बालकृष्ण ढुङ्गेलपछि अर्का माओवादी कार्यकर्ता भगतमाथि कारवाही
सारांश
- काठमाडौं, २७ पुस ।
- बालकृष्ण ढुङ्गेलपछि तत्कालीन जनमुक्ति सेनाका एक जवानमाथि कारवाही भएको छ ।
- नेपाली सेनाले तत्कालीन जनमुक्ति सेनाका एक जवान सुनिलकुमार भगतलाई पक्राउ गरी कारबाही गरेको हो ।
काठमाडौं, २७ पुस । बालकृष्ण ढुङ्गेलपछि तत्कालीन जनमुक्ति सेनाका एक जवानमाथि कारवाही भएको छ । नेपाली सेनाले तत्कालीन जनमुक्ति सेनाका एक जवान सुनिलकुमार भगतलाई पक्राउ गरी कारबाही गरेको हो ।
सशस्त्र युद्धको बेला नेपाली सेनाबाट विद्रोह गरेर हतियारसहित माओवादी सेनामा प्रवेश गरेका मोरङ ग्रामथान गाउँ पालिकाका सुनिलकुमार भगतलाई नेपाली सेनाले सैनिक ऐन अन्तर्गत पक्राउ गरी कारागार चलान गरेको हो । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअघि प्रहरीले मोरङमा घरबाटै भगतलाई गिरफ्तार गरेर सार्वजनिक अपराधको मुद्दामा कारवाही गरी नेपाली सेनाको जिम्मा लगाएको थियो ।
मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले नेत्रविक्रम चन्द विप्लव समर्थित कार्यकर्ताहरुबाट चुनाव विथोल्ने काम भइरहेको बेला पक्राउ गरेको र पछि नेपाली सेनाले थाहा पाएर पत्र पठाएपछि आफूले सेनालाई बुझाएको बताए ।
भोजपुरको बिष्णुदल गणमा सैनिक जवान पदमा कार्यरत रहेको बेला भगत दुई थान राइफल, त्यसमा लाग्ने ५ थान म्याग्जीन र ९ सय थान गोलीसहित २०६२ साउन ८ गते तत्कालीन माओवादी सेनामा प्रवेश गरेका थिए ।
नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपाली सेनाको भगौडा सिपाहीको रुपमा भगतलाई कारवाही गरिएको बताए । उनले भने, “भगत हाम्रो सदस्य भएको र हतियारसहित भागेकोले कोट मार्सल गरेर कारवाही गरेका हौं, त्यसलाई शान्ति सम्झौतासँग जोडनु हुँदैन ।”
प्रतिक्रिया