाम्रो संविधानले लक्ष्य त समाजवाद हो भन्यो, तर हामी समाजवादतिर गैरहेका छैनौं । हामी ऐले पनि नवउदारवादको चंगुलमा नै छौं ।
७. प्रान्तीय सरकारलाई संघका कर्मचारीले उल्लु बनाएका छन् । बिना काम खर्च गर्न प्रान्तीय सरकार बाध्य भएका छन् । मेरो हार्दिक अनुरोध छ । नेपाली जनतालाई अभावबाट निकाल्नुहोस् । देशको सम्पूर्ण बौद्धिकतालाई देशको सेवामा उत्रिने मौका दिनुहोस् । विश्व बैंकको मोडल फेल भैसक्यो । नयाँ मोडलको खोजी गर्न दिनुहोस् । साँगुरो घेराबाट बृहद घेरातिर जानुको विकल्प छैन । अब पनि देश आर्थिक समृद्धिको बाटोमा जान सकेन भने नेपाललाई विदेशीले असफल राष्ट्र बनाउनेछन् । एकनाथजस्ता मानिसहरु तपाईहरुलाई असफल पार्न उद्दत छन् । तपाईहरुको हित चाहने भए त यी पनि बामपन्थी भएर काम गरिहाल्थे नि ।
यी आम जनताले भनेका कुरा हुन् । मैले मिलाएर लेखेको मात्र हो । संग्रौलाको फेसबुकबाट
प्रतिक्रिया