वाम एकता र युवा सतर्कता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
वाम एकता र युवा सतर्कता

सारांश

  • किरण पौडेल इतिहासको सम्मान गर्दै आफ्नो भविष्य निर्माणका लागि साम्राज्यवादबिरुद्धको संघर्ष निरन्तर अघि बढ्ने अपिलका साथ तय गरिएको विशेष नाराका साथ १९ औं विश्व युवा विद्यार्थी महोत्सव केही महिना पहिले रसियामा सम्पन्न भएको थियो ।
  • विश्वभरका १०० भन्दा बढी राष्ट्रका युवा विद्यार्थीहरुबीच साम्राज्यवादबिरुद्धका संयुक्त धारणा तथा अभियानहरु तय भइरहँदा त्यसको एक साताअघि मात्र नेपालमा यहाँका दुई ठूला कम्युनिस्ट पार्टीहरुको बीचमा आपसी सहकार्य, चुनावी तालमेलदेखि पार्टी एकतासम्मको रोडम्याप तैयार पारी त्यसको जगमा समाजवादको आधार निर्माण सहितको अभियान प्रारम्भ भएको थियो ।
  • जसको ताजा र स्वाभाविक परिणाम मुलुकमा दुई तिहाईसहितको स्थिर तथा बलियो सरकार र समृद्धिको यात्राका लागि तम्तयार परिवेश हाम्रोसामु छ ।

किरण पौडेल

इतिहासको सम्मान गर्दै आफ्नो भविष्य निर्माणका लागि साम्राज्यवादबिरुद्धको संघर्ष निरन्तर अघि बढ्ने अपिलका साथ तय गरिएको विशेष नाराका साथ १९ औं विश्व युवा विद्यार्थी महोत्सव केही महिना पहिले रसियामा सम्पन्न भएको थियो । विश्वभरका १०० भन्दा बढी राष्ट्रका युवा विद्यार्थीहरुबीच साम्राज्यवादबिरुद्धका संयुक्त धारणा तथा अभियानहरु तय भइरहँदा त्यसको एक साताअघि मात्र नेपालमा यहाँका दुई ठूला कम्युनिस्ट पार्टीहरुको बीचमा आपसी सहकार्य, चुनावी तालमेलदेखि पार्टी एकतासम्मको रोडम्याप तैयार पारी त्यसको जगमा समाजवादको आधार निर्माण सहितको अभियान प्रारम्भ भएको थियो । जसको ताजा र स्वाभाविक परिणाम मुलुकमा दुई तिहाईसहितको स्थिर तथा बलियो सरकार र समृद्धिको यात्राका लागि तम्तयार परिवेश हाम्रोसामु छ ।

मुलुकको हितका निम्ति मात्र नभई विश्व समाजवादी आन्दोलनमै एउटा महत्वपूर्ण ऐतिहासिक कोशेढुङाको रुपमा उत्साहसाथ नेपाली युवाहरुले यस कदमको स्वागत गरिरहेका छन् । मूलतः साम्राज्यवाद र यसका सहायक पूँजीवाद र विस्तारबादको सामना र प्रतिरोध गर्नसक्ने हाम्रो राष्ट्रिय हैसियतलाई समेत यसले माथि उठाउनेछ भन्ने सुखद् सन्देश नेपाली युवा विद्यार्थी प्रतिनिधिले रसियासम्म लिएर गएका थिए ।

एकीकरणको यस पहलकदमीसँगै विभिन्न कोणबाट बजार हल्ला र चर्चा परिचर्चाहरु पनि मैदानमा खुलस्त आइरहेका छन् । उत्साहित पंक्ति पनि उत्तिकै छ भने यो कदम सफल हुँदा त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असरको सामना गर्नुपर्ने पंक्तिका लागि निश्चितरुपमा यो असह्य नै छ र त्यही किसिमका टिप्पणी र प्रतिक्रिया पनि आइरहेका छन् । यसबाहेकको अर्को एउटा ठूलो पंक्ति छ, जसले यसलाई खुलेर स्वागत गर्न सकिरहेका छैनन् तर भित्रीरुपमा कामना नै गरिरहेका छन् । प्रक्रियामा सामेल कतिपय दलहरुका विगतका अभ्यास र शैलीका कारण उत्पन्न आशंकाले अझै मनमा घर गरिरहेको हुन सक्छ तर परिस्थितिको गाम्भीर्यता र युगीन आवश्यकताको जगमा रहेर थालनी भएको आभास दिलाइरहेको यस प्रक्रियाप्रति आशंका र चिन्ता ब्यक्त गर्नुभन्दा यसको व्याबहारिक र प्रभावकारी कार्यान्वयनका लागि आआफ्नो तह र तप्काबाट यसलाई बल प्रदान गर्नु नै अहिलेका लागि हितकर देखिन्छ ।

