‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा प्रहरी र सेनाले पनि सेता कपडा लगाएका थिए’

सारांश

  • गोरखामा जन्मिएकी सीता मरहट्ठाले पशुपति क्षेत्रमा फूल बेच्न थालेको २४ वर्ष भइसकेको छ ।
  • २०४५ सालमा काठमाडौं आएकी सीताले पाँच वर्ष तरकारीको व्यापार गरिन् ।
  • पशुपति विकास कोषले आफ्नो परिसरमा तरकारी व्यापार निषेध गरेपछि सीताले विकल्प खोज्दै जाँदा फूलको व्यापार रोजिन् ।

गोरखामा जन्मिएकी सीता मरहट्ठाले पशुपति क्षेत्रमा फूल बेच्न थालेको २४ वर्ष भइसकेको छ । २०४५ सालमा काठमाडौं आएकी सीताले पाँच वर्ष तरकारीको व्यापार गरिन् । पशुपति विकास कोषले आफ्नो परिसरमा तरकारी व्यापार निषेध गरेपछि सीताले विकल्प खोज्दै जाँदा फूलको व्यापार रोजिन् । यो व्यापार शुरु गरेपछि अर्को उपायको खोजी गर्ननपरेको उनको अनुभव छ । धेरै पढ्न नसके पनि हातमा सीप भयो भने जस्तो काम पनि गर्न सकिने उनको अनुभव छ ।

सीता भन्छिन्– ‘काम भनेको सानोठूलो हुँदैन । फूल बेचेर व्यापार नै चल्दैन भन्नु एकदमै गलत कुरा हो । मैले यही काम गरेर परिवार पालिरहेकी छु । यो काम जसले पनि गर्न सक्छ । यो काम धेरै जस्तो भगवान कै लागि नै गरिन्छ । फूल व्यापारमा मजाले रमाएकी सीताले जीवनका अनुभवहरु यसरी बताईन् । विस्तृत उनकै शव्दमा :–

तरकारीको बदलामा फूल
मैले यहाँ काम गर्न थालेको २०५० सालदेखि हो, अब २४ वर्ष भयो । पहिला सागसब्जीको व्यापार गरियो तर पशुपति विकास कोषले त्यो काम गर्न दिएन । अनी फूलको व्यापार शुरु गरेको हो । यसमा पनि कतिपटक दुःख दिइसकेको छ । केहीदिन अघिमात्र यहाँ कुनैपनि फूलपसल राख्न नदिने भनेर उठाउँदै हिँड्यो । अब यो कस्तो नियम हो थाहा छैन् । पुलिसहरु आएर यहाँका सबै फूल पसलहरु हटाएका छन् । यसका लागि कसलाई गुहार्न जाने हामी । हाम्रो रोजीराटी नै यही हो । यही काम गर्न नदिए अरु के गर्ने ?

पहिले र अहिले आनकातान फरक
पहिला त यहाँ केही पनि थिएन भन्दा पनि हुन्छ । एकदमै कम पसलहरु थिए । बाटो पनि अहिले जस्तो कहाँ थियो र ? एउटा पुरानो घरमा पसल थियो । यही बस्ने गथ्र्यौं हामी । पहिला यही घरमा सातआठ हजार भाडा तिर्थे भने अहिले ३० हजार तिर्छु । अहिले त्यो घर भूकम्पले भत्किसक्यो । पहिला धेरै सामान बिक्री हँुदैनथ्यो । मान्छेहरु धेरै सामान किन्दैनथे । थोरैले नै पुग्थ्यो । हामीसँग पनि त्यहि अनुसार सामान हुन्थ्यो ।

तर अहिले धेरै परिवर्तन भइसकेको छ । मान्छेलाई हरेक कुरामा सुविधा छ । मान्छेहरु पनि धेरै भए । अहिले व्यापार राम्रो भए पनि सामानहरु महंगो भएको छ । पहिला अहिलेको जस्तो केही थिएन । अहिले धेरै कुराहरुमा परिवर्तन भएको छ । पहिला विकास कोष नै थिएन । फेरि अहिले जस्तो मान्छेहरु धेरै आउने धेरै हल्लाखल्ला हुनेखालको केही पनि थिएन । अहिले मान्छेहरु पनि धेरै भए र जताततै सुविधा नै सुविधा छ ।

काम सानो ठूलो हुँदैन
काम भनेको सानो ठुलो हुँदैन । फूल बेचेर व्यापार नै चल्दैन भन्नु एकदमै गलत कुरा हो । मैले यही काम गरेर परिवार पालिरहेकी छु । यो काम जसले पनि गर्नसक्छ । यो काम धेरै जस्तो भगवान कै लागि नै गरिन्छ ।

