फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?

सारांश

  • सामान्यतया जोसँग उमेर, गन्तव्य र गति हुन्छ, त्यस्ता मानिसको भविष्यबारे अनुमान र विश्लेषण गर्ने गरिन्छ ।
  • तर, यहाँ उमेरले साढे सात दशक पूरा गरेका, विगत २६ वर्षदेखि निरन्तर सत्ताकेन्द्रमा रहेका र चारपटक प्रधानमन्त्री बनिसकेका व्यक्तिको भविष्य वर्णन गर्ने प्रयास गरिएको छ, जुन आफैँमा एउटा जटिल विषय-सन्दर्भ हो ।
  • शेरबहादुर देउवा, जसले जीवनको एउटा चरण दुःख, सङ्घर्ष र अभावको स्थितिबाट गुजार्नुपरेको थियो ।

सामान्यतया जोसँग उमेर, गन्तव्य र गति हुन्छ, त्यस्ता मानिसको भविष्यबारे अनुमान र विश्लेषण गर्ने गरिन्छ । तर, यहाँ उमेरले साढे सात दशक पूरा गरेका, विगत २६ वर्षदेखि निरन्तर सत्ताकेन्द्रमा रहेका र चारपटक प्रधानमन्त्री बनिसकेका व्यक्तिको भविष्य वर्णन गर्ने प्रयास गरिएको छ, जुन आफैँमा एउटा जटिल विषय-सन्दर्भ हो । शेरबहादुर देउवा, जसले जीवनको एउटा चरण दुःख, सङ्घर्ष र अभावको स्थितिबाट गुजार्नुपरेको थियो । ०४८ मा गृहमन्त्रीको हैसियतमा पहिलोपटक सत्तारुढ भएयता देउवाले एकपटक भ्रष्टाचारको आरोपमा थुनामा परेका बेलाबाहेक असुविधाको सामना कहिल्यै गर्नुपरेको छैन ।

यद्यपि, राजनीति उनको वरिपरि कहिल्यै घुमेन, हरेकपटक प्रधानमन्त्री बनेको समयमा पनि राजनीतिको केन्द्रबिन्दुमा अरू नै कोही हुन्थे । पहिलोपटक प्रधानमन्त्री बन्दा (२०५२) राजनीतिक केन्द्रमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला थिए र कोइरालाले नचाहँदा असमयमै उनको सरकार विस्थापित भएको थियो । दोस्रोपटक प्रधानमन्त्री बनेको समय (२०५८)मा माओवादीको हिंसात्मक क्रियाकलापले नेपाली राजनीतिलाई थिलथिलो बनाएको र राजनीतिको केन्द्रबिन्दुमा फेरि पनि गिरिजाप्रसाद कोइराला र त्यसै वर्ष श्री ५ महाराजाधिराज बनेका ज्ञानेन्द्र वीरविक्रम शाह थिए । कोइरालाले पद त्याग गरेका कारण प्रधानमन्त्री बन्ने मौका पाएका देउवाले उनकै कारण अनेकौँ सङ्कटको सामना गर्नुपऱ्यो र अन्त्यमा कोइरालाको विशेष योजनामा सर्वपक्षीय बैठकमार्फत तात्कालिक राजालाई संविधानको धारा १२७ अनुरूप बाधा–अडकाउ फुकाउने विशेष अधिकार दिएपछि राजाबाट सोही अधिकार प्रयोग गरी ०५९ असोज १८ गते शेरबहादुरलाई पदबाट बर्खास्त गरिएको थियो ।

