मानव विकाससँग आर्थिक विकासको लय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मानव विकाससँग आर्थिक विकासको लय

सारांश

  • सुरेश गौतम पृथ्वी उत्पत्ति भएको करीब पाँच अरब वर्ष भइसक्यो ।
  • यो पाँच अरब वर्षमा पहिलो प्राणी वनस्पतिको रुपमा उत्पत्ति हुन करीब तीन अरब असी करोड वर्ष लाग्यो ।
  • त्यसपछि यो वनस्पति विकसित भई जलचर प्राणी बन्नलाई करीब ७० करोड वर्ष मात्र लाग्यो ।

सुरेश गौतम

पृथ्वी उत्पत्ति भएको करीब पाँच अरब वर्ष भइसक्यो । यो पाँच अरब वर्षमा पहिलो प्राणी वनस्पतिको रुपमा उत्पत्ति हुन करीब तीन अरब असी करोड वर्ष लाग्यो । त्यसपछि यो वनस्पति विकसित भई जलचर प्राणी बन्नलाई करीब ७० करोड वर्ष मात्र लाग्यो । जलचर थलचर प्राणी बन्न अझ कम समय लाग्यो भने त्यसबाट मान्छेमा रुपान्तरित हुन मात्र केही लाख वर्ष लाग्यो ।

यसरी एकपछि अर्को जैविक विकास अनुपातिकरुपमा निकै छिटोछिटो भइरहेको देखिन्छ । मानव–समाज–विकासका धेरै खुड्किलाहरू छन् । एउटा हो, प्राकृतिक विकास र अर्को, साँस्कृितक विकास । प्राकृतिक विकास अन्तर्गत सूर्यबाट खसेको एक टुक्रा आगोको डल्लो सेलाउँदै पृथ्वी बन्छ । कालान्तरमा यही निर्जीव ग्रहमा सजीव वनस्पति देखिन थाल्छ । वनस्पति विकसित हँुदै जलचर प्राणी बन्छ । जलचर प्राणी बिस्तारै थलचरमा रूपान्तरित भएपछि जैविक विकास यात्रा बाँदरसम्म पुग्छ । यही चारखुट्टे बाँदर कालान्तरमा दुईखुट्टे मान्छेको रूपमा विकसित भएको कुरा चाल्र्स डार्विनको विकासवादी सिद्धान्तले जनाउँछ । यसरी बाँदर मान्छे बन्नु नितान्त प्राकृतिक विकासको क्रम हो, यसमा साँस्कृतिक देन छैन ।