यस ऐतिहासिक पहलकदमीको दूरगामी महत्व र औचित्यताको सन्दर्भमा विभिन्न कोण र आधारहरुसहितका दृष्टिकोणहरु आइरहेका छन् तर यो लेख विशेषगरी साम्राज्यवाद र यसका सहायक शक्तिका कारण मुलुक र युवाहरुले भोग्नु परेको नियतिका प्रसँग र त्यसको अन्त्यका लागि बाम एकताको भूमिकाको सेरोफेरोमै केन्द्रित हुनेछ । केही इतिहासका प्रसङ्ग समेत जोड्नु जरुरी छ । महोत्सवको स्लोगनमा उल्लेख गरेबमोजिम आफ्नो इतिहासको सम्मान गर्ने सन्दर्भलाई केलाउने हो भने दुनियाँमा साम्राज्यवादले सर्वत्र आफ्नो झण्डा गाडिरहेको अवस्थामा सानो भूगोल र जनसंख्याका माझ पनि हामी सदा अपराजित रह्यौं । यो माटोमा झण्डा गाड्न कसैले सकेनन्, तत्कालीन विश्वका १० राष्ट्रहरु जोसँग साम्राज्यवादीहरु हार खाए, त्यही १० मुलुकमध्यको एक प्रमुख राष्ट्रका युवा भएको नाताले पनि हामीले आफ्नो स्वाभिमानी शिरलाई सधैं उचो राख्नु पर्नेछ ।

दुनियाँका साम्राज्यवादी मुलुकहरुमा राज्यको उत्पत्ति नहुँदै हाम्रा पुर्खाहरुले सभ्यता र संस्कारका अनुपम उदारहणहरु संसारमाझ प्रस्तुत गरिसकेका थिए । विश्वशान्तिको सन्देश यही भूमिबाट प्रस्फुटित भयो । दुनियाँका धेरै देशहरु अन्नपानीको अभावमा भोकमरीले ग्रस्त हुँदा विश्वका केही निर्यातकर्ता मुलुकको सूचीमा नेपालको नाम दर्ज थियो । यस्तो गौरवमय इतिहास र अद्वितीय सफलताको गाथा बोकेको हाम्रो देश र युवाको अवस्था किन अस्वाभाविक ढंगबाट गुज्रिरहेको छ ? नेपालसँगै राजनीतिक विकासक्रम शुरु भएका विभिन्न देशका युवाहरुको जीवनस्तर, पहुँच र हैसियत हामीले देखिरहेका छौं तर नेपाली युवाहरु अझै पनि गरीबी, बेरोजगारी, पछौटेपन लगायतका समस्याहरुबाटै ग्रसित छन् । ती वीर पुर्खाको रगत प्रवाहित युवाहरु, दुनियाँभर ज्योति छरेका विद्वान पुर्खाका मस्तिस्कको जेनेटिक मेमोरीलाई अझ एड्भान्स बनाएर बोकिरहेका लाखौं नेपाली युवाहरु सुनमाथि सुतिरहेको देश छाडेर ५० डिग्री तापक्रममा परदेशको बालुवामा पसिना बगाउदै जीवन जिउन वाध्य छन् । असुरक्षित जीवन, पारिवारिक बिघटन, डिप्रेसन र फ्रस्टेसनबाट ग्रसित छन् । कथित रेमिट्यान्सका नाममा उर्वर र उत्पादनशील जीवनलाई मूल्यहीन तुल्याउने राज्यको नीतिनियमका कारण यो समस्या अझ भयावह बन्दैछ ।

