प्रहरी पक्राउ गर्न आएपछि पेरुका पूर्वराष्ट्रपतिद्वारा आत्महत्या
सारांश
- पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।
- आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्याइएको थियो।
- बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।
आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्याइएको थियो। बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।
घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए। प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोकेका थिए।
गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लाग्दै आएको थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आएका थिए।
गार्सियाले सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए।
उनको निवासमा के भयो?
घुस लिएको आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरूलाई पठाइएको थियो।
पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताए अनुसार उनको निवासमा प्रहरी पुग्दा फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए।
त्यसको केही मिनेटमा गोली चलेको आवाज आयो। प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए।
त्यसपछि लिमास्थित एउटा अस्पताल पुर्याइयो जहाँ उनको शल्यक्रिया भयो, तर उनी बाँच्न सकेनन्।
वर्तमान राष्ट्रपति भिस्काराले एउटा ट्वीट गर्दै पूर्वराष्ट्रपतिको निधनको खबरले आफू “स्तब्ध” भएको बताएका छन् र उनका परिवारलाई समवेदना प्रकट गरेका छन्।
के आरोप लागेको थियो?
आफ्नो दोस्रो कार्यकालमा राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित ओडुब्रेस्ट कम्पनीबाट उनले घुस लिएको अनुसन्धानकर्ताहरू बताउँछन्।
ओडुब्रेस्टले सन् २००४ यता पेरुमा ३ करोड डलर उनलाई घुस दिएको स्वीकारेको छ।
तर गार्सियाले आफू राजनीतिक पूर्वाग्रहको शिकार भएको बताउँदै आएका थिए। मङ्गलवार एउटा ट्वीट गर्दै उनले आफूविरुद्ध “कुनै प्रमाण नरहेको” बताएका थिए।
गत वर्षको नोभेम्बरमा उरुग्वेमा राजनीतिक शरणका लागि उनले असफल प्रयास गरेका थिए। बिबिसीबाट
प्रतिक्रिया