‘मधेस मुद्दा समाधान गर्नु सरकारको प्रमुख कार्यभार’
सारांश
- श्रावण १५, २०७४- नेपाली कांग्रेस सम्बद्ध प्रचार–प्रसार समन्वय केन्द्रिय उपसमितिका संयोजक पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख कार्यभार मधेस मुद्दा समाधान गर्नु रहेको दाबी गरेका छन् ।
- समन्वय उपसमितिले आइतबार जनकपुरमा आयोजन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मधेस मुद्दाको सम्बोधन संविधान संशोधन मार्फतमात्र हुनसक्छ ।
- तर एमालेले यसमा असहयोग गर्दै आएको छ ।
श्रावण १५, २०७४- नेपाली कांग्रेस सम्बद्ध प्रचार–प्रसार समन्वय केन्द्रिय उपसमितिका संयोजक पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख कार्यभार मधेस मुद्दा समाधान गर्नु रहेको दाबी गरेका छन् ।
समन्वय उपसमितिले आइतबार जनकपुरमा आयोजन गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘मधेस मुद्दाको सम्बोधन संविधान संशोधन मार्फतमात्र हुनसक्छ । तर एमालेले यसमा असहयोग गर्दै आएको छ ।’
संविधान संशोधन मधेसवादी दलको मात्र नभई नेपाली कांग्रेसको पनि एजेण्डा भएकोले यसलाई पारित गराउन आफूहरु ईमानदारीपूर्वक लागेको उल्लेख गर्दै लेखकले भने, ‘तर एमालेको अहसयोगको कारण हालसम्म संविधान संशोधन हुन सकिरहेको छैन ।’
संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक भएको जिकिर गर्दै उनले वर्तमान सरकारको गठन संविधान कार्यान्वयनको लागि भएको बताए ।
कांग्रेस नेता लेखकले एमाले संघीयता विरोधी पार्टी भएको आरोप लगाए । संघीयता र गणतन्त्रको आवाज तराई मधेसबाट उठेको स्वीकार गर्दै उनले संघीयता र गणतन्त्रलाई संस्थागत गर्न एमालेको सहयोग आवश्यक रहेको औंल्याए, ‘संविधान कार्यान्वयनको लागि संशोधन आवश्यक छ र यसमा एमालेको सहयोग पनि उतिकै आवश्यक छ ।’
सम्पूर्ण नेपालीको भावना समाहित गर्न नसकेको कारण यस अघिका संविधानहरु असफल भएको ध्यानाकर्षण गराउँदै कांग्रेस नेता रमेश लेखकले भने, ‘संशोधन मार्फत यस संविधानलाई सर्वस्वीकार्य बनाउन सकिन्छ तर दुर्भाग्य एमालेले असहयोग गरिरहेको छ ।’
पत्रकार सम्मेलनमा सहभागी खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले नेपाली कांग्रेस मधेसको विकास निर्माण तथा पहिचानको पक्षमा रहेको दाबी गर्दै हुलाकी राजमार्गको परिकल्पना संगै प्रदेश नम्बर दुईका आठ जिल्लामा मिथिला सडक, सिक्स लेन सडक, पूर्व–पश्चिम रेल्वे निर्माण कार्य कांग्रेसकै पहलमा हुन लागेको दाबी गरे ।
आठ जिल्लामा मिडिया सेन्टर स्थापना
तेश्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले प्रदेश नम्बर दुईको आठ जिल्लामा मिडिया सेन्टर स्थापना गरेको छ ।
दुई चरणको निर्वाचन पश्चात दोश्रो राजनीतिक शक्तिमा सिमित बनेको कांग्रेस तेश्रो चरणको निर्वाचन पश्चात पहिलो शक्ति बन्ने लक्ष्य लिएर पार्टी निकट संचारकर्मीहरुलाई सक्रृय बनाउन खोजेको हो ।
नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार समन्वय उपसमितिको आयोजनामा शनिबार यहाँ सम्पन्न विशेष बैठकमा आठ वटै जिल्लामा मिडिया सेन्टर स्थापना गरिएको हो । सेन्टरमा आठ वटै जिल्लाका पार्टी नेता संयोजक तथा प्रेस युनियनका अध्यक्ष सहसंयोजक बनाइएका छन् ।
धनुषामा भने नेपाली कांग्रेस जिल्ला समितिका सदस्य उमेश साह संयोजक तथा प्रेस युनियन धनुषाका सभापति शैलेन्द्र झा सहसंयोजक नियुक्त भएका छन् ।
केन्द्रिय प्रचार–प्रसार उपसमितिले शनिबार यहाँ आयोजन गरेको प्रदेश नम्बर दुई स्तरीय विशेष भेलामा आठ वटै जिल्लाका पार्टी सभापति, प्रेस युनियनका सभापतिसंगै केन्द्रिय सदस्य, सांसदहरु, पूर्व सांसदहरु संगै पार्टीका पूर्व महामन्त्री विमलेन्द्र निधी पनि सहभागी भएका थिए । निधीले प्रदेश नम्बर दुईका कुल १ सय २७ स्थानीय तहमध्ये एकसयमा विजयी हुने रणनीतिमा काम गर्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।इकान्तिपुर बाट
प्रतिक्रिया