मोदीले नेपालबाटै भारतीय चुनावको प्रचार गर्ने !
सारांश
- काठमाडाै, २६ वैशाख ।
- नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको उद्देश्य यहीँबाट चुनाव प्रचार गर्नु रहेको दावी भारतीय पत्रकारहरुले गर्न थालेका छन्।
- बिबिसी हिन्दीको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अनिल चमडियाले १२ मेमा कर्नाटकमा चुनाव हुँदै गर्दा भारतीय मिडियामा चुनावलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु मन्दिर दर्शनको खबर आउने प्रबन्ध मिलाएको दाबी गरेका छन्।
काठमाडाै, २६ वैशाख । नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको उद्देश्य यहीँबाट चुनाव प्रचार गर्नु रहेको दावी भारतीय पत्रकारहरुले गर्न थालेका छन्।
बिबिसी हिन्दीको अनलाइन संस्करणमा प्रकाशित रिपोर्टमा अनिल चमडियाले १२ मेमा कर्नाटकमा चुनाव हुँदै गर्दा भारतीय मिडियामा चुनावलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु मन्दिर दर्शनको खबर आउने प्रबन्ध मिलाएको दाबी गरेका छन्।
मोदीले नेपालका हिन्दु मन्दिरहरुको दर्शनलाई भारतीय मिडियाहरुले ‘खबर’ मान्दै प्राथमिकताका साथ प्रचार गरे पनि त्यसको पछाडि चुनावी प्रचार नै भएको उनको जिकिर छ।
भारतीय निर्वाचन आयोगले देशको कुनै भागमा निर्वाचन हुँदै गर्दा दुई दिन अगाडिदेखि प्रचारप्रसारमा रोक लगाउने भए तापनि भारतीय जनता पार्टीले चोरबाटोबाट प्रचारप्रसार गर्ने गरेको पनि उनले दावी गरेका छन्।
कर्नाटकमा भारतीय जनता पार्टीले हिन्दुत्वलाई चुनावी कार्डको रुपमा प्रयोग गरिहेको बताउँदै अनिलले अगाडि लेखेका छन्, ‘सन् २०१७ को ८ मार्चमा उत्तर प्रदेश विधानसभाको चुनाव हुँदै गर्दा प्रधानमन्त्री मोदी गुजरातको सोमनाथ मन्दिर दर्शन गर्न गएका थिए।’
मिडियामा ब्यापक कभरेज भएको सो धार्मिक यात्रा चुनावलाई प्रभाव पार्नकै लागि तय भएको दावी गर्दै अनिलले चुनावको आसपासमा प्रधानमन्त्री मोदीले देशका विभिन्न मन्दिरको दर्शन गर्ने रोचक अध्याय सुरु गर्ने गरेको बताएका छन्।
थोरङ्ला पास नरोकिने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ ‘दर्शन’ गर्दै गर्दा अन्नपूर्ण पदमार्गको आवज जावत नरोकिने भएको छ।
मुस्ताङ प्रशासनले २९ बैशाखमा मुक्तिनाथ दर्शनको लागि आउने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको कारण देखाउँदै यसअघि बन्द गरेको ‘थोरङ्ला पास’ गर्ने पर्यटकहरुलाई वैकल्पिक बाटो हुँदै हिँड्ने अनुमति दिएको हो ।
‘उहाँ (मोदी) को भ्रमणको क्रममा पनि थोरङ्ला पास रोकिँदैन, हामीले वैकल्पिक बाटोबाट पर्यटक हिँड्ने व्यवस्था मिलाएका छौं’, मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने, ‘सुरक्षाको कारणले मात्र मुक्तिनाथ क्षेत्रमा पनि २८ वैशाख साँझ ४ बजेदेखि भोलिपल्ट मध्यान्ह १२ बजेसम्म मात्र सर्वसाधारणको प्रवेशमा रोक लगाइएको हो।’ नेपालखबरमा समाचार छ ।उनले सुरक्षा प्रबन्धको लागि गरिएको निर्णयलाई ‘बाटो नै रोकेको’ रुपमा नबुझ्न आग्रह समेत गरे।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मोदी भ्रमणको क्रममा अन्नपूर्ण पदयात्रा मार्गको थोरङ्ला पास गर्ने पर्यटकहरुका लागि झोङ, छेङ्गुर, पुटाक हुँदै कागबेनी झर्ने गरी व्यवस्था मिलाइएको छ।
भारतीय मिडियाको लर्को
मोदीको मुक्तिनाथ ‘दर्शन’ को निर्णयसँगै मुक्तिनाथ क्षेत्रमा भारतीय मिडियाहरुको चहलपहल बढेको छ।
प्रधानमन्त्री मोदीको ‘तीर्थाटन’ को ‘कभरेज’ का लागि राज्य नियन्त्रित दूरदर्शनलगायतका टेलिभिजन च्यानलदेखि अन्य संचारमाध्यमका प्रतिनिधिहरु मुस्ताङ पुगेका छन्।
‘हिजो (२५ बैशाख) नै दूरदर्शनलगायतका पत्रकारहरु मुक्तिनाथ आउनुभएको छ’, प्रजिअ पौडेलले भने, ‘आजदेखि सुरक्षाकर्मीहरु (भारतीय)आउने कुरा छ।’
भारतीय सुरक्षा निकायले गृहमन्त्रालयसँगको समन्वयमा काम गरिरहेकोले उनीहरुको संख्या र अन्य अवस्थाबारे आफूलाई जानकारी नभएको उनले बताए।
प्रतिक्रिया