तेस्रोपटक (२०६१ जेठ) प्रधानमन्त्री बनेका बेला राजनीतिको केन्द्र भागमा राजा ज्ञानेन्द्र थिए, राजापछि कसैको चर्चा हुन्थ्यो भने ती गिरिजाप्रसाद थिए । ‘गोर्खाका राजाबाट न्याय मिलेको’ भन्दै मनोनीत प्रधानमन्त्री बनेका देउवा यसपटक पनि राजनीतिको केन्द्रबिन्दुमा थिएनन्, राजा र गिरिजाप्रसाद कोइरालाकै वरिपरि नेपाली राजनीति घुमिरहेको महसुस गरिन्थ्यो । चौथोपटक (२०७४) प्रधानमन्त्री बन्दा पनि देउवा नभई केन्द्रबिन्दुमा केपी ओली थिए र तेस्रो पक्षको भूमिका ‘निर्णायक’ रहने गणितीय वास्तविकताले प्रचण्ड बरु केन्द्रीय भूमिकामा रहेको देखिन्थ्यो । चुनावी परिणामले उनलाई झनै किनारमा पुऱ्याएको छ ।

काङ्ग्रेस संसदीय दलका नेताको प्राविधिक हैसियतमा रहे पनि अब देउवा राजनीतिको केन्द्रबिन्दुमा रहन सक्ने सम्भावना चिरकालका लागि अन्त्य भएको छ । आफैँले आफ्नो भूमिका स्थापित गरेर देशको राजनीतिक नेतृत्व लिने क्षमता देउवाबाट कहिल्यै प्रकट भएको थिएन र उनीबाट मुलुक, जनता, काङ्ग्रेस पार्टी तथा स्वयम् उनका हितैषीहरूले समेत केही आशा गर्नुपर्ने देखिँदैन । नेपालको इतिहासमा तदर्थकालीन समयमा रंगनाथ पौडेल, नगेन्द्रप्रसाद रिजाल र खिलराजहरू तथा भारतमा लालबहादुर शास्त्री, डोडेगौडा देवेगैडा, आईके गुजराल र चन्द्र शेखरहरूलाई जसरी देशको कार्यकारी प्रमुख बन्ने स्थितिमा पु¥याएको थियो, देउवा त्यसैगरी पटक–पटक प्रधानमन्त्री बन्न पुगेका हुन् । देशको आवश्यकताले र आफ्नै गतिशीलता एवम् कार्यक्षमताले बनेका मानिस देउवा होइनन् । त्यसैले उनीबाट कुनै अपेक्षा पनि राखिएको हुन्न ।

शेरबहादुर देउवाको भूमिका जहिले पनि प्रतिक्रियात्मक रहन्छ । आफूलाई सत्ताको केन्द्र भागमा पुऱ्याउन र पुगिसकेपछि जोसुकैसँगै जस्तासुकै सम्झौता गर्न तयार हुने, तर उनले गरेका सम्झौताले देशको राजनीतिक, सामाजिक र आर्थिक कुनै पनि क्षेत्रलाई परिणामदायी प्रभाव नपार्ने तथ्य विगतले पुष्टि गरेको छ । देउवाबाट मुलुकलाई कुनै योगदान पुग्न सक्ने भ्रम कसैमा बाँकी थियो भने पनि यसपटकदेखि समाप्त भएको हुनुपर्छ । भ्रष्टाचार र सत्तालिप्साको उदाहरणीय कालका रूपमा देउवाको पछिल्लो कार्यकाललाई लिइन्छ । ठीक समयमा सही निर्णय लिएर लोकप्रिय बन्न सकेनन्, त्यो उनको क्षमताभन्दा टाढाको कुरा हो भन्न सकिन्छ । लोकप्रिय निर्णयहरू गरेर झनै अलोकप्रिय बन्ने व्यक्तिको रूपमा पनि देउवा नै दृष्टान्त बनेका छन् । निर्वाचनपछि देउवाले सरकार प्रमुखका रूपमा जे–जस्ता भूमिका निर्वाह गरे र जुनप्रकारका निर्णय उनले लिए, तीमध्ये अधिकांश देशलाई दीर्घकालिक रूपमा क्षति पुऱ्याउने प्रकारका छन् ।

पाँच वर्षको लागि भएको आमनिर्वाचनमा देउवा नेतृत्वको काङ्ग्रेसले व्यहोर्नुपरेको पराजयलाई हेर्दा आगामी पाँच वर्ष देउवा सत्तारुढ हुन सक्ने अवस्थामा छैनन् भन्नुपर्ने हुन्छ । पाँच वर्षपछि देउवाको उमेर असीको हाराहारीमा हुनेछ । आरजु राणाले सङ्ग्रह गरेको धनको पहाड नै अर्पण गरे पनि असी वर्षीय देउवालाई कुनै भगवानले लोकप्रिय, क्रियाशील र प्रभावकारी नेताका रूपमा स्थापित गर्न असम्भव छ ।

