एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
एक बौद्ध भिक्षु यसरी फिल्म निर्देशनमा होमिए

सारांश

  • काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् ।
  • कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक हुँदै आइरहेका लामा सेनाङ ग्याम्जो तामाङको रुची फिल्म हेर्न मात्रै होइन, निर्माणमा पनि उस्तै छ ।
  • उनले एकवर्ष अघि एउटा फिल्म बनाए ।

काठमाडौंमा हुने अधिकांस फिल्म प्रिमियर वा फेस्टिभलहरुमा यी लामा प्राय छुट्दैनन् । कहिले स्कुटर त कहिले साइकल चढेर फिल्मी गतिविधिमा सरिक हुँदै आइरहेका लामा सेनाङ ग्याम्जो तामाङको रुची फिल्म हेर्न मात्रै होइन, निर्माणमा पनि उस्तै छ । उनले एकवर्ष अघि एउटा फिल्म बनाए । लामा जीवन अपनाइरहेका विद्यार्थी र गुरु बीचको द्वन्दको ‘प्लट’लाई समातेर ‘झा लो’ नामको एउटा फिल्म बनाएका थिए । फिल्मले राम्रै चर्चा पायो, लामाको निर्देशकीय खुबीको पनि राम्रै प्रशंसा भयो ।

फिल्म मेकिङमा लामा कसरी ?
सामान्यरुपमा हेर्दा लामा जीवनमा प्रवेश गरिसकेका व्यक्तिको मुख्य काम बुद्ध वचनलाई आम मानिस बीच फैलाउनु हो । तर बुद्ध वचन र दर्शनलाई आत्मसात गरेर हिडेका लामाहरु कहिलेकाँही फरक भूमिकामा पनि भेटिन्छन् । लामा सेनाङ ग्याम्जो पनि त्यस्तै एक प्रतिनिधि पात्र हुन् । मुगबाट बौद्ध शिक्षा हासिल गर्न सेनाङ ९ वर्षको उमेरमै काठमाडौँ आइपुगेका थिए । उनले बौद्धस्थित सेचन गुम्बाबाट बौद्ध दर्शन सम्बन्धी औपचारिक अध्ययन सकाए । पिएचडी बराबर मानिने खेन्पो तहको अध्ययन उनले सकाइसकेका छन् । गुम्बामा अध्ययन सके पछि प्राय लामाहरु आ–आफ्नै स्थानमा फर्की बौद्ध शिक्षाको प्रवद्र्धनमा लाग्ने गर्छन् । तर सेनाङ फर्केनन् । उनलाई काठमाडौँले तान्यो । सेचन गुम्बामै उनी पढाउन र प्रशासनिक काममा लागे ।

पछिल्लो समय पश्चिमी जगतमा बौद्ध धर्म, रिम्पोचे तथा लामा गुरुहरु प्रति ठूलो आकर्षण रहेको पाइन्छ । पश्चिमी मूलुकका थुप्रै फिल्मकर्मीको चासोमा बौद्ध धर्म पनि पर्ने गरेको छ । सेनाङ आवद्ध सेचन गुम्बामा पनि कैयौ डक्युमेन्ट्री तथा फिल्म छायांकन भएका छन् । यसरी सेचन गुम्बासँग सम्बन्धित अधिकांस डक्यूमेन्ट्रि तथा फिल्मको छायांकनका क्रममा सेनाङले अधिकांस प्रोजेक्टमा सहजकर्ताको भूमिका निभाउने मौका पाए । तर यसरी सहजकर्ताको भूमिका निर्वाह गर्दागर्दै ‘मैले पनि फिल्म निर्माण गर्न सक्ने रहेछु’ भन्ने हिम्मत उनमा थपियो । र, यसरी शान्त र स्निग्ध लामा जीवन अपनाइरहेका सेनाङको साइनो फिल्ममा पनि जोडियो ।

 

