मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
सारांश
- काठमाडौँ, १६ असार ।
- मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा वर्षात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्का, मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको छ ।
काठमाडौँ, १६ असार । मनसुन सक्रिय भएसँगै आगामी तीन दिनसम्म देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा वर्षात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानको अवस्थाबारे महाशाखाले विज्ञप्ति निकालेर आजदेखि तीन दिनसम्म पूर्व र पश्चिमका धेरै स्थानमा हल्का, मध्यम र एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना औंल्याएको छ ।
मध्य र आसपासका केही स्थानमा भने हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । मनसुनी न्यूनचापीय रेखा विस्तारै नेपाल नजिक आएकाले देशैभर वर्षा भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।
मौसमविद् कँडेलका अनुसार अनुसार अझै एक÷दुई दिन पूर्व र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम खालको र केही खास (पकेट) क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने छ । मनसुनी रेखा नेपालको नजिक (पूर्वी आकास हुँदै पश्चिमतर्फ फैलिएको अवस्थामा) रहेको र यो तल झरेपछि भारतका विभिन्न क्षेत्रमा बढी वर्षा हुने मौसमविद् कँडेलको भनाइ छ ।
यस वर्षको मनसुन यही असार १४ गतेदेखि देशैभरि फैलिएको महाशाखाले जनाएको थियो । गत जेठ २५ (जुन ८) देखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश भएको महाशाखाले घोषणा गरेको थियो । मनसुन घोषणा भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा सक्रिय हुन नसक्दा पर्याप्त वर्षा हुनसकेको थिएन । मनसुनी वर्षाको गतिविधि बढेकाले दुई दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा चार मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखलढुंगामा २४ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङमा ८, जुम्लामा ८ र वीरेन्द्रनगरमा ३ मिलिमिटर वर्षा भएको छ ।
बदली र वर्षाले उपत्यकाको तापक्रम दुई दिनको तुलनामा ३ डिग्री घटेर आज अधितकतम तापक्रम २७ मा झरेको छ भने न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । यसअघि तीन दिनसम्म उपत्यकाको ३० देखि ३१ डिग्रीको हाराहारीमा अधिकतम तापक्रम पुगेको थियो ।
प्रतिक्रिया