परिवार नै सहभागी
मेरो परिवारमा छ जना छौं । घरमा म र छोरा कमाउने हो । कमाइले पुगेकै छ भन्नुपर्छ । श्रीमानले पनि धेरै सहयोग गर्नुभएको छ । म एक्लैले त कहाँ सक्थे होला र ? परिवारको सहयोग त जहाँ पनि चाहिन्छ नि । छोरा भारतीय राजदुतावासमा काम गर्छ तर के काम गर्छ मलाई थाहा छैन । उसले धेरै पढेको छैन । सानतिनो कामहरु गर्छ होला ।

व्यापार हुने समय बिहान
बिहान ६ देखि ७ बजेकोबीचमा राम्रो व्यापार हुन्छ त्यसपछि अलिअलि फाट्टफुट्ट व्यापार हुन्छ । दिउँसो फूल लिन आउने भनेको प्राय मन्दिरको लागि भन्दा पनि अरु नै कामहरुका लागि हो ।

अनेकथरीका फूल आउँछन्
मेरोमा धेरै थरिका फूलहरु आउँछन् । मौसम अनुसारका फूलहरु हुन्छन् । फरक फरक फूलहरु आउँछन् । लाहुरे, सयपत्री, ज्ञानमैजु, असर्फी र नौरंगीहरु यस्तै यस्तै फूलहरु हुन्छन् ।

फूलको दरभाउ अनेक छन्
अहिले असर्फी फूलको चलन हो त्यो महंगो नै छ । होलसेलले मसँग ५० रुपैयाँ लिन्छन् म त्यसलाई ६० देखि ७० रुपैयाँमा बेच्छु । अरु फूलहरु चाहिँ कोही २० रुपैयाँको तीनवटा दिन्छन् । कुनै १० रुपैयाँ लिन्छन् । फूल त यही इचङगुनारायणबाट ल्याउने गरेको छु । मलाइ फूल ल्यादिने मान्छेहरु एकै ठाउँबाट नै हो । फूल दिने मान्छेहरु धेरैजना हुन्छन् । यसको मतलब त्यहि ठाउँबाट होलसेलका फूलहरु लिएर विभिन्न व्यापारीहरु आउँछन् । पैसा त फूलहरु हेरेर पनि हुन्छ । उनीहरु दिएको भाउमा बेच्ने हो भने त कसरी परिवार पाल्नु र कसरी यो महँगो शहरमा बस्नु ?

मन्दिरभित्र जाने फूल
धेरैले थोरैथोरै फूल लान्छन् । मन्दिर भित्रकै मुख्य भगवानको पूजाका लागि भनेर करिब आठ हजार जतिका फूलहरु यहाँबाट लाने गरेका छन् । यो एकदिनमा होइन नि महिनाको हो ।

फूल किन्न थरीथरीका ग्राहक
यहाँ धेरै ठुलाबडाहरु पनि फूल किन्न आउँछन् । उनीहरुको अनुहार म चिन्छु तर नाम मलाई भन्न आउँदैन् । आर्मी, मन्त्री कलाकार, पत्रकार सबै आउँछन् तर नाम म चिन्दिन । यो सन्तान थरिथरि भने जस्तै हो । एउटै परिवार त मिल्न गाह्रो हुन्छ भने बाहिरबाट फूल किन्न आउने ग्राहकको के कुरा । कोही कम पैसामा दिनु हामीलाई किन महंगो भयो भन्छन् । कोही ५ रुपैयाँमा जति दिए पनि हुन्छ भन्ने पनि आउँछन् ।

ठूलाबडाका लाश

यहीँ बसेर मैले गणेशमान सिंहदेखि गिरिजाप्रसाद कोइरालासम्मको लाश जलेको देखँे । धेरैजस्तो ठूला नेताहरुको लाश जलेको पनि देखियो । अझ दरबार हत्याकाण्डपछि राजारानी मर्दा त कफ्र्यु नै लागेको जस्तो भएको थियो । झन् राजाको जेठो छोरा दीपेन्द्रको लाश ल्याउँदा त पुलिस आर्मी पनि सेता लुगा लगाएर आएका थिए । त्यो समय अहिले सम्झँदा पनि जिउ नै सिरिङ हन्छ ।

फूलबाट गुजारा चलेको छ
अब राम्रो नराम्रो त यस्तै हो, जे भए पनि गुजारा चलेको छ । परिवारलाई पालनपोषण गर्न पुगेको छ । डेराभाडा तिरिएको छ । खान पुगेको छ । यसैको कमाईले बिहे दान पनि गरियो । त्यहि त हो ।

मेरो दैनिकी
म ४ः३० बजे आउँछु । पसल खोल्छु । फूलको व्यापार गर्छु । ११ बजे खाना खान घर जान्छु । अनि एकछिन आराम गर्छु र १२ बजेतिर फूल बेच्न यहीँ आउँछु । बेलुकी जाडोमा त चाँडै नै बन्द गर्छु । नत्र अरुबेला ७ बजेपछि पसल बन्द गर्छु । सरलपत्रिका

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dev Raj Bharati

    त्याे देशमा भएकाे अनुशासन हाे ।

    Comment Author

    Rajendra Paudel

    अब १६ बर्ष पछि के कुरा निकालि राखेकाे हाेला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?