म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
सारांश
- काठमाडाै, २७ असाेज ।
- गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु भएको छ ।
- अर्का एकजना वेपत्ता छन् ।
काठमाडाै, २७ असाेज । गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणका लागि काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।
गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४६५ मिटर अग्लो छ ।
घटनास्थल धौलागिरी गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले सिम्रिक एयरको हेलिकोप्टर ल्याण्ड हुन नसकेपछि अब सेनाको हेलिकोप्टरबाट उद्धारको तयारी भएको बताए।घटनामा परी ८ जनाको ज्यान गएको छ। तीमध्ये ३ जना नेपाली र ५ जना कोरियन नागरिक रहेका छन्। काठमाण्डौंको प्रोजेक्ट ओय नामक एजेन्सीमार्फत आरोहणमा गएको टोलीको नेतृत्व कोरियन नागरिक किम चङ होले गरेका थिए।
आरोहणमा गएका तीन जना भने बाटैबाट फर्किएकोले बाँचेको वडाध्यक्ष ले बताए। घटनास्थलमा भेटिएका शवहरुको पहिचान हुन सकेको छैन। शवहरु कुनै सग्लो र कुनै क्षतविक्षत अवस्थामा भएकोले पहिचान हुन नसकेको उनको भनाई छ। गुर्जा म्याग्दी जिल्लाको सबैभन्दा माथिल्लो गाउँ हो। गुर्जाभन्दा माथि गाउँ छैन, टाउकोभन्दा माथि जिउ छैन भन्ने उखान म्याग्दीतिर प्रख्यात रहेको छ। आरोहणमा गएको अर्को टोली भने सुरक्षित रहेको छ।
प्रतिक्रिया