प्राकृतिक स्रोतसाधनकै उपयोगका कारण केही राष्ट्रहरु विश्वकै धनी र सुखी राष्ट्र हुने तर नेपाल जस्ता प्राकृतिक स्रोतसाधनले सम्पन्न देशका जनता नै किन गरीब हुनुपर्ने ? त्यहाँकै राजनीति किन सधैं अस्थिर ? यो प्रश्न आज नेपालको मात्र हैन साम्राज्यवाद र विस्तारवादको चपेटामा पिल्सिरहेका धेरै देश र जनताका प्रश्न हुन् यी । विश्वकै ठूला सुनका भण्डारमध्यको एक सुडान किन अघि बढ्न सकिरहेको छैन ? पेट्रोलियम र अन्य स्रोतसाधनले सम्पन्न कैयौं देशहरुमा ब्याप्त राजनीतिक अस्थिरता के त्यहाँका जनताले नै निम्त्याएका हुन त ? अथवा जनताकै चाहना हुन् त ? त्यस्तो कदापि हैन, मूल जड त्यही हो, जुन विषयमा हामी केन्द्रित छौं । सुन, चाँदी, पेट्रोलियमदेसख युरेनियमका भण्डारमाथि सुतिरहेको नेपाल आज किन गरीब ? के नेपाली युवाहरुले यस्तो नियति भोग्न सुहाउँछ ? आम युवाहरुलाई अब हामीले यी प्रश्नहरुको जवाफ दिँदै यसको दिगो समाधानको बाटोतर्फ डोर्याउनु जरुरी भइसकेको छ । किनकि हामीलाई फेरि पनि हाम्रा सन्ततिका लागि मात्र भन्ने छुट छैन । धेरै पछाडि परिसकेका छौं, आफ्नै जीवनकालमा यही पुस्ताले महसुस गर्ने गरी देशलाई द्रुत विकासको बाटोमा अघि बढाउनु छ ।

नेपाली युवाहरुको भविष्यको सुनिश्चितताका लागि, मुलुकलाई सबल, समृद्ध बनाउने, तीब्र विकासको बाटोमा अघि बढाउने प्रष्ट नीति र कार्यक्रमका साथ अघि बढिरहेको केपी ओली नेतृत्वको सरकारलाई ९ महिनामै ढालियो । देश र जनताको हितमा काम गरेबापत नै मैदान बाहिरबाटै चालिएका मिसनहरु र त्यसको परिणामले आम युवाहरुलाई निराश बनायो । त्यस सरकारले अघि सारेका मुलुकको दिगो विकासमा आधारित महत्वपूर्ण ऐतिहासिक कार्यक्रमहरुलाई लत्याउदै गइयो । त्यतिमात्र हैन आफ्नो देशको संविधान आफै बनाएबापत कसैका बाहिरी स्वार्थहरु समेट्न नसकेको आरोपमा हामीले कष्टप्रद ९ महिने नाकाबन्दीको सामना गर्नुपर्यो । यस्तो बेलामा जुनबेला सिङ्गो मुलुक भयानक महाभूकम्पको पीडाबाट ग्रसित थियो र महत्वपूर्ण साँस्कृतिक पर्वहरुमाझ हामी थियौं । यो पछिल्लो ताजा स्मरण मात्र हो । यस्ता अनेकौ श्रृंखलावद्ध षडयन्त्र र हमलाको शिकार वामशक्तिहरु र विशेषगरी नेकपा एमाले नै हुने गरेको छ ।

देशको कूल वार्षिक बजेट जति छ, आइएनजिओको नाममा त्योभन्दा बढी रकम भित्रिएका छन् तर त्यसको प्रतिफल के छ ? अध्ययन अनुसन्धान अनि नेपाल सरकारसँग नहुने स्वदेशी तथ्यांकलाई फेरि विदेशबाट आयात गर्नुपर्ने ? अनुदानका ठूला रकमसँग छिर्ने विषाक्त स्वार्थहरुले गरीब राष्ट्रहरुमा पारेको दीर्घकालीन असरहरु युवापुस्ताका लागि चिन्ताको बिषय बनेको छ । त्योभन्दा बढी अझ नेपाल र अन्य गरीब र विकासशील राष्ट्रका कालोपत्रे सडकमा नीलो प्लेटका गाडीहरु जति बढी कुद्छन्, लाग्छ ती देशका नीलो आकाशलाई कालो बादलहरुले घेर्ने प्रयत्न भइरहेका छन् । आशंका यत्तिकै उत्पन्न भएको छैन किनकि बिखण्डनको चर्को आवाज बोल्नेहरु, राष्ट्रिय हित विपरीत गतिविधि गर्नेहरु त्यस्तै घेराको संरक्षणमा रहेको तथ्य बेला बेला आउने गर्छन् ।

