बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २७, २०७६
|
|
२४ पटक हेरिएको
Shares
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

सारांश

  • गाईघाट।
  • निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ।
  •  तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए।

गाईघाट। निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ। तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना

बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए। बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउँछन्। विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए।

स्थानीय सरकार र केन्द्र सरकारले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा वर्षेनी बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट सङ्गमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउँछन्।

नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य शुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए। नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग

र निगरानी शुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताए। बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि वर्षेनी नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन्।

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध
सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय सिरहा लहानलाई समेत खबर गरेर जेसिभी उपलब्ध गराउन पटक–पटक अनुरोध गरे पनि सडक कार्यालयले सुनुवाइ नगरेको र अहिले कटारी नगरपालिकाबाट एक जेसिभी झिकाएर भदौरेखोला खण्डमा अवरुद्ध सडक खुलाउने कार्यमा प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए।

उदयपुरको कटारी–१४ स्थित सिद्धिचरण लोकमार्ग खण्डको बेतिनी र घुर्मीको बीचमा भदौरेखोलाको कारण र नयाँ सडक निर्माण गर्ने क्रममा थुपारिएका वस्तु बगेर सडकमा थुप्रिएका कारण सडक अबरुद्ध भएपछि खोटाङ, ओखलढुङ्गाबाट कटारी आउने र कटारीबाट खोटाङ तथा ओखलढुङ्गा जाने यातायातका साधन बीच बाटोमै रहेका छन्। प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
लहान। लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन्। विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन्।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन्।

यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ। अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ। कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। यता वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, “अहिलेसम्म बाढी पानीले कुनै किसिमको क्षति भएको जानकारी आएको छैन, तर बाढी आउनसक्ने स्थानमा सुरक्षाकर्मीलाई सर्तक अवस्थामा राखेका छौँ।” बाढीले पुर्याउन सक्ने क्षतिलाई दृष्टिगत गरी विपत्को पूर्वतयारी गरिएको प्रजिअ अधिकारीको कथन छ। खासगरी सिरहामा बलान, कमलालगायतका नदीको बाढीले वर्षेनी क्षति पु¥याउने गरेको छ। सिरहा, सप्तरीलगायत जिल्लामा आज बिहानैदेखि वर्षा जारी रहेकाले बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ।

जलमग्न जनकपुर
जनकपुरधाम– अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ। वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ।

राष्ट्रिय समाचार समिति कार्यालयमा पानी पस्दा कागजातहरू क्षति पु¥याएको छ भने समाचार सम्प्रेषणमा समेत समस्या उत्पन्न भएको छ। अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?