‘भोट दिन मन छ तर नागरिकता छैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
‘भोट दिन मन छ तर नागरिकता छैन’

सारांश

  • लौनिया (सप्तरी)- तिलाठी कोइलाडी–२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि आतुर छिन् ।
  • प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।
  • नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन ।

लौनिया (सप्तरी)- तिलाठी कोइलाडी–२ लौनयाकी ३५ वर्षीया विमला मरिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनिधि आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाइरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।
नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन । त्यसैले विमला भोट हाल्ने अवसरबाट वञ्चित भएकी छन् । अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका अधिकांश महिलाको  नागरिकता बनेको छैन । नागरिकता नभएका महिलाको नाम मतदाता नामावलीमा छैन ।
उम्मेदवारहरू भोट माग्न घरदैलोमा आएपछि विमलाले नागरिकता बनाइदिन पतिसँग पटक पटक अनुरोध गरिसकेकी छन् । उनले भनिन्, ‘बनाइदिन्छु भन्नुभएको छ तर अहिलेसम्म नागरिकता बनेको छैन ।’ मतदाता नामावलीमा नाम नभई भोट हाल्न पाइँदैन भन्ने थाहा पाएकी विमला भन्छिन्, ‘भोटमा नाम लेखाउन नागरिकता चाहिन्छ, त्यो नै छैन ।’
पतिले नागरिकता बनाइदिए अर्को चुनावमा भोट हाल्ने धोको मेटाउने उनको योजना छ । ‘नाम भए त भोट हाल्थें अनि नेतालाई आफ्नो कुरा पनि राख्थें,’ उनले भनिन् । नेतासँग ‘गरिबलाई बस्ने घर र रोजगारी देऊ’ भनी माग्ने उनको मन छ । तीन वर्ष र डेढ वर्षका दुई बच्चा च्यापेर घर मर्र्मत गरिरहेकी १८ वर्षीया बबिताले भनिन्, ‘भोट दिनै भएपनि पतिलाई भनेर नागरिकता बनाउँछु ।’लौनियाका बबिता र विमला डोम समुदायका प्रतिनिधि पात्र हुन् । सप्तरीमा डोम समुदायका बहुसंख्यक महिला मतदाता नागरिकता अभावमा मताधिकार प्रयोग गर्नबाट वञ्चित बनेका छन् ।
सोमनीदेवी मरिकले नागरिकता त बनाएकी छन् तर उनको पनि मतदाता नामावली नाम छैन । रोजगारीका लागि विदेश गएको छोरासँगै आफ्नो नागरिकता भएको सुनाउँदै उनले भनिन्, ‘छोरो विदेशमा छ मेरो नागरिकता उसले कहाँ राखेको छ थाहा छैन ।’
भोट हाल्न मतदाता नामावलीमा नाम चाहिन्छ भन्ने आफूलाई थाहा नभएको भन्दै उनले भनिन्, ‘भोट हाल्नका लागि कसैले नाम लेखाऊ भनेन ।’
डोम समुदाय सुँगुरपालन र बाँसका सामग्री बनाएर गुजारा चलाउँदै आएको छ । निर्वाचनबाट आउने प्र्रतिनिधिले बाटोघाटो बनाइदेलान्, रोजगारीमा लगाइदेलान् र आफ्नो पक्षमा पनि बोलिदेलान् भन्ने आस उनीहरूको छ ।
स्थानीय कमरेश मरिकले नेताहरूले गरिबका पक्षमा पनि बोल्ने आश्वासन दिएको सुनाए । ‘पहिला भोट देऊ, त्यसपछि तिमीलाई पनि केही गरौंला भनेका छन्,’ उनले भने, ‘गरिब मान्छेका लागि पनि कसैले बोलिदिन्छ कि ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?