खुल्लमखुल्ला देखिने वैदेशिक हस्तक्षेपका माध्यमबाट हाम्रो विदेश नीति लगायतका महत्वपूर्ण नीतिहरुलाई कमजोर बनाउन भइरहेका प्रयत्नका अलावा मुलुकको आर्थिक प्रणालीमा समेत अन्तर्रास्ट्रिय मैदानबाट घुसाइने विभिन्न स्वार्थ, एकाधिकार पूँजीवाद आदिका कारण मुलुकको कूल ग्राहस्थ उत्पादन र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्रशस्त चुनौतिहरु देखा पर्दैछन् । जसले नेपालजस्ता धेरै देशलाई जबर्जस्ती परनिर्भरताको बाटोतर्फ धकेल्ने प्रयास गरिरहेका छन् । हाम्रा हरेक राजनीतिक परिवर्तनसँगै देशको आन्तरिक नीतिहरुबीच विभिन्न इन्ट्रेस्ट घुसाउने प्रयत्न हुन्छ र हाम्रा प्राकृतिक स्रोतसाधनमाथि बार्गेनिङ सुरु हुन्छन् । नेपालको गरीबी र अस्थिरताका नाममा आफ्ना भूराजनीतिक अध्ययन र इन्ट्रेस्ट पूरा गर्ने, त्यसका लागि आवश्यक विषाक्त इन्जेक्सनहरु विभिन्न दल, संघसंस्था, जाति, समुदायमा छर्दै एउटा पेरियोडिक चक्रमा ब्युँतिने गरी यो भूमिलाई एक अविछिन्न आन्दोलनको रणभूमि र प्रयोगशाला बनाइरहने साम्राज्यवाद, पूँजीवाद र विस्तारवादको जुन मिसन छ, त्यो नै हाम्रो देशको प्रगति र उन्नतिको मुख्य बाधक हो भन्ने कुरा आम युवाहरुमाझ प्रस्तुत गर्दै त्यही अनुरुपको अबको यात्रा तय गर्नका लागि अपिल गर्नु जरुरी छ ।

प्रजातन्त्र प्राप्तिपश्चातको झन्डै ३ दशकको यो अवधिको अधिकांश समय नेपालको शासनसत्ता र अर्थतन्त्रमा नेपाली कांग्रेसले हालीमुहाली गर्यो । आम जनताले महसुस गर्नेगरी देश र जनताका पक्षमा नेपाली कांग्रेसले यी कामहरु गरेको छ भन्ने प्रष्ट आधार ऊसँग छैन तर एमालेले अघि सारेका लोकप्रिय कदमहरुको विरुद्ध नियोजित वक्तव्यबाजी गर्दै जनतामा भ्रम छर्ने प्रयास गरिरहन्छ । यस बीचमा ब्याप्त गरीबी, वेरोजगारी, विदेश पलायन र भ्रष्टाचार लगायतका हाम्रा मुल समस्याको जड भनेकै नेपाली कांग्रेस, उसको अकर्मण्यता र गलत नीति हो । बाह्य बाधक शक्तिका विषयमा उसको कुनै प्रष्ट नीति छैन । यस विषयमा कहिल्यै मुख खोल्दैन । उल्टै शक्ति र सत्ताका निम्ति उनीहरुको सहजकर्ताको भूमिका निर्वाह गर्छ । देशका महत्वपूर्ण र सम्वेदनशील आन्तरिक नीतिहरुमा उनीहरुलाई हावी गराउँदै जान्छ र एकपछि अर्को गर्दै हाम्रा प्राकृतिक स्रोतसाधनहरु सुम्पिदै जान्छ ।