पहिलो फिल्मी गुरु तुलसी घिमिरे
लामा सेनाङ ग्याम्जो आफ्नो फिल्मी यात्राको पहिलो गुरु निर्देशक तुलसी घिमिरेलाई मान्छन् । नेपालमा छायांकन गरिएको ब्राजिलको एक सिरियलमा घिमिरे पनि आवद्ध थिए । उक्त सिरियल लामा आवद्ध सेचन गुम्बामा पनि छायांकन गरिएका कारण सेनाङ पनि यो सिरियलमा संलग्न थिए । त्यो सिरियलका कारण निर्देशक घिमिरेसँग भएको उनको चिनापर्ची निकै गाढा बन्यो । बौद्ध धर्मसँग सम्बन्धित कथाको खोजीमा रहेको घिमिरेका लागि लामा सेनाङ दरिलो श्रोत बन्दै थिए । फिल्म निर्माणमा लागि यी दुई बीच गनेरै नसकिने कैयौ ‘सिटिङ’ भए । घिमिरेको कथामा सेनाङले निर्देशन गर्ने लभभग अन्तिम चरणमा पुगिसकेको थियो । तर यसै बीचमा घिमिरे अमेरिका गएर उतै केही समय अलमलिए पछि भने उनीहरुको फिल्म निर्माणको अभियान लगभग समाप्त भयो । घिमिरेसँग मिलेर फिल्म बनाउन नपाए पनि लामा सेनाङ उनलाई आफ्नो फिल्मी करियरको पहिलो गुरु मान्छन् । घिमिरेले उनलाई ‘फिल्मको कथा लेख्न आजैबाट सुरु गर’ भनेर एक शिशि मसी र कलम पनि दिएका थिए । घिमिरेबाट पाएको त्यो उपहार लामालाई अमुल्य लाग्छ । त्यसैले अहिले पनि उनले घिमिरेले दिएको मसी र पेन जतनसाथ राखेका छन् । र, कतै आफ्नो फिल्म यात्राको बारेमा बोल्ने मौका पाउने बित्तिकै घिमिरेको स्मरण गर्न छुटाउँदैनन् ।

कसरी बन्यो झा लो ?
तुलसी घिमिरेसँग मिलेर फिल्म बनाउने सपना त पुरा भएन । सेनाङको फिल्मी मोहले भने विश्राम लिएन । उनी जसरी पनि एउटा फिलम निर्माण गरेरै छोड्ने अठोट लिएर हिड्न थाले । यसै बीचमा लामाको भेट मिनबहादुर भामसँग भयो । भामले उनलाई विभिन्न फिल्म फेस्टिभलहरुमा पनि बोलाउन थाले । आफुले फिल्म निर्माण गर्नु अघि लामाले धेरै किशिमका फिल्म तथा डक्यूमेन्ट्रि हेर्न भ्याए । यसपछि भने उनको सोच बदलियो । कुनै समय परम्परागत कथानक फिल्म बनाउने सोचिरहेका उनी फरक शैलीका कथालाई समेटेर मुद्दामा केन्द्रित फिल्म बनाउने निर्णयमा पुगे । यसैको उपजस्वरुप बन्यो – ‘झा लो’ ।

झा लोको सफलता
झा लो छायांकनका लागि लामा निकै ठाउँ पुगे । सोलुखुम्बु गएर हप्ता दश दिन ‘लोकेसन हन्टिङ’मा पनि समय बिताए । तर अन्तिममा उनले झा लोको सुटिङ मुस्ताङमा गरे । फिल्मको सबै काम सकाए पछि जुन जुन फिल्म फेस्टिभलमा सहभागिताका लागि उनले पठाए सबैले मन खोलेरै स्वागत गरे । जिग्मे पाल्देन र थिले गुरुङले अभिनय गरेको उनको १५ मिनेटको फिल्म धेरै प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शन भयो । उनले कोरियाको बुसान, एकादेशमा फिल्म फेस्टिभल, स्वीटजरल्याण्डको फ्रिबर्ग, सिंगापुर फिल्म फेस्टिभल, सार्क फिल्म फेस्टिभल सहित नेपालकै सबैभन्दा प्रतिष्ठित फिल्म फेस्टिभल ‘किम्फ’मा पनि आफ्नो फिल्म प्रदर्शन गरे । किम्फमा त उनले ‘स्पेसल मेन्सन अवार्ड’ नै पनि पाए ।

फिल्ममार्फत के दिन चाहन्छन् लामा ?
सेनाङसँग यसको सटिक जवाफ छ ‘सुरुमा म आफ्नै लागि फिल्म बनाउँछु, त्यसपछि मात्रै हो मैले फिल्मबाट के दिने भन्ने ।’ सेनाङ फिल्ममार्फत आफ्नै वरपरका विषयलाई आम मानिसमाझ ल्याउन चाहन्छन् । दक्षिण कोरियाली निर्देशक किम कि–दुकका प्रशसंक रहेका उनी त्यस्तै त होइन तर त्यही शैलीमा थोरै पात्रमार्फत हाम्रै वरपरका आम मानिसका भोगाई र जीवनशैलीलाई फिल्ममा प्रस्तुत गर्न चाहन्छन् । साथमा बौद्ध दर्शन र विषय त छुट्ने कुरै भएन ।

अर्को फिल्म कहिले ?
लामा सेनाङको फिल्मी यात्रा रोकिने छाँट छैन । बौद्ध दर्शनको शिक्षा बाँढ्दाबाँढ्दै उनलाई फिल्म निर्माणमा पनि लाग्नुछ । ‘केही कथा र प्लट त दिमाखमा आइरहेको छ’ अर्को प्रोजेक्टको तयारीमा रहेका उनी भन्छन् ‘तर कस्तो कथा र विषयमा फिल्म बनाउँ भनेर निर्णय गर्न सकिरहेको छैन ।’

सुरज खड्का  surajatv@gmail.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?