राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २८, २०७५
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्र भाषा संरक्षणमा चासो , प्रत्येक समुदायले बोल्ने राष्ट्र भाषालाई पाठ्यक्रममा समाबेश गर्न माग

सारांश

  • काठमाडौं, २८ जेठ ।
  • नेपालमा बोलिने  भाषा लोप हुने स्थितिमा पुगेकोप्रति सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ ।
  • नेपालभाषा क्लब टोखाले आयोजना गरेको कार्यक्रममा उहाँहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै संरक्षणको लागि पहल थाल्न सचेत गराएका हुन् ।

काठमाडौं, २८ जेठ । नेपालमा बोलिने  भाषा लोप हुने स्थितिमा पुगेकोप्रति सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ ।

नेपालभाषा क्लब टोखाले आयोजना गरेको कार्यक्रममा उहाँहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै संरक्षणको लागि पहल थाल्न सचेत गराएका हुन् ।

कार्यक्रममा बोल्दै भाषासेवी डा महेशमान श्रेष्ठले राष्ट्रिय विभूति सिद्धार्थ गौतम बुद्धको ‘पाली भाषा’ देखि ‘संस्कृति भाषा’ पछिल्लो समय मृततुल्य भएकोप्रति चिन्ता व्यक्त गरे ।  सन् २०११ मा लिइएको जनगणना अनुरुप नेपालमा १२३ प्रकारका फरक भाषा बोल्छन् । ती मध्ये नेपाली बाहेक अधिकांस राष्ट्र भाषा संरक्षणको पर्खाइमा रहेको उहाँको भनाई थियो ।

‘संघीय संरचना बनिसकेको सन्दर्भमा प्रत्येक प्रदेशका बहुसंख्यक समुदायले बोल्ने राष्ट्र भाषालाई विद्यालयस्तरको पाठ्यक्रममा समाबेश गर्नुपर्छ । हाल लागु गरिएको माध्यमिक तहको पाठ्यक्रमलाई परिमार्जित गर्दै मातृभाषा (राष्ट्र भाषा) अनिवार्य विषय बनाउनुपर्छ ।’ डा श्रेष्ठको भनाई थियो । पछिल्लो समय राष्ट्र भाषालाई ऐच्छिक बनाएर प्राविधिक विषयसँग समावेश गरेको छ । त्यसैले पनि विद्यार्थीले राष्ट्र भाषा अध्ययन गर्न नपाएको भन्दै उहाँले गुनासो गरे ।

त्यस्तै, भाषासेवी विद्यादेवी चित्रकारले पनि राष्ट्र भाषा संरक्षणको लागि घर घर देखि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । अभियानको क्रममा राष्ट्र भाषाका प्रयोगकर्तालाई अवसर दिएर नीतिगत तहमा सहि ढंगले व्यवस्थापन गर्न सुझाव दिइन् ।  नेपाल सरकारले २०७३ भदौ २३ गते बिहिबार गठन गरेको भाषा आयोगलाई राष्ट्र भाषा तथा लिपि सम्बन्धिको विकास मापन गरी सुझाव दिन भनेको छ । नेपालको संविधान २०७२ को धारा २८७ ले पनि भाषा आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गरेको छ । यो आधारले पनि नेपालका राष्ट्र भाषा, मौलिक लिपि संरक्षण र प्रयोगमा चासो देखाउनु आवश्यक छ । बहुभाषिक देश नेपालमा राष्ट्र भाषा संरक्षण गर्ने नाउँमा भाषा आयोग बनाएर सुझाव दिन भनिरहेको अवस्थामा माध्यमिक तहमा पाठ्यक्रम नै परिमार्जित गर्नुपर्नेप्रति सरोकारवाला पक्षले सुझाएको हो ।

भाषा बचाउ अभियान सन्चालन गर्दै आएको नेपालभाषा क्लबले काठमाडौंको टोखामा एक कार्यक्रमकाबीच वाक कला क्षमता अभिवृद्धि प्रशिक्षणमा सहभागी ४५ जनालाई प्रमाण–पत्र दिइएको संयोजक श्रीकृष्ण मानन्धरले जानकारी दिए । सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको १५ दिने कार्यक्रममा स्थानिय जनप्रतिनिधि, शिक्षक, साहित्यकार देखि युवाहरुको उत्साहप्रद सहभागिता थियो।

विगत केहि वर्ष यता देखि राष्ट्र भाषा प्रयोग सम्बन्धि जनचेतना जगाउन क्लबले व्यानर प्रदर्शन गर्ने, युवाहरुको अन्तरनिहीत व्यक्तित्व विकास गराउने, सम्बन्धित क्षेत्रलाई सचेत गराउने लगायतका कार्यक्रम गर्दै आएको क्लबका नमस्ते साय्मिले जानकारी दिए ।

उहाँले नेपालभाषा क्लबको शाखा बिस्तार अभियान देशैभर शुरु भइरहेको जानकारी दिँदै भक्तपुरको मध्यपुर थिमि, काठमाडौंको कीर्तिपुर तथा टोखा, ललितपुर, हरिसिद्धिलगायतका शाखाले पनि आ–आफ्ना गतिविधि सन्चालन गर्दै आएको बताए ।

औपचारिक कार्यक्रम पश्चात् टोखाका युवा युवतीहरुले मौलिक भेषभुषामा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।       

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