माओवादीबाट मुख्यमन्त्रीको दाबेदारमा चार जना, को-को ?
सारांश
- काठमाडौं, माघ ८ ।
- नेकपा एमालेसँग ६०–४० को हिसावकिताव गरिरहेको नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा दावी गर्ने दुई वटा प्रदेश छन् ।
- २ वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले मुख्यमन्त्री चयनको प्रक्रिया टुंगो लगाएको छैन ।
काठमाडौं, माघ ८ । नेकपा एमालेसँग ६०–४० को हिसावकिताव गरिरहेको नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा दावी गर्ने दुई वटा प्रदेश छन् । २ वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले मुख्यमन्त्री चयनको प्रक्रिया टुंगो लगाएको छैन ।
सम्भवतः माथिबाटै मुख्यमन्त्रीको उम्मेदवार तोकिने र तल औपचारिकतामात्र पूरा हुने माओवादीका प्रभावशाली नेताले बताएका छन् । माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री दाबी गरिरहेको स्रोतको दावी छ ।
प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा महेन्द्रवहादुर शाही लगभग पक्का हुने एक नेताले बताए । माओवादीबाटै नरेश भण्डारीको पनि दावी छ । सिनियारिटीको आधारमा हेर्दा महेन्द्रबहादुर शाहीकै पोल्टामा मुख्यमन्त्रीको कुर्सी पर्ने देखिएको छ । एमालेका प्रदेश नेताहरले मुख्यमन्त्रीको दाबी गरेपनि माओवादीको भागमा पर्ने भएकाले दावी नगर्न एमाले नेतृत्वले प्रदेश नेताहरूलाई सुझाएका छन् ।
प्रदेश नम्बर ७ बाट मुख्यमन्त्रीका लागि माओवादीका वीरमान चौधरी र झपट बोहोराको नाम चर्चामा छ । थारु समुदायको भएका कारण चौधरीको सम्भावना बढी छ । त्यो भएको खण्डमा प्रदेश १ मा राई, २ मा मधेसी, ३ मा महिला नेवार, ४ मा गुरुङ, ५ र ६ मा खसआर्य र ७ मा थारु मुख्यमन्त्री हुने र समावेशिता देखिने तर्क राजनीतिमा गरिएको छ ।
प्रतिक्रिया