मासुचिउरा पाएपछि बालबालिका खुशी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
मासुचिउरा पाएपछि बालबालिका खुशी

सारांश

  • तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
  • पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै गएको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।
  • कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिनुभयो ।

तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै गएको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिनुभयो । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६२८ छात्रछात्रा लाभान्वित भएका छन् ।
आर्थिक वर्ष ०७६÷०७७ का लागि रु २५ लाख विनियोजन भएकामा पहिलो चौमासिकमा रु छ लाख ३३ हजार ७५० र दोस्रो चौमासिकमा रु आठ लाख ५० हजार ९२० बजेट निकासा गरिसकिएको उहाँले बताउनुभयो । प्रत्येक विद्यालयमा जनप्रतिनिधिको निगरानी रहने गरी पत्रुखानारहितको खाजाको व्यवस्था गरिएको छ । उहाँले भन्नुभयो, “कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन भएको छ ।”

खाजाको परिकारमा तरकारीचिउरा, चनाअण्डा र महिनामा एक दिन मासुचिउराको व्यवस्था हुनेछ । गाउँपालिकाबाट प्रतिविद्यार्थी रु १५ प्रदान गरिएको र अभिभावकसँग रु पाँचका दरले पैसा सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । विद्यालयमा खान पकाउने सामग्रीको व्यवस्था गरी एक कर्मचारी खाजा बनाउने, खुवाउने र भाँडा माझ्नका लागि राखिएको छ ।

कार्यक्रम लागू भएका विद्यालयको समयसमयमा अनुगमन गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले जानकारी दिनुभयो । विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी स्वस्थ भई पढाइमा सक्रिय भएर भाग लिन सक्छन् भन्ने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?