भागबन्डा गरेपछि प्रदेशमा मुख्य पद कसले समाल्ने !
सारांश
- काठमाडौं, माघ १८- एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य–मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ ।
- मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन ।
- त्यस्तै मन्त्रालय बाँडफाँटको टुंगो पनि लागेको छैन ।
काठमाडौं, माघ १८- एमाले र माओवादी केन्द्रले भागबन्डा गरेपछि प्रदेश सरकारका मुख्य–मुख्य पद कसले समाल्ने भन्ने चर्चा सुरु भएको छ । मुख्यमन्त्री, सभामुख र उपसभामुखबारे दुई दलले सहमति गरे पनि व्यक्तिमा सहमति जुटिसकेको छैन । त्यस्तै मन्त्रालय बाँडफाँटको टुंगो पनि लागेको छैन ।
भागबन्डाअनुसार प्रदेश ४ मा एमालेले मुख्यमन्त्री पाउनेछ । त्यस्तै सभामुख माओवादी र उपसभामुख एमालेले पाउने सहमति भएको छ । भागबन्डामा सहमति भए पनि व्यक्तिमा सहमति जुटिनसक्दा आकांक्षी बढिरहेका छन् । प्रदेशसभा सदस्यले सभामुख र मन्त्रीमा आकांक्षा देखाई आआफ्नो पार्टीमा लबिङ सुरु गरिसकेका छन् ।
गठबन्धन सहमतिअनुसार मुख्यमन्त्री नपाउने भएपछि माओवादी केन्द्रका सदस्यले सभामुख बन्न लबिङ सुरु गरेका छन् । प्रमुख मन्त्रालयको नेतृत्व आफूले पाउनुपर्ने उनीहरुको भनाइ छ । कास्कीका प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले माओवादी केन्द्रले पाएको अवस्थामा गृह मन्त्रालयको नेतृत्व गर्न आफू इच्छुक रहेको बताए । ‘मेरो पहिलो प्राथमिकता मन्त्री हो । त्यसमा पनि गृह मन्त्रालय पाउनुपर्छ भन्ने छ,’ बरालले भने, ‘मन्त्री नपाएको खण्डमा मात्र सभामुख स्वीकार गर्ने हो ।’ पार्टी निर्णयअनुसार चल्ने भए पनि आफूले पहिलो प्राथमिकता मन्त्री र त्यसमा पनि गृह चाहेको उनले बताए ।
उनको बुझाइमा मन्त्री पद काम गरेर देखाउने ठाउँ हो । ‘जनताका लागि काम गर्छाैं भनेर आएका छौं । जनतासमक्ष बाचा पनि गरेको छु । ती बाचा पूरा गर्न पनि मैले मन्त्री चाहेको हुँ,’ उनले भने, ‘तर सभामुख पनि कमजोर पद होइन । जनताबीच जान अलि अप्ठेरो भएकाले मन्त्रालयको नेतृत्व गर्न चाहेको हुँ ।’ बरालका अनुसार माओवादी केन्द्रले प्रदेशमा दुई मन्त्रालय पाउने सम्भावना छ । सभामुख र दुई मन्त्री पाउँदा आफूले एउटा पाउनुपर्ने दाबी उनको छ ।
एमालेबाट विजयी प्रदेशसभा सदस्य कृष्ण थापाले वरिष्ठताका आधारमा आफूले प्रदेशको मुख्य मन्त्रालय पाउनुपर्ने बताएका छन् । ‘म प्रदेशभित्रको उत्कृष्ट पाँचभित्र पर्छु । मसँग स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरको अनुभव छ,’ उनले भने, ‘त्यस कारण पनि मैले मुख्य मन्त्रालय पाउनुपर्छ ।’ उनले गृह प्रशासन समाल्न आफू इच्छुक रहेको बताए । ‘हुन त अहिलेसम्म कसले के पद पाउने भन्ने निर्णय भइसकेको छैन । शीर्ष नेताहरुले यसबारे निर्णय गर्नेछन्,’ उनले भने, ‘नेता कार्यकर्ताको मूल्यांकन हुनुपर्छ भन्ने हो । मन्त्रालयको टुंगो लगाउँदाको अवस्थामा मैले गृह पाउनुपर्छ ।’ अनुभवका हिसाबले गृहबाहेक भौतिक योजना र सहरी विकास तथा तेस्रो प्राथमिकतामा स्वास्थ्य मन्त्रालय आफ्नो रोजाइमा परेको थापाले बताए । ‘समय अझै बाँकी नै छ । अहिलेसम्म संसदीय दलको नेता चुनिएपछि बल्ल मुख्यमन्त्री बनेपछि प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
प्रतिक्रिया