सङ्घीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक, गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न संविधान जारी गराउने पार्टीको एकलौटी नेता बनेका नेता शेरबहादुर देउवाले आफैँ प्रधानमन्त्री भएर गराएको सङ्घीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक, लोकतन्त्रको पहिलो निर्वाचनमा प्रत्यक्षतर्फ काङ्ग्रेस तेस्रो बन्न पुग्यो, यो इतिहासले बिर्सने विषय होइन । चुनावमा पराजित भइसकेपछि दर्जनौँ लोकप्रिय निर्णय गरेर पनि लोकप्रिय बन्नुको सट्टा आलोचनाको केन्द्र बन्ने नेताका रूपमा देउवालाई बिर्सन सकिँदैन । राजाको भूमिका बढ्दा राजासँग सीमाहीन सम्झौता गर्ने र माओवादी बलियो भूमिकामा देखापर्दा उसैलाई ‘सर्वस्व’ सुम्पने नेताका रूपमा पनि अर्का कुनै नालायक नेताको उदय नभएसम्मका लागि देउवालाई नै स्मरण गरिन्छ ।

नेपालको इतिहासमा पत्नीलाई अघि लगाएर राज्यको साधन र स्रोतमा सर्वाधिक लामो हात गर्ने व्यक्ति शेरबहादुर देउवा भएका छन् । राजा वीरेन्द्रको शासनकाल (पञ्चायत) मा उनकी पत्नी ऐश्वर्य, बाबुरामको कार्यकालमा हिसिला र गिरिजाप्रसाद कोइरालाको समयमा सुपुत्री सुजाता आफ्नो क्रियाकलापका कारण जुनस्तरमा बद्नाम थिए, त्यसभन्दा हजारौँ गुणा बद्नामी देउवापत्नीले ‘आर्जन’ गरेकी छिन् । राज्यका स्रोत साधनहरूको उच्चतम दोहोन गर्न पत्नीलाई छाडा छोड्ने व्यक्तिका रूपमा पनि देउवालाई भविष्यसम्म स्मरण गरिरहनुपर्ने स्थिति छ । सत्ताका लागि सिद्धान्त छोड्ने र जोसँग जस्तोसुकै सम्झौता गर्ने गिरिजाप्रसाद कोइरालाकै हाराहारीका व्यक्तिका रूपमा समेत देउवाको सम्झना भइरहन सक्छ ।

सत्ता बचाउन सांसदलाई सीमाहीन सुविधा उपलब्ध गराउने र प्रहरीसँग समेत दिउँसोको समयमा लड्न नसक्ने माओवादीलाई युद्धविराममार्फत शक्ति सञ्चयको मौका दिएर राष्ट्रिय सेनासँग भिड्न सक्ने हैसियतमा पुऱ्याउने कार्यका लागि पनि देउवाको स्मरण भइरहन सक्छ । कुनै पनि गलत निर्णय र नकारात्मक परिणामको नैतिक जिम्मेवारी कहिल्यै बोध नगर्ने व्यक्तिको सम्झना गर्नुपऱ्यो भने देउवाबाहेक अरू कसैको नाम नेपालको इतिहासले लिने देखिँदैन । यस्ता अनेक कर्म र व्यवहार छन्, जसले शेरबहादुर देउवालाई बिर्सन नसकिने बनाएको छ ।