अब मान्छेकै साँस्कृतिक विकासको कुरा गर्दा करीब बीस लाख वर्षदेखि यस धर्तिमा मान्छेको अस्तित्व देखा पर्न थाल्यो । तर मान्छेको प्रारम्भिक साँस्कृतिक विकासै पनि मात्र विगत तीस–चालीस हजार वर्षअघि भएको देखिन्छ । यसको प्रमाण हो गुफामा कोरिएका जंगली जनावरका चित्रहरु । सबभन्दा पुरानो भनी फेला पारिएकोमा मात्र ३०÷४० हजार वर्ष पुरानो थियो । यसरी के कुरा थाहा हुन्छ भने करीब १९ लाख ५० हजार वर्ष सम्म मान्छेले कुनै प्रगति नै गरेन पहिलो प्रगति हुन अर्थात चित्र कोर्ने मात्र पनि उसलाई साढे उन्नाइस लाख वर्षको आवश्यकता प¥यो । त्यसपछि अर्को साँस्कृतिक विकासको फड्को मार्न भने उसलाई बीस–तीस हजार वर्ष लाग्यो । अर्थात् गुफामा बस्ने शिकारी समाजका मान्छेहरुले आजभन्दा करीब दश हजार वर्ष पहिले खेतीपाती गर्न सिक्यो । पहिलो साँस्कृतिक विकासलाई जहाँ १९ लाख ५० हजार वर्ष खर्च भयो । त्यही दोस्रो विकासको चरणमा पुग्न बीस–तीस हजार वर्षैले पनि भ्याउन सक्यो । त्यसपछि अर्को उल्लेखनीय प्रगति हो, राज्यको स्थापना । यसको लागि त मात्र तीन–चार हजार वर्ष काफी भयो । अर्थात कृषि समाजबाट राष्ट्रिय जीवनमा विकास हुन निकै छोटो समय लाग्यो । यहाँदेखि मानवजातिको लिखित इतिहास शुरु हुन्छ र यसको साथै ज्ञान र विज्ञानको युग शुरु भएको पाइन्छ । जस्तै ज्ञानको क्षेत्रमा वैदिक कालका ऋषिमुनिदेखि लिएर इरानमापार्सी–धर्मका संस्थापक जरथुस्त्र, चीनमा ताओ–धर्मका प्रवर्तक लाओत्सु तथा कन्फुसियस, युनानमा हेराक्लिट्स, सुकरात र प्लेटो त्यस्तै कपिल, बुद्ध, महावीर इत्यादि । त्यस्तै विज्ञानको क्षेत्रमा गणित, लिपि, वास्तुकला इत्यादिको विकास भएको पाइन्छ । यसपछि मध्ययुगतिर धार्मिक कट्टरता, अन्धविश्वास, युद्ध इत्यादिको कारणले गर्दा ज्ञान र विज्ञान दुबैको विकासमा खास प्रगति भएको देखिँदैन । त्यसपछि बल्ल आएर आजभन्दा करीब चार पाँच सय वर्षअघि फेरि विज्ञानको विकासले फड्को मार्छ । यहाँबाट आधुनिक विज्ञानको युग शुरु हुन्छ ः कोपर्निकस, न्यूटन, डेकार्टे इत्यादिबाट यो विकास विगतको दुई – तीन हजार वर्षको विकासलाई उछिनेर अघि वढ्छ । यस्तै अन्तिम फड्को जसले विगतको आधुनिक प्राविधिक विकासलाई उछिनेर सबैभन्दा अग्रिम पंक्तिमा उभिन आउँछ त्यो हो अत्याधुनिक विज्ञान सापेक्षतावाद, क्वान्टम थ्योरी । यो विज्ञानको विकासमात्र विगतको चालीस–पचास वर्ष पुरानो हो । यसरी हेर्दै जाँदा अरबांै वर्ष लाग्ने फड्को अर्काे फड्कोे मार्दा करांैडौंमा झर्छ । करोडौंबाट लाखौं, लाखांैंबाट हजारौं, हजारांैबाट सयांै र सयांैबाट वर्षको विकासलाई केही दशकैले उछिनेको प्रष्ट देखिन्छ । भनाइको मतलब परिवर्तनको गति गुणनको क्रिया अनुसार छिटोभन्दा छिटो भइरहेको छ । विगतको चालीस वर्षमा भएको प्रगति कुल पाँच हजार वर्षमा पनि भएन । यही हिसाबअनुसार आउने चार–पाँच वर्षको प्रगतिले पनि विगतको चालीस वर्षलाई उछिन्नेछ भने त्यसपछिको प्रगति एकै वर्षको अवधिभित्र हुने देखिन्छ । यस्तै वर्षबाट महिना, महिनाबाट दिन, दिनबाट घण्टा र घण्टाबाट मिनेट तथा मिनेटबाट सेकेण्डमा प्रगतिले फड्को मार्ने देखिन्छ । अर्थात जति–जति समय बित्दै गइरहेछ, उति–उति नै मानव नयाँ, अझ नयाँ, झनै नयाँ समाजमा प्रवेश गर्दैछ ।

नेपालको राजनीतिमा ६० वर्षयता धेरै राजनीति भयो । पछिल्लोपटक संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । हाम्रो मुलुकमा धेरै राजनीति विचारको अभ्यास भयो । तर यी सबै विचार मूलतः केका लागि हो भन्ने विकास र समृद्धिका लागि हो । किनकि, विकास नभइकन पूँजीवाद पनि टिक्दैन, समाजवाद पनि टिक्दैन । त्यसकारण विचारको मर्म विकास नै हो । नेपालमा विचारको लडाइँमा विकास ओझेलमा पर्यो । जलस्रोतमा संसारकै दोस्रो धनी देश हो हाम्रो, तर संसारकै अन्धकार देशका रुपमा छ । २१औँ शताब्दीमा हामी अन्धकारमा छौँ । कति विकास ओझेलमा परेको छ भन्ने सबैभन्दा ठूलो उदाहरण यही हो । वि.स. २०१३ सालदेखि अवलम्बन गर्दै आइएको योजनाबद्ध विकासले अपेक्षित विकास गर्न सकेको छैन । समयको विकास क्रममा नेपाली अर्थतन्त्रमा केही सकारात्मक परिवर्तन भए पनि अधिकांश मानिसहरुको जीवनस्तर सुध्रिन सकेको छैन, गरिबी अझै घनिभूत छ । अर्थतन्त्रको प्रवृत्तिमा केही परिवर्तन भए पनि सर्वसाधारणले विकासको अनुभूति गर्न पाएका छैनन् । सामन्ती उत्पादन सम्बन्धमा कमी आउँदै गए पनि कृषिमाथिको निर्भरतामा तात्विक फरक आउन सकेको छैन । शहरी क्षेत्रमा केही आर्थिक गतिविधि बढे पनि औद्योगीकरण हुन नसक्दा नेपाली अर्थतन्त्रको वास्तविक रुपान्तरण हुन सकेको छैन । आम मानिसहरु जीवन निर्वाहका लागि श्रम खर्च गरिरहेका छन् । उनीहरुको सामथ्र्य राष्ट्रिय बचत निर्माणमा योगदान दिन सक्ने हैसियतको छैन । नेपालमा पूँजी निर्माणको प्रवृत्ति निकै कमजोर छ । यथार्थतामा हाम्रा आर्थिक क्रियाकलापहरुबाट राष्ट्रिय पूँजीको विकास खासै हुन सकेको छैन । यसले गर्दा प्राकृतिक स्रोत साधनको उपयोग, रोजगारी सिर्जना र मानवीय जीवनस्तरमा सुधार हुन बाँकी छ । उपलब्ध सा्रेत र साधनको समुचित प्रयोग, नयाँ स्रोत र साधनको पहिचान, उत्पादन प्रविधिको सुधार, तुलनात्मक लाभका क्षेत्रको पहिचान र उपयोग, उत्पादन क्षमतामा अभिवृद्धि गरेर फराकिलो र समावेशी आर्थिक वृद्धि गर्नु समयको आवश्यकता बन्न पुगेको छ । यसको लागि विद्यमान आर्थिक स्थितिको विश्लेषण, उपयुक्त नीति तथा कार्यक्रमको तर्जुमा र तिनीहरुको प्रभावकारी कार्यान्वयन गर्दै अर्थतन्त्रको रुपान्तरण गर्नुपर्ने देखिन्छ ।

