‘म वाध्यताले राष्ट्रपति भएको थिएँ’ : पूर्वराष्ट्रपति यादव
सारांश
- काठमाडौं ।
- पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूले राजनीति गर्दा नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर आफू वाध्यताले राष्ट्रपति हुनु परेको अपेक्षा कहिल्यै नगरेको बताएका छन् ।
- राजनीतिक दललाई सहमत बनाउन नसक्दा कठिन र तरल अवस्थामा अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गरेका छन् ।
काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले आफूले राजनीति गर्दा नेपाली कांग्रेसको सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर आफू वाध्यताले राष्ट्रपति हुनु परेको अपेक्षा कहिल्यै नगरेको बताएका छन् ।
राजनीतिक दललाई सहमत बनाउन नसक्दा कठिन र तरल अवस्थामा अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गरेका छन् ।
सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार र नेशनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र अदालतबाहिर’ पुस्तकको ललितपुरमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले त्यसै आधारमा गणतन्त्रात्मक समावेशी, धर्मनिरपेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए ।
नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पूर्वराष्ट्रपति यादवले संविधानसभामार्फत हतारमा एकमुष्ट रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झँदै कानुनजस्ता कुरालाई पर्याप्त समय दिएर छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा राखे । करीब ३सय पृष्ठको पाँच खण्डमा विभाजित र न्यायालयमा करीब ३१ वर्षको अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले बंगलादेशमा समेत प्रयोग हुन छोडेको बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने कुरा प्रजातान्त्रिक नभएको दाबी गरे ।
सात जना पूर्वप्रधानन्यायाधीशसँग रजिस्ट्रारका रूपमा काम गर्दा व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयमा समेत जानकारी समेटिएको उल्लेख गरे ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानूनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानून जस्तो निरस विषयलाई पनि सहयोग गर्नसक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानूनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताए ।
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहले अदालत प्रशासन, न्याय प्रशासन निकै जटिल विषय भएको बताउँदै अदालतको अवस्था निकै भिन्न भएको र नयाँ पुस्ताले अदालतप्रति जनआस्था कायम गर्नसक्ने र त्यसको गरिमा जोगाउनसक्ने बताए । उद्योगपति तथा समाजसेवी डा उपेन्द्र महतोले हरेक व्यक्तिको मनमा अदालत हुने र त्यो अदालतले भनेको कुरा सुन्दा बाहिरको अदालत आवश्यक नपर्ने बताए ।
प्रतिक्रिया