पाँच वर्षको लागि भएको आमनिर्वाचनमा देउवा नेतृत्वको काङ्ग्रेसले व्यहोर्नुपरेको पराजयलाई हेर्दा आगामी पाँच वर्ष देउवा सत्तारुढ हुन सक्ने अवस्थामा छैनन् भन्नुपर्ने हुन्छ । पाँच वर्षपछि देउवाको उमेर असीको हाराहारीमा हुनेछ । आरजु राणाले सङ्ग्रह गरेको धनको पहाड नै अर्पण गरे पनि असी वर्षीय देउवालाई कुनै भगवानले लोकप्रिय, क्रियाशील र प्रभावकारी नेताका रूपमा स्थापित गर्न असम्भव छ । सङ्घीय, धर्मनिरपेक्ष, गणतन्त्रात्मक, लोकतन्त्रलाई पाँच वर्षभित्रै नेपालको विभाजन या विघटन गराउने सफलता प्राप्त भएन भने अर्को संसदीय निर्वाचन गराइने या हुने सम्भावना रहन्छ । तर, उक्त निर्वाचनमा देउवालाई अघि लगाएर सहभागी हुन आरजु र रमेश लेखकबाहेक काङ्ग्रेसका कुनै कार्यकर्ता तयार हुने विश्वास गर्न सकिँदैन । त्यसैले भाग्यमानी देउवाका दुर्भाग्यपूर्ण दिनहरू अब शुरु भएका छन् भन्न सकिन्छ ।

तथापि देउवाले ज्योतिषीहरूको हवाला दिँदै आफू सातपटक प्रधानमन्त्री बन्ने सार्वजनिक घोषणा गरेको सन्दर्भलाई पूरै उपेक्षा गर्नु नपर्ने हुने सक्छ । अब भविष्यमा आवधिक निर्वाचन भएर स्वाभाविक ढङ्गले उनी प्रधानमन्त्री बन्ने नदेखिए पनि असामान्य स्थितिमा अस्वाभाविक ढङ्गले देउवा प्रधानमन्त्री बन्ने सम्भावनालाई इन्कार गर्नुहुँदैन । वामपन्थी कम्युनिष्टहरूको शासन विस्थापित हुने या गरिनुपर्ने अवस्था पैदा भएको वा नेपालको राजनीतिक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्ने शक्तिहरूले हाल कार्यान्वयनमा ल्याइएको संविधान खारेज गरी देशका रूपमा नेपाल जोगाउने सोचअनुरूपको निर्णय लिएको अवस्थामा अल्पकालका लागि प्रधानमन्त्री बनाउन देउवाकै खोजी हुन सक्छ । देशमा जति–जति बेला प्रधानमन्त्रीका रूपमा कसैलाई ‘थापना गरेर’ काम गर्नु/गराउनुपर्ने अवस्था पैदा हुन्छ, त्यति–त्यति बेला देउवा या देउवाजस्तै पात्र र प्रवृत्तिको खोजी हुने गर्दछ ।

वर्तमान संविधान र देश दुवै एकसाथ बाँचिरहन कठिन मात्र होइन, असम्भव छ । देश बचाउने प्रक्रिया शुरु भएर यो संविधानले मृत्युवरण गर्ने स्थिति बन्यो भने फेरि पनि प्रधानमन्त्री बनाइने पात्र भनेका देउवा र देउवाजस्तै हुन् । नियमित र स्वाभाविक प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावनाको अन्त्य भए पनि अस्वाभाविक र अनियमित किसिमबाट देउवा फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना रहन्छ, देउवाको भविष्य पनि अब यतिमै सीमित हुन पुगेको छ ।

(घटना र विचारको लागि देवप्रकाश त्रिपाठीले लेखेको लेख साभार गरिएको हो ।)

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Sabina Kc Tandan

    JA INDIAN DALAL

    Comment Author

    Babu Ram Paudel

    Ab Nepal ma tw muskil x india tira huna sakxa !!!

    Comment Author

    Raj Kumar

    Kin r ksri

    Comment Author

    Khuma KC

    Jotisle feri pani pm banne kura gareyo ra

    Comment Author

    Kulbahadur Bohra

    यो मुजि खाते चाहिदैन

    Comment Author

    JN Marasini

    अब त स्वास्निको मन्त्री

    Comment Author

    Debraj Khatri

    Aba ta semjanay matra ho pm huna…….

    Comment Author

    Rakesh Rakesh

    Yo bollna najane kasri mantri vyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?