विकास कसरी गर्ने त ? यो नै अहिलेको महत्वपूर्ण पश्न हो । संसारमा सबैभन्दा पहिले विकास गर्ने त युरोप हो । साइन्स र टेक्नोलोजी आइसकेपछि उनीहरूले विकास गरे । अहिलेसम्मको युरोपको विकासलाई चार सय, पाँच सय वर्षको विकास मानिन्छ । तर, त्यही विकासको मोडलमा टेकेर अमेरिकाले त दुई सय वर्षमै विकास गर्यो । अमेरिका पछि आएको देश हो । युरोपमा चार सय वर्षमा भएको विकास जति अमेरिकाले दुई सय वर्षमा गर्यो । जापानले ५०–६० वर्षमा विकास गर्यो । कोरियाले अझ कम समयमा गर्यो, कतार, दुबईले झनै कम समयमा गरे । किनकि मोडल एउटै बनिसकेपछि विकासको स्पिड फास्ट हुन्छ । अब हामीलाई पनि विकास गर्नलाई त्यस्तो धेरै वर्ष लाग्दैन, दश वर्ष काफी हुन्छ । तर, हामीले विकासको त्यो एक्ज्याक्ट मोडल के हो, जसले कोरिया, कतार, जापानमा विकास भयो, यो बुझ्नुपर्यो । यो विकासको मोडललाई हामीले पनि स्वीकार गर्नुपर्छ, अपनाउनुपर्छ । यसो भयो भने हामीले छिटै विकास गर्न सक्छौँ । उदाहरण लागि कतारको विकासको पछाडि त केही पनि छैन । त्यो मरुभूमि नै हो, तर कतारले यति छिटो कसरी विकास गर्यो त ? हामीजस्तै विभिन्न चंगुलमा परेका तर हामीसँगै स्वतन्त्र हुँदै अगाडि बढेका चीन, भारत लगायत देश आज संसारका विकसित देशको पंक्तिमा पुग्दै गरेको अवस्था छ । चीन त युरोप, अमेरिकालाई नाघ्ने अवस्थामा छ, भारतको अर्थतन्त्र बढ्दो अवस्थामा छ, तर हामी सय वर्ष अगाडि जहाँ थियौँ, त्यहाँभन्दा धेरै नै फरक भएको देखिँदैन । अहिले देश अघि बढ्न नसक्नुको पछाडिको कारण सात साल पछाडि अहिलेसम्म आर्थिक विकासको मोडल निर्माण गर्न नसक्नु नै हो । अब नेपालको विकास गर्न संसारभरका मानिसलाई आव्हान गर्नुपर्छ । किनकि संसारका विकसित देशले मानव विकासको लयलाई जोडेर अगाडि बढिरहेका छन् । भनाइको मतलब अरबांै वर्ष लाग्ने फड्को अर्काे फड्कोे मार्दा करांैडौंमा, करोडौंबाट लाखौं, लाखांैंबाट हजारौं, हजारांैबाट सयांै र सयांैबाट वर्षको विकासमा उछिन्ने अवधारणामा हामी जानुपर्छ । यही अवधारणाबाट नै हामी जस्ता देशहरुले विकासको तीव्रगतिलाई छोटो समयमा पूरा गर्नसक्छौ ।

लेखक नेकपाका युवा नेता एवम् अर्थशास्त्री हुन् ।

sureshgautam01@gmail.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?