रोल्पामा रिङ रोड र केबलकारको सपना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
रोल्पामा रिङ रोड र केबलकारको सपना

सारांश

  • रोल्पा (लिबाङ) : वाम गठबन्धनका रोल्पाली उम्मेदवारहरूले बिहीबार सदरमुकाम लिबाङमा साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
  • प्रतिवद्धता पत्रमा रोल्पामा ‘रिङ रोड’ बनाउने, केबलकार निर्माणको सम्भाव्यता अध्ययन गर्नेसम्मका महत्वकांक्षी योजना सार्वजनिक गरिएका छन्।
  • प्रतिनिधि सभाका उम्मेदवार एवं माओवादीका नेता वर्षमान पुन ‘अनन्त’ लगायत उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

रोल्पा (लिबाङ) : वाम गठबन्धनका रोल्पाली उम्मेदवारहरूले बिहीबार सदरमुकाम लिबाङमा साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। प्रतिवद्धता पत्रमा रोल्पामा ‘रिङ रोड’ बनाउने, केबलकार निर्माणको सम्भाव्यता अध्ययन गर्नेसम्मका महत्वकांक्षी योजना सार्वजनिक गरिएका छन्।

प्रतिनिधि सभाका उम्मेदवार एवं माओवादीका नेता वर्षमान पुन ‘अनन्त’ लगायत उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्। ‘हाम्रो एक दशक जनयुद्धमा बित्यो। एक दशक जनयुद्ध लगायत विभिन्न कालखण्डका राजनीतिक क्रान्तिका उपलब्धि संस्थागत गर्नका लागि संविधान बनाउनमै बित्यो’, साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पूर्व अर्थमन्त्री समेत रहेका अनन्तले भने, ‘शान्ति प्रक्रियामा रोल्पामा अपेक्षित विकास भएका छैनन्। अबको दशकमा विकास निर्माणको क्रान्ति गर्छौँ।’

प्रदेशसभाका उम्मेदवार एवं माओवादी केन्द्रका पोलिटब्युरो सदस्यद्वय कुलप्रसाद केसी र दीपेन्द्र पुन, प्रतिनिधि सभाका समानुपातिक सदस्य एवं नेतृ जयपुरी घर्ती, समानुपातिक उम्मेदवार कर्मलाल परियार, सीता आचार्य, नेकपा एमालेका प्रदेश तर्फका समानुपातिक उम्मेदवार कुमार दशौदीले ‘समृद्ध रोल्पा र सुखी रोल्पाली बनाउने अभियान’ हुने प्रतिबद्धता सार्वजनिक गरे। पाँच वर्षका लागि चुनिने भए पनि उनीहरूले एक दशकको योजना सार्वजनिक गरिएको छ।

जिल्लाकै गौरवका लागि भन्दै बाह्य रिङरोडका रुपमा होलेरी–दहवन–निगालपानी–कोइला–जिनाबाङ–पाखापानी–दलसिंगे–कालापोखरा–पाछाबाङ–स्यानीगाड–राङकोट–कुरेली–मिरुल–थबाङ– उवा–सेरम–गाम–स्यूरी–पाङ–सिर्प–तेबाङ–अरेस–खुंग्री–घोडागाउँ–उँघा–सुर्पाल–होलेरी ट्रयाक खोल्ने प्रतिवद्धतामा उल्लेख छ।

‘सुलीचौर–उवा–थबाङ–दुईखोली–घर्तीगाउँ–नुवागाउँ–होलेरी–सुर्पाल–घोडागाउँ–खुंग्री– सुलीचौरलाई जेडिनेछ र कालोपत्रे गरिनेछ’, नेता अनन्तले भने, ‘ रोल्पाका सबै गाउँपालिकाका केन्द्रसम्म कालोपत्रे सडक निर्माण गरिनेछ।’ प्रतिवद्धता पत्रमा करिव दुई दर्जन सडक निर्माण गर्ने उल्लेख छ। रोल्पा नगरपालिकामा भित्री रिङरोड बनाउने योजना अघि सारिएको छ।

प्रत्येक गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण गर्ने, जिल्ला अस्पताललाई एक सय वेडको बनाई विशेषज्ञ डाक्टर सहितको सुविधायुक्त बनाउने उल्लेख छ। प्रत्येक गाउँपालिकामा सरकारी एम्बुलेन्सको व्यस्था गरिने, एक घर एक स्नातक, एक गाउँपालिका एक प्राविधिक शिक्षालय बनाउने र हरेक माविमा ई–लाइब्रेरी बनाउने अवधारण अघि सारिएको छ। घरघरमा बिजुली पुर्‍याउने, खुङ्ग्रीमा विद्युत गृह स्थापना गरी २५२ मेगावाट र  माडिचौरमा २४६ मेघावाट जलविद्युत उत्पादन गरिने योजना छन्। ‘परम्परागत कृषि उत्पादन प्रणालीलाई आधुनिकीकरण गर्ने र  युवाहरूलाई व्यवसायिक कृषिमा लाग्न र स्वरोजगारमा प्रोत्साहित गरिनेछ’, घोषणापत्रमा उल्लेख छ।

एक गाउँ एक बैंक, सामाजिक सुरक्षा भत्ता वृद्धि, युद्धका मृतक परिवार, घाइते अपांगका छोराछोरीलाई निःशुल्क शिक्षासम्मका योजना सार्वजनिक गरिएको छ। पर्यटन, कृषि, वन वातारण संरक्षण, साना उद्योग निर्माणका योजना समेटिएको प्रतिवद्धता पत्र अक्षरशः लागू गर्ने दावी उम्मेदवारहरूको छ। लिबाङदेखि धबाङ–जलजला–थबाङ केबलकारको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ।

यद्यपि, विगतका चुनावताका धार्मिक तथा पर्यटक स्थल जलजलासम्म माओवादीले केबलकार निर्माण गर्ने घोषणा पत्रमा उल्लेख गरेको थियो। काम भने हुन सकेको थिएन। १६ पृष्ठको प्रतिवद्धतामा भौतिक पूर्वाधार निर्माणलाई जोड दिइएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gopal Karki

    2 choti janata lai thager chunab jiteko .feti thager chunab jitbe dauma ho kamred.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?