लमजुङका उम्मेदवार भोट माग्न खेत-खलामै
सारांश
- यतिबेला लमजुङका किसानहरुलाई खेतबारीमा लगाइएका बाली थन्क्याउने चटारो छ भने नेताहरुलाई चुनावी प्रचारप्रसारको ।
- अरुबेला खासै नागरिकको घरदैलोमा नपुग्ने विभिन्न राजनीतिक दलका नेता अहिले आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुग्न थालेका छन् ।
- उनीहरु मत माग्दै किसानका खेतखलामै पुग्न थालेका छन् ।
यतिबेला लमजुङका किसानहरुलाई खेतबारीमा लगाइएका बाली थन्क्याउने चटारो छ भने नेताहरुलाई चुनावी प्रचारप्रसारको । अरुबेला खासै नागरिकको घरदैलोमा नपुग्ने विभिन्न राजनीतिक दलका नेता अहिले आफ्नो पक्षमा मत माग्न गाउँगाउँ पुग्न थालेका छन् ।
उनीहरु मत माग्दै किसानका खेतखलामै पुग्न थालेका छन् । विकास र समृद्धिका अनेकन सपना बाँडेका छन् । ‘गाउँमा खासै मतदाता नभेटिएपछि खेतखलामै पुगेर भोट मागेका छौँ’ दल तथा दलका उम्मेदवारहरुले बताएका छन् ।
चुनावका बेला मात्रै होइन चुनाव जितेपछि पनि जिल्लाको विकासमा हातेमालो गर्नुपर्ने लमजुङ दुधपोखरी गाउँपालिका विचौरका रामहरी दवाडी बताउँछन् ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच चुनावी प्रतिस्प्रधा
लमजुङमा मुख्यतः लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । लमजुङमा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभाका लागि कांग्रेसका पुराना नेता दीलबहादुर घर्ती चुनावी मैदानमा छन् ।
दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेशसभा ‘क’ का लागि लोकतान्त्रिक गठबन्धनले कांग्रेसका गर्जबहादुर गुरुङ र प्रदेशसभा ‘ख’ बाट कांग्रेसकै कृष्णप्रसाद कोइरालालाई चुनावी मैदानमा उतारेको छ ।
यसैगरी, वाम गठबन्धनले प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका प्रभावशाली नेताको रुपमा परिचित देवप्रसाद गुरुङलाई चुनावी मैदानमा खडा गरेको छ । वाम गठबन्धनले प्रदेशसभा ‘क’ मा एमालेका धनञ्जय दवाडी र प्रदेशसभा ‘ख’ मा एमालेकै पृथ्बीसुब्बा गुरुङलाई चुनावी मैदानमा उतारेको छ ।
विभिन्न दल तथा दलका उम्मेदवारसँग लमजुङे नागरिकले विकास र समृद्धिको आशा राखेका छन् । जसले जिते पनि जिल्लाको समग्र विकासमा लाग्नुपर्ने बेशिसहरका पशुपति घिमीरे बताउँछन् ।
चुनाव प्रचारप्रसारमा व्यस्त रहेका लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारहरुले जीत आफूहरुकै पोल्टामा पर्ने आ–आफ्नै दाबी र तर्क गर्दै आएका छन् । लमजुङ जिल्ला कांग्रेसको किल्ला रहेकाले आफूहरुले चुनाव जित्ने लोकतान्त्रिक गठबन्धनको तर्क छ ।
जिल्लाको धेरै स्थानीय तह वामले जितेको र एमाले माओवादीबीचको गठबन्धन भएको हुँदा आफूहरुले चुनाव जित्ने वाम गठबन्धनका उम्मेदवारहरुको तर्क छ ।
आउँदो मंसिर १० गते हुन लागेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको सरगर्मी यहाँ ह्वात्तै बढेको छ । मेलापात, वनपाखा, खेतबारी, चोकचौतारी, चियापसल, पानीपधेँरा जताततै अहिले चुनावकै विषयमा चर्चा हुन थालेको छ । लमजुङमा विभिन्न दल तथा दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा जुटिसकेका छन् । नागरिकहरु मतदान गर्न उत्साहित छन् ।
प्रतिक्रिया