सहकार्यको नाममा वाम शक्तिहरुलाई प्रयोग गर्दै उनीहरुलाई सकाउने खेलमा लाग्छ । लोकतन्त्रको मसिहाको रुपमा त्यसको स्वघोसित ठेकेदारको रुपमा आफ्नो प्रचार बाजी गर्छ अनि निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन राज्यसत्ताको चरम दुरुपयोग गर्नेदेखि लिएर बुथ कब्जा गर्नेसम्मका हर्कत देखाउँछ । उसकै शासनमा गोपाल खड्का र लोकमान सिंह कार्कीहरुको मनोबल बढ्ने र सुशीला कार्की र नवराज सिलवाल जस्ताले असुरक्षित महसुस गर्नुपर्ने स्थिति पैदा हुन्छ । वर्तमान र भविष्यको कुरा गर्दैन । भिजन र कार्यक्रमहरु केही छैन । केवल इतिहास भजाउँदै वीपीको आदर्श र समाजवादको रटानकै भरमा शासन गर्न खोज्छ तर अन्य दलका स्थापित र लोकप्रिय समाजवादी कार्यक्रमहरुको खिल्ली उडाउँछ । यसकारण नेपाली कांग्रेसले आम नेपाली युवाहरुको भावनाबमोजिम तीव्र विकास तथा समृद्धिको अबको अभियानको नेतृत्व गर्न सक्दैन । उसले भजाउने इतिहास केन्द्रित राजनीतिलाई पनि त्यही बमोजिम इतिहासकै पानामा सीमित गरी वामपन्थी शक्तिहरुको एकता र बलको जगमा मात्र अबको हाम्रो अभियानलाई सार्थक बनाउन सकिन्छ भन्ने हाम्रो बुझाई हो ।

मुलुकले भोग्नु परेको यो दुरावस्थाका मूल जड र कारक तत्वहरुलाई हामीले यसरी चित्रण गर्न सक्छौं तर यस अलावा नेपालका वामपन्थी दलहरुकै विशेष अगुवाईमा हामीले गणतन्त्र स्थापना गर्न सफल भएका छौं । बहुप्रतिक्षित संविधान घोषणा गरिसकेका छौं । स्थानीय, प्रदेश र प्रतिनिधिसभा÷राष्ट्रियसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । अब मुलुक संघीय ढाँचामामा प्रवेश गरिसकेको छ र संविधानसभाद्वारा जारी संविधान पूर्णतः कार्यान्वयनमा आइसकेको छ । हामीले राजनीतिक क्रान्तिको एक मूल अध्याय सम्पन्न गरेका छौं । यी उपलव्धिहरुको रक्षा र प्रभावकारी कार्यान्वयनका माध्यमबाट मुलुकलाई दिगो विकासको बाटोमा अघि बढाउनु अबको मुख्य कार्यभार रहेको छ । राजनीतिक स्थिरता नै यो यात्राको मुख्य आधार हो । तर मुलुकको अहिलेको राजनीतिक शक्ति सन्तुलनकै आधारमा स्थिरताको कल्पना गर्न सकिदैन । प्रत्यक्ष र एकल संघर्षका बलमा साम्राज्यवादविरुद्धको हाम्रो लडाइँलाई तत्काल परिणाममुखी बनाउने हाम्रो सामथ्र्यलाई पनि हामीले दृष्टिगत गर्नु जरुरी छ र मुलुकको अहिलेको राजनीतिक सन्तुलनकै भरमा यो संघर्ष अझै लम्बिन पनि सक्छ । यसर्थ यी तमाम परिस्थिति र युगीन आवश्यकतालाई ध्यान दिँदै दूरदर्शी सोचका साथ अध्यक्ष क. केपी शर्मा ओलीको अगुवाईमा अर्को दोस्रो ठूलो कम्युनिस्ट पार्टीसहित अन्य ससाना पार्टीहरुबीच एकता र सहकार्यको प्रक्रिया थालनी भएको छ । यसले नै मुलुकका तमाम समस्याहरुको समाधानसहित हाम्रो मूल लक्ष्य प्राप्तिलाई परिणाममुखी बनाउने छ भन्ने हाम्रो ठम्याइ हो ।

