बालुवाटारमा ओली र प्रचण्डले २ घण्टा के विषयमा छलफल गरे ?
सारांश
- नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् ।
- समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल गरिसकेपछि दुबै नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउन सहमत भएका छन् ।
- बालुवाटार स्रोतका अनुसार दुई नेतावीचको छलफल करिब २ घण्टासम्म चलेको थियो ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार बालुवाटारमा दुई घण्टा छलफल गरेका छन् । समसामयिक राष्ट्रिय राजनीति र अन्तरराष्ट्रिय परिस्थितिबारे छलफल गरिसकेपछि दुबै नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउन सहमत भएका छन् । बालुवाटार स्रोतका अनुसार दुई नेतावीचको छलफल करिब २ घण्टासम्म चलेको थियो । छलफलको प्रारम्भमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे अर्का अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । त्यसपछि केहीबेर राष्ट्रिय राजनीतिक परिस्थितिबारे दुई अध्यक्षवीच कुराकानी भएको थियो ।
दुई नेतावीचको छलफलमा आगामी शनिबार सचिवालयको बैठक बोलाउने निर्णय भएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई जानकारी दियो । स्रोतले भन्यो, ‘आगामी सचिवालयको बैठकमा नेकपाको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । सचिवालय बैठक बस्नु पूर्व दुई अध्यक्षले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको छ ।’
बुधबार बालुवाटारमा भएको दुई नेतावीचको छलफलमा अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्ज र विभागहरु लगायतका सांगठानिक एकताका थाती रहेका कामहरुको टुंगो लगाउन सचिलावय बैठक र स्थायी कमिटी बैठक बोलाउने प्रस्ताव प्रधानमन्त्री समक्ष राखेका थिए ।
तर, प्रधानमन्त्री ओलीले सांगठानिक एकताको टुंगो लगानुपूर्व राजनीतिक प्रतिवेदनमाथिको छलफल टुंग्याउनु उपयुक्त हुने बताएपछि शनिबार बस्ने बैठकमा सांगठानिक एकता भन्दा पहिले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने सहमति भएको हो ।
पूर्वएमाले र पूर्वमाओवादीवीच पार्टी एकता हुने क्रममा कार्यदलले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन अहिलेसम्म प्रकाशित हुन सकेको छैन । अध्यक्षद्वयले भाषा मिलाएर प्रकाशन गर्ने गत स्थायी कमिटीको बैठकले भनेता पनि अहिलेसम्म त्यसमा प्रगति भएको छैन ।
अन्तरिम राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद(जबज) लाई स्वीकार्ने कि नस्वीकार्ने भन्ने विवाद रहेकाले यसको अन्तिम टुंगो लाग्न सकेको छैन ।
नेपाली रेलवार्ता टोली के गर्दैछ चीनमा ?
काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न आएका नेपाली टोली बुधबार बेइजिङ आइपुगेका छन्। उक्त टोली छिङताओ सहरबाट उच्च गतिको रेलयात्रा गर्दै बेइजिङ आइपुगेका हुन्। काठमाडौंबाट सोमबार चीन प्रस्थान गरेको उक्त टोली सछ्रवान प्रान्तको छङ्तु सहरबाट समुद्री सहर छिङताओ पुगेका थिए। चीनको राजधानी बेइजिङबाट करिब ५ सय ५० किलोमिटर टाढा पर्ने सानतोङ प्रान्तको छिङताओ सहरसम्मको हवाइ दूरी २९६.३२ नटिकल माइल्स छ।
छिङताओबाट बेइजिङसम्म करिब ४ घण्टाको उडान समय लाग्छ। सामान्यतया उच्च गतिको रेलबाट करिब पाँच घण्टामा यात्रा तय गर्नसकिन्छ। उच्च गतिको रेलबाट साढे तीन घण्टामा नै छिङताओबाट बेइजिङसम्म पुग्न सकिन्छ।
बेइजिङस्थित राजदूतावास स्रोतका अनुसार, नेपाली टोलीले छिङताओबाट बेइजिङसम्मको रेल यात्रा अनुभव बटुल्नका लागि गरेका हुन्। रेल सञ्चालन तथा सम्बन्धित् पक्षको जानकारी हेतु यस्तो कार्यक्रम तय भएको हो।
काठमाडौं–केरुङ रेलमार्ग आयोजनाबारे भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वमा आएको सात सदस्यीय टोलीले बिहीबार चिनियाँ टोली नेशनल रेल्वे अथोरिटीका पदाधिकारीसँग छलफल गर्नेछन्।
विशेषत काठमाडौ–केरुङको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका विषयमा छलफल केन्द्रित रहने बताइएको छ। रेल सञ्चालन सम्बन्धमा मानवीय स्रोत विकासकाबारे पनि छलफल हुनेछ।
प्रधानमन्त्री केपी ओलीले २०७२ चैतमा चीनसँग गरेको व्यापार तथा पारवहन सम्झौतामा यो रेलमार्गलाई समावेश गरिएको थियो। साथै २०७६ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणका क्रममा पनि यो रेलमार्ग सम्बन्धमा डीपीआर अघि बढाउने विषयमा छलफल भएको थियो।
सोही भ्रमणवधिमा दोस्रो बीआरआई फोरमले संयुक्त विज्ञप्ति जारी गर्दै चीनको बीआरआईमा समेत यो रेलमार्गलाई महत्वका साथ सूचीकृत गरिएको छ। अन्नपुर्ण पोष्टबाट
६ करोड ठगीमा पौडेल पक्राउ
महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए ।
पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ प्रहरीको भनाई छ ।
पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको ६ करोड रुपैयाँ ठगी गरेको महाशाखाको दाबी छ । रासस
प्रतिक्रिया