जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २४, २०८०
|
|
१८ पटक हेरिएको
Shares
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गर्नुभयो भन्ने विषमा सोच्नुपर्ने समय आएको बताएका छन् ।
  • नेपाल प्रेस काठमाडौँ शाखाका नवनिर्वाचित कार्यसमितिसँग भेटमा उहाँले परिवर्तनको संविधान र संविधानबमोजिमको राज्य व्यवस्थाबाट आम मानिसमा के–कस्ता परिवर्तन देखियो भन्ने विषयमा बुझ्न देश दौडाहा गर्ने जानकारी दिए ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गर्नुभयो भन्ने विषमा सोच्नुपर्ने समय आएको बताएका छन् ।

नेपाल प्रेस काठमाडौँ शाखाका नवनिर्वाचित कार्यसमितिसँग भेटमा उहाँले परिवर्तनको संविधान र संविधानबमोजिमको राज्य व्यवस्थाबाट आम मानिसमा के–कस्ता परिवर्तन देखियो भन्ने विषयमा बुझ्न देश दौडाहा गर्ने जानकारी दिए ।

“यहीँ बसेर अनुमान गर्नु राम्रो हुँदैन, त्यहीँ भएर देशका केही स्थानमा पुगेर जनस्तरकै कुरा सुन्ने तयारीमा छु, यसले तीनै तहको बारेमा बुझ्न मद्दत गर्नेछ”, नेता सिटौलाले भने, “राज्य सञ्चालन र समाजको सोच फरक रुपमा विकसित भइरहेको छ, सत्ता र प्रतिपक्षको उद्देश्य एउटै छ, यहाँ सत्ता टिकाउने र गिराउने भन्दा फरक उद्देश्य देखिएन, उहाँहरूले जनताको हितमा साँझा दृष्टिकोण उठाएको पाएको छैन ।”

उनले किसान, महिला, दलितको अधिकारसँगै निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, आवासको हक, रोजगारीको हक, स्वच्छ पिउने पानीको हक जस्ता संविधानमा रहेका मौलिक हक कार्यान्वयनबारे कसैको चासो नदेखिएकामा चिन्ता व्यक्त गरे । उनले यी सबैको कारण सबै पार्टीका नेताको स्वार्थ सत्ता र शक्ति रहेको बताए ।

गएको निर्वाचनले कांग्रेसलाई ठूलो पार्टी बनाएकाले सो दायित्वलाई बुझ्दै जनतालाई ठुलो बनाउन चुक्नु नहुने उनले बताए । “यो व्यवस्था जनताका सेवाका लागि नभइ आफ्नै लागि, निजी स्वार्थका लागि प्रयोग गरिएकाले जनताको गुनासो बढिरहेको छ, यो सबै पार्टीका जनप्रतिनिधिमा देखिएको छ, यसले जनताको गुनासो झनै बढाउने काम गरिरहेको छ”, नेता सिटौलाले भने ।

उनले अहिलेको देश दौडाहा पार्टीको आउँदो महाधिवेशनसँग केन्द्रीत नरहेको बताए । “महाधिवेशनको तयारी सोही वर्षमा हुन्छ, त्यो समयमा विचार मिल्ने साथीको समूह बन्ने र समूहहरूबीच प्रतिस्पर्धा हुने पार्टीको आन्तरिक लोकतन्त्रमा स्वाभाविक प्रक्रिया हो, तर अहिले नै त्यसतर्फ लाग्नु हतारो हुन्छ ।”

उनले आउँदो महाधिवेशनबारे निर्णय लिनु अगाडि केन्द्रका नेतादेखि जनस्तरका कार्यकर्ताको कुरा बुझ्ने बताए । “म सबैको कुरा सुन्न चाहन्छु, बुझ्न चाहन्छु, पार्टीको विचार सम्प्रेषण गर्नेभन्दा पनि जनताको कुरा सुनेर समस्या सम्बोधन गर्ने छु, त्यसपछि मेरो धारणा सार्वजनिक गर्नेछु”, नेता सिटौलाले भने । आगामी भदौदेखि देश दौडाहामा निस्किने उहाँले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?