बयालीस वडामा सचिव नभएपछि बैतडीका जनतालाई सास्ती
सारांश
- बैतडी, २० चैत ।
- स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ ।
- सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् ।
बैतडी, २० चैत । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ ।
सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् ।
बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका ६ वटै वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए । उनले भने, “वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम समेत रोकिएका छन् ।”
यस्तै, पञ्चेश्वर गाउँपालिकाका ६ वडामध्ये ३ वडामा मात्रै सचिव रहेका र भएका सचिव पनि सदरमुकाममै बस्ने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए । चन्दले भने, “कर्मचारीको अभावमा आफूहरुले चाहेअनुसारको काम गर्न सकेका छैनौँ ।”
सिगास गाउँपालिकाका ९ वडामध्ये ७ मा सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी बताउँछन् । धामी भन्छन्, “सचिवको अभावमा साह्रै समस्या भएको छ ।”
उता पुरचौडी नगरपालिकाका १० मध्ये सात वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताए ।
यस्तै, डिलासैनी गाउँपालिका–७ वडामध्ये ४ वडामा सचिव छैनन् भने सुनर्या गाउँपालिकाका ३ वडामा सचिव छैनन् । पाटन नगरपालिकाका ३ वडा, मेलौलीका ५ वडा र दशरथचन्द नगरपालिकाका २ वडामा सचिव नभएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।
दोगडाकेदार गाउँपालिकाका पनि २ वडामा सचिव नभएका गाउँपालिकाका अध्यक्ष चक्रसिंह कार्कीले जानकारी दिए । “वडामा भएका सचिवलाई पनि गाउँपालिकामा काजमा राख्नुपर्ने अवस्था आएको छ”, उनले भने, “वडा तहबाट हुने काम प्रभावित हँुदै आएका छन् ।”, वडामा सचिव नहुँदा आफूहरुले सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् ।
देश संघीय संरचनामा गइसकेपछि पनि नागरिकले पाउनुपर्ने सेवा सुविधा नै नपाउनु गम्भीर कुरा भएकाले सरकारले कर्मचारी पदपूर्ति गर्नु जरुरी देखिएको छ ।
प्रतिक्रिया