सम्भवतः विश्व कम्युनिस्ट आन्दोलनमै अहिले अत्यन्त सुखद र उत्साहप्रद सन्देश दिने ढंगबाट नेपालमा समाजवादी झण्डाहरु फहराइरहेका छन् । चौतर्फी हमला र अवरोधका बावजुद अध्यक्ष क. केपी शर्मा ओलीको नेतृत्वमा लामो समयपछि कम्युनिस्ट पार्टी पहिलो शक्तिको रुपमा स्थापित भएको छ । कुनै एक कम्युनिस्ट पार्टीले समाजवादको झण्डा छोड्यो भने पनि अर्कोले जोगाई राख्ने छ भन्ने अर्थमा एउटै मुलुकमा एकभन्दा बढी कम्युनिस्ट पार्टी रहनु गलत हुँदैन भन्ने हाम्रो बुझाई रहेको थियो तर एकलाई प्रयोग गर्दै अर्कोलाई प्रहार गर्ने अभ्यास जब सुरु भयो यसले पनि एकता र सहकार्यको औचित्यतालाई थप बल प्रदान गरेको हो । यसर्थ नेकपा एमालेको अगुवाईमा प्रारम्भ भएको यो ऐतिहासिक महाअभियानले उघारेका सम्भावनाका ढोकाहरुको बारेमा आम युवाहरुलाई सचेत बनाउनु अहिले हाम्रो काँधमा आएको एक महत्वपूर्ण जिम्मेवारी हो । मूलतः निम्नलिखित उद्देश्यहरु पूरा गर्नका लागि यो अभियान सफल रहनेछ भन्ने हाम्रो विश्वास रहेको छ ।

– राष्ट्रिय एकता र स्वाभिमानलाई मजबुत बनाउँदै राष्ट्रिय हितमा आधारित वैदेशिक सम्बन्ध र नीतिहरु स्थापित गर्न ।
– मुलुकको प्रगति र उन्नतिको मूल बाधक तत्वहरुसँगको प्रतिरोधी हैसियत बृद्धि गरी उनीहरुलाई परास्त गर्न ।
– नेपाली समाज र माटोले खोजेको समाजवादको दिशातर्फ देशलाई अघि बढाउन ।
– मुलुकको राजनीतिलाई स्थिरताको बाटोतर्फ अघि बढाउन ।
– प्रगतिशील वामपन्थीहरुको नेतृत्वको पूर्णकालीन स्थिर सरकार निर्माण गर्न ।
– राष्ट्रनिर्माणसँग सम्बन्धित युवाहरुको सोच र भिजनलाई राज्य तहसम्म पुराउँदै प्रभावकारी कार्यान्वयन गराउन प्रगतिशील, देशभक्त युवाहरु प्रतिपक्षी मानसिकतामा बसिरहनु पर्ने दिनको अन्त्य गर्न ।
– युवाहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार र सीपको ग्यारेण्टी गर्दै नेपाली युवाहरुलाई अन्तर्रास्ट्रियस्तरमा समेत प्रतिष्पर्धायोग्य बनाउन ठोस कार्यक्रमहरु अघि बढाउन ।

यी लगायतका तमाम बृहत्तर उद्देश्यहरु हासिल गर्नका लागि यो वाम गठबन्धन र एकता प्रक्रियालाई अत्यन्त महत्वपूर्ण प्रस्थान बिन्दुका रुपमा उत्साहका साथ स्वागत गर्दै यसको दिगो र प्रभावकारी कार्यन्वयनका लागि आ–आफ्नो स्थानबाट हामी सबैले भूमिका निभाउनु जरुरी छ । अभियानको थालनीसँगै यसका विरुद्ध त्यही ढंगका षडयन्त्र र प्रहारहरुको सम्भावनाप्रति सजग हुँदै खबरदारी र प्रतिवादका निम्ति समेत युवापंक्ति तैयार हुनु पर्नेछ । एकताका नाममा नेपाली क्रान्तिको मूल र सफल सिद्ध मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादमा विषाक्त र हानिकारक विचारहरुको घुसपैठ नहोऊन्, अवसरहरुको स्वाभाविक र हैसियत अनुरुपको वितरण होस्, विगतका शैली “स्वभाव” दोहोरिँदै घात र प्रतिघातको अर्को चक्रब्युह सिर्जना नहोस् भन्ने लगायतका आशंका र चिन्ताको बिषयलाई समेत सबै पक्षले सकारात्मक रुपमा लिँदै मनन गरुन् भन्ने युवा अपेक्षा रहेको छ । यति हुँदाहुँदै फेरि कहीँकतैबाट त्यस्तो भइहालेछ भने पनि धुलो टक्टकाउँदै उठेर पुनः आफ्नो यात्रामा अघि बढ्ने स्टामिना समेत सञ्चित गर्नु जरुरी छ किनकि यो यात्रा एक सय मिटरको दौड हैन लङ रेन्ज म्याराथुन हो ।

(लेखक युवा संघ नेपालका महासचिव हुन्)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?