वाणिज्य बैंकहरुले १७ प्रतिशतसम्म लाभांश दिने
सारांश
- काठमाडौं ।
- वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट सेयरधनीलाई अधिकतम औसत १७ प्रतिशतसम्म लाभांश दिनेसक्ने अवस्था रहेको छ ।
- वाणिज्य बैंकहरूको गत आर्थिक वर्षको नाफा र चुक्ता पुँजीको अवस्थालाई हेर्दा दोहोरो अंकको औसत लाभांश बाँड्न मिल्ने देखिएको हो ।
काठमाडौं । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट सेयरधनीलाई अधिकतम औसत १७ प्रतिशतसम्म लाभांश दिनेसक्ने अवस्था रहेको छ । वाणिज्य बैंकहरूको गत आर्थिक वर्षको नाफा र चुक्ता पुँजीको अवस्थालाई हेर्दा दोहोरो अंकको औसत लाभांश बाँड्न मिल्ने देखिएको हो ।
गत आर्थिक बर्षमा बाणिज्य बैंकहरूको समग्र खुद नाफा वृद्धि १६ दशमलव ९३ प्रतिशत भएको तथ्यांक सार्वजनिक गरेका छन् । तथ्यांकअनुसार वितरण गर्न सकिने नाफा धेरैमा औसत लाभांश वितरण गर्नसक्ने अवस्था देखिएको हो । गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकहरूले ४८ अर्ब ८३ करोड ६९ लाख रूपैयाँ खुद नाफा गरेका छन् । यो नाफा वृद्धिदर अघिल्लो आवको तुलनामा करिब ८ प्रतिशतले कम रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि २५ प्रतिशतको थियो । बैंकहरूले गरेको खुद नाफावाट सञ्चित कोषमा २० प्रतिशत, समाजिक उत्तरदायित्वका लागि एक प्रतिशत तथा अन्य सञ्चितिका लागि एक प्रतिशत छुट्याएपछिको नाफालाई कुल सेयर संख्याले भाग गरी बैंकहरूले धेरैमा बढ्न सक्ने लाभांशको प्रतिशत निकालिएको हो । गत आवको नाफाबाट मात्र बैंकहरूले लगानीकर्तालाई प्रतिफल दिनसक्ने क्षमता हेर्दा औसत १७ प्रतिशतमात्र देखिन्छ ।
बैंकहरूले पुँजी बढाएअनुसारको प्रतिफल तत्काल नदेखिए पनि आगामी वर्षमा पुँजी वृद्धिअनुसारको प्रतिफल लगानीकर्तालाई दिने अवस्थालाई गत आवका औसत लाभांशले देखाउने गरेको पाइएकोछ । औसतमा १७ प्रतिशत भए पनि संस्थाले गरेको कार्यसम्पादन अनुसारको प्रतिफल भने फरक पाइने गरेकोछ । सर्वसाधारणमा सेयर बिक्री गरेका २७ वाणिज्य बैंकमध्ये गत आवमा धेरैमा ६ प्रतिशतदेखि ३९ प्रतिशतसम्म लाभांश दिनसक्ने अवस्थामा छन् ।
गत आवमा बैंकहरूले गरेको व्यवसायअनुसार लगानीकर्ताका लागि प्रतिफल निर्धारण हुन्छ । बैंकहरूले गत आवमा दिनसक्ने यो प्रतिफल धेरै दिएको खण्डमा अर्थत कानुनी व्यवस्था पुरा गरी बाँकी रहेको नाफा सम्पूर्ण वितरण गरेको खण्डमा उक्त नाफा दिन सक्नेछन् । गत आवमा सबैभन्दा धेरै नाफा गरेको नबिल बैंकले ४ अर्ब ५ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ । यो नाफाबाट सञ्चित घटाएर सम्पूर्ण बाँडेको खण्डमा बैंकले लगानीकर्तालाइ ३९ प्रतिशत लाभांश दिनसक्छ ।
लाभांश दिन सक्ने क्षमताका आधारमा पनि नबिल नै बैंक पहिलो देखिएको छ । तथापि सबैभन्दा थोरै ६४ करोड ५० लाख रूपैयाँ खुद नाफा गरेको सिभिल बैंकले सञ्चितपछि बचेको नाफा सेयरधनीलाई सम्पूर्ण बाँडेको खण्डमा ६ प्रतिशतमात्र लाभांश दिनसक्छ । गत आवमा खुद नाफावाट सञ्चिती घटाएर बाँकी रहेको नाफा सम्पूर्ण सेयरधनीलाई वितरण गरेको खण्डमा ८ वाणिज्य बैंकले मात्र २० प्रतिशतभन्दा धेरै लाभांश दिनसक्ने अवस्था तथ्याकअनुसार देखिएको छ ।
प्